Comments Add Comment

मेलम्ची नगरपालिकामा शुरु भयो फ्री वाइफाइ र नगर बस सेवा

मेयरको घोषणापत्र कार्यान्वयन गर्न सांसदको साथ

८ असार, सिन्धुपाल्चोक । स्थानीय तहको चुनावी घोषणापत्रमा प्रायः उम्मेदवारको साझा एजेण्डा बनेको फ्री वाइफाइ सेवाको पहिलो शुरुवात मेलम्ची नगरपालिकाले गरेको छ । चुनावको बेला एमालेका मेयर उम्मेदवार डम्बर अर्याल र उपमेयर भगवती नेपालले फ्री वाइफाइको आश्वासन दिएका थिए ।

निर्वाचित भए लगत्तै नगरपालिकाले नगर बस र फ्री वाइफाइको एजेण्डा कार्यान्वयन गरेको हो । मेलम्ची नगरपालिकाभित्र निर्वाचन क्षेत्र विशेष पूर्वाधार कार्यक्रमअन्तर्गत ६ स्थानमा फ्री वाइफाई जडान गरिएको छ ।

कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान)सँगको समन्वयमा वाइफाई जडान गरिएको हो । सो क्षेत्रको सांसद नेकपा एमालेका केन्द्रीय सदस्य शेरबहादुर तामाङ छन् । एमालेको घोषणापत्र अनुसार काम शुरु गरिएको सांसद तामाङले बताए ।

मानिसको भीडभाड हुने चोक, अस्पताल, बैंक, सरकारी तथा गैरसरकारी संस्था लगायतका स्थानमा वाइफाई जडान गरिएको छ । निःशुल्क वाइफाई सेवाका लागि नगरमा एक एमबीका ३० वटा राउटर र आवश्यक डिभाइस जडान गरिएको क्यानले जनाएको छ ।

बुधवार एक कार्यक्रमबीच सांसद तामाङ र मेलम्चीका मेयर डम्बर अर्यालले नगर बस र फ्री वाइफाइ सेवाको उदघाटन गरेका हुन् । स्थानीय तहको निर्वाचन अघिकोे मुख्य नारा रहेको ‘फ्री वाइफाई’लाई अहिले नवनिर्वाचित जनप्रतिनिधिले पूरा गरेको भन्दै स्थानीयले खुसी व्यक्त गरेका छन् ।

नगरपालिकाको आफ्नै नगर बस

यसैबीच मेलम्ची नगरपालिकाभित्रका बासिन्दालाई आवत जावत गर्न सजिलोका लागि नगरपालिकाले नगर बस सन्चालन गरेको छ । मेलम्ची क्षेत्रमा सञ्चालन हुने मुख्य दुईवटा यातायात समिति-आमा हृयाल्मो र हेलम्बु यातायात समितिसँग समन्वय गरेर बुधवारदेखि चारवटा बस सञ्चालन गरिएको हो ।

नगरपालिकाको शिखरपुर, तिपेनी, भोटेचौर र तालामाराङसम्म नगरबस सन्चालन हुने मेयर अर्यालले बताए । तत्कालका लागि यातायात समितिले नै चलेको भाडादर कायम गर्ने तथा एक हप्तापछि नगरपालिका र यातायात समितिको निर्णयमा नयाँ भाडादर कायम हुने नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment