Comments Add Comment

उम्मेदवारको इटहरी-सपनाः पूर्वकी रानी, प्रदेश नं १ को राजधानी

उपमहानगरपालिका बन्नु अगाडिसम्म इटहरीले पूर्व-पश्चिम र उत्तर-दक्षिणको सडक जोड्ने ट्रान्जिट शहरको परिचय बनाएको थियो । उपमहानगर बनेपछि यसको भौगोलिक सिमाना फैलिएसँगै स्थानीय क्षेत्रको आवश्यक्ता र नगरवासीको आकांक्षा पनि बढेको छ ।

पूर्वको मुटु मानिने इटहरीको सिर्जनशील अपरेशन गर्न स्थानीय तहको चुनाव अवसर बनेर आएको छ । चुनावी मैदानमा उत्रेका दलका मेयर उम्मेदवारहरुले इटहरीलाई नमूना शहर बनाउने उपमहानगरलाई विकासले सुसज्जित पार्ने खाका अघि सारेका छन् । प्रतिस्पर्धामा रहेका मेयरका उम्मेदवारहरुका खास एजेण्डा के-कस्ता छन् त ? बुझौंः

विकास र सभ्यताको परिचायक नमूना शहर बनाउने
द्वारिकालाल चौधरी, नेकपा एमाले

इटहरी उपमहानगरमा एमालेको संगठन धेरै बलियो छ । म यहीँ जन्मे-हुर्केको हुँ । मेरो राजनीतिक कर्मथलो र समाजसेवाको क्षेत्र यही हो । यहाँको वन-बुट्यान, भूगोल र आम मतदातासँग म परिचित छु । यहाँको माटोमा मेरो पसिनाको बास आउँछ, मेरो त्यति परिश्रम र योगदान छ ।

पहिलो र दोस्रो संविधानसभा चुनावमा एमालेले क्षेत्र नम्बर २ बाट भारी मतको अन्तरबाट जितेको थियो । त्यही क्षेत्रअन्तर्गत अहिले इटहरी उपमहानगर पर्छ । २ नम्बरको करिब ९० प्रतिशत मतदाता यो उपमहानगरले समेट्ने भएकाले मेरो जित्ने सम्भावना प्रबल छ ।

अर्को कुरा, म यहाँको संगठक पनि हो । म एमालेको गाउँ कमिटिको सदस्य, इलाकाको उपसचिव, सचिव हुँदै ३० वर्षदेखि जिल्ला कमिटिमा छु । हाँसखोसामा १० वर्ष गाविस अध्यक्ष भएर पनि स्थानीय स्तरमा विकासका काम गरेकोले जनविश्वास कमाएको छु ।

यो चुनावमा मेयरमा मेरो प्रतिस्पर्धी नै छैनन् भन्दा पनि हुन्छ । तर, अन्य राजनीतिक दलहरुले उम्मेदवारी दिएका छन् । पहिले पनि कांग्रेससँग प्रतिस्पर्धा हुने गरेकाले यसपाली पनि उसैसँग प्रतिस्पर्धा हुन्छ ।

इटहरीको चोकबाट पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म र उत्तरदेखि दक्षिणसम्म धरान-विराटनगर-जोगबनी जोड्ने सडक छ । शहरमा गगनचुम्बी भवनहरु छन् । तर, यसले मात्र सन्तोष गर्न सकिँदैन ।

उपमहानगर बनाउने क्रममा पछि गाभिएका ग्रामीण भेगहरुमा अझै पनि हिलाम्मे र धुलाम्मे बाटाहरु छन् । पुल-पुलेसा छैनन् । विद्यालयमा भवन, फर्निचर, शिक्षक अभाव, स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी र औषधिको अभाव जस्ता समस्या छन् । यी सारा चिज व्यवस्थापन गर्नु छ ।

यहाँ सुविधासम्पन्न अस्पताल छैन । इञ्जिनियरिङ र मेडिकल कलेजको पढाइ पनि सुरु हुन सकेको छैन । शहरको अर्को ठूलो समस्या ढल निकासको हो । गाउँतिर कुलो, पैनी मासिएका छन् ।

यस्तै, औद्योगिक तथा व्यावसायिक क्षेत्रमा शान्ति-सुरक्षाको अभाव छ । त्यस कारण उद्यमी-व्यवसायीहरुले ढुक्क भएर लगानी गर्न सक्ने उद्योगमैत्री वातावरण हामीले बनाउनु छ ।

संसारमा रोम, भियना, वासिंटन डिसी जस्ता धेरै शहर विकास र सभ्यताको परिचायक बनेका छन् । अब पाँच वर्षपछि इटहरीवासीले कहीँ देश-विदेश जाँदा गर्वसाथ आफ्नो शहरबारे बताउन सक्ने अवस्था बनाउनेछौं । त्यस्तो सुन्दर शहर बनाउने परिकल्पना हामीले गरेका छौं ।

इटहरीको मूल चोक, तरहरा, खनार र पकलीको मूल चौकलाई व्यापारिक केन्द्रको रुपमा अझ विकसित र व्यवस्थित गर्ने योजना छ । बाँकी भागमा कृषि उत्पादन बढाएर समृद्धि हासिल गर्ने उपाय खोजिनेछ । यहाँ विभिन्न जातजाति र भाषा संस्कृतिका मानिस बसोबास गर्छन् । ती भाषाभाषीका बालबालिकालाई पाठ्यक्रमकै व्यवस्था गरी प्राथमिक तहमा आफ्नै भाषामा पढ्न पाउने व्यवस्था गरिनेछ । थारु, राई-किराँत, तामाङको संग्रहालय बनाइनेछ ।

यस्तै, यहाँ एउटा रंगशाला भए पनि जीर्ण अवस्थामा छ । त्यसलाई अन्तर्राष्ट्रिय स्तरको सुविधासम्पन्न रंगशाला बनाउने काम थालिनेछ । यसका साथै युवा साथीहरुको लागि क्रिकेट मैदान निर्माण गरिनेछ ।

अरुले नारामा भनिरहेको स्मार्ट सिटी हामी बनाउँछौं
तारा काफ्ले, मेयरकी उम्मेदवार, साझा पार्टी

म खासमा राजनीति गर्ने उद्देश्य बोकेको मान्छे होइन । शैक्षिक क्षेत्रमा क्रियाशील रहँदै आएकी छु । तर, देशको राजनीति एकदम विकृत भयो, हामीलाई यसको दुःख लागिरहेको थियो । पार्टीले टिकट दिँदा नै उत्कृष्ट उम्मेदवार छान्नेभन्दा पैसा बढी खर्च गर्नेलाई लिने अवस्था रह्यो । यी कुराले गर्दा इमान्दार र सुसंस्कृत राजनीतिको जग बसाउन जरुरी थियो । यसको मर्मलाई साझा पार्टीले सम्बोधन गरेकोले मैले यो दलबाट उम्मेदवारी दिएको हुँ । उहाँहरुले राजनीतिलाई सुसंस्कृत र इमान्दार नेतृत्वको बनाउँछौं भनेकाले म राजनीतिमा आएँ ।

इटहरी क्षेत्रमा खासगरी एमाले र कांग्रेसले पकड मानिने भएकाले हामीलाई गाह्रो त गाह्रो छ । यद्यपि हामीलाई बौद्धिक वर्ग र राम्रो सुझबुझ भएकाहरुले धेरै सपोर्ट गर्नुभएको छ । त्यो पक्ष उत्साहजनक छ । पुराना दलको कार्यशैलीबाट दिक्किएर विकल्पको खोजी गर्नेहरु पनि निकै भेटिएका छन् ।

उपमहानगरमा मेरो मुख्य प्रतिस्पर्धा एमाले र कांग्रेसका उम्मेदवारसँग हुने देखेको छु । हामी तीन वटा दलबीच नै प्रतिस्पर्धा हुनेछ ।

हाम्रो प्रमुख एजेण्डा हो, हामी इमान्दार र सुसंस्कृत राजनीतिको जग बसाल्छौं । दोस्रो, हामीले उपमहानगरको नेतृत्व लियौं भने हामी भ्रष्टाचार जरैदेखि उखेल्छौं । तेस्रो, हामीसँग विज्ञहरुको ठूलो टिम छ, त्यो टिमले ६ महिना अध्ययन गरेर इटहरीको विकासको खाका कोरिसकेको छ । इटहरीलाई सुविधासम्पन्न आधुनिक शहर कसरी बनाउने भन्ने कुरा छ । सुविधासम्पन्न भन्नाले यहाँ पार्क हुन्छ, स्विमिङ पुल पनि हुन्छ, एकातिर अफिसियल एरिया हुन्छ, अस्तव्यस्त बस्ती व्यवस्थित गरिनेछ, ढल व्यवस्थापन वैज्ञानिक तरिकाले हुन्छ ।

अहिले स्मार्ट सिटी भनेर सबैजसो दलले नाम लिने गरेका छन् । अरुले नारा मात्र लगाएको जस्तो लाग्छ । त्यो स्मार्ट चाहिँ हामी बनाउँछौं । किनकि त्यसका लागि हामीसँग इञ्जिनियरिङ संरचना नै तयार भइसकेको छ । समग्रमा इटहरीलाई पूर्वकी रानी, प्रदेश नम्बर १ को राजधानी भनेर हाम्रो मुख्य एजेण्डा नै हो । नेपालभरि मात्रै हैन, विदेशबाट समेत इटहरी शहर हेर्न आउनेछन् ।

हाम्रो योजनाको कुरा गर्दा अहिले इटहरी चौक हाइवेको बीचमा छ । हामी पूर्व-पश्चिम र उत्तर-दक्षिण चारैतिरबाट बाइपाससहितको रिङरोड बनाउँछौं । ठूला ट्रक र गाडीहरु शहर बाहिरबाट गुड्ने व्यवस्था मिलाइनेछ । दोस्रो, हामीले वैज्ञानिक तवरले ढल व्यवस्थापन गर्ने सोचेका छौं । तेस्रो, हरेक वर्षामा इटहरी क्षेत्र डुबानमा पर्ने भएकाले हामीले उच्च स्तरको बाँध बाँधेर बाढी तथा नदी नियन्त्रण गर्ने एजेण्डा राखेका छौं ।

चौथो, इटहरीमा एउटा ट्रमा सेन्टर तुरुन्तै जरुरी देखिएकाले त्यसको निर्माण गर्नेछौं । पाँचौं, अव्यवस्थित प्लटिङलाई व्यवस्थित गर्न नगरपालिकाकै अगुवाईमा ‘ल्यान्ड पुलिङ प्रोजेक्ट’ गरेर घर र कृषियोग्य जग्गा छुट्याउनेछौं । यी योजनासँगै युवा स्वरोजगार कार्यक्रम चलाएर बेरोजगारी समस्या हटाउँछौं भने विद्यालयमा अंग्रेजी माध्यम पठनपाठनको अनिवार्य व्यवस्था गरेर विद्यालयको गुणस्तरमा आमूल परिवर्तन गर्नेछौं ।

व्यक्तिगत रुपले म हिजोसम्म सुखमा थिएँ भने अब म दुःखको ठाउँमा आएको छु । सामान्यतया नेपालको परिवेशमा जनताले दुःख गर्ने र नेताले सुख भोग्ने अवस्था रहिरहेको थियो । तर, साझा पार्टीको एजेण्डा छ, नेताले दुःख गर्ने र जनतालाई सुख दिने । जनताको घरदैलोमा दुःख हेर्दै उनीहरुको दुःखमा साथ दिन हिँडेका छौं ।

हामीलाई धेरैले सकारात्मक रुपमा लिएकाले जित्ने सम्भावना बलियो छ । तर, हामीले ढिलो गरी चुनाव चिह्न पायौं । चुनाव चिह्न पाएपछिको चार-पाँच दिनमा सबै २० वटै वडाको हरेक घरमा पुग्न गाह्रो भएकाले सीमित समयका कारण चुनौती छ । चुनाव चिह्न हरेक घरमा पुर्‍याउन र बुझाउन सक्यौं भने हामी जित्छौं ।

भ्रष्टाचार र कमिसनतन्त्र तोडेर विकासमा छलाङ मार्ने
हरिमाया जिमी, मेयरकी उम्मेदवार, माओवादी केन्द्र

माओवादी पार्टीबाट अहिले जनताका लागि उपलब्धिमूलक एजेण्डाहरु अघि सारिएका छन् । मेरो जित्ने आधार त्यही हो । जनताको मौलिक हकको सुरक्षा, लोडसेडिङमुक्त उज्यालो नेपाल अभियान लगायतबाट जनता प्रभावित छन् । देशमा माओवादीले नै केही गर्छ कि क्या हो भन्ने माहौल बनेको छ । जनताले हाम्रो एजेण्डा बुझे भने मेरो जित सुनिश्चित नै छ ।

व्यक्तिगत रुपमा पनि आफू जनताको लागि कति खटिएको छ भन्ने कुराले अर्थ पक्कै राख्छ । मलाई विगतमा पार्टीले महिलाले सक्दैनन् भनेर अवसर नदिएको भन्ने अनुभूति थियो । त्यसले राजनीतिक क्षेत्रमा वञ्चित भए जस्तो महसुस भएको थियो । तर, स्थानीय तहको चुनावमा टिकट पाएर जनतासम्म जान पाउँदा म अत्यन्तै खुसी छु । म शहीद परिवार पनि हो । संखुवासभामा ०५८ साल चैतमा मेरो दाइको निर्मम हत्या भएको थियो ।

यिनै एजेण्डाहरु लिएर म जसरी भए पनि जनताको लागि खट्छु भनेर घरदैलोमा २० वटै वडामा पुगेको छु । यस क्रममा जनतालाई मैले चिन्ने अवसर पाएँ, जनताले पनि मेरो इतिहासदेखिको कुरा बुझे । यस कारण म जित्छु भनेर अगाडि बढेको छु । किनभने राम्रो एजेण्डा र भोलिको प्रतिबद्धता लिएर गइसकेपछि त जनतामा विश्वास नजाग्ने कुरै छैन ।

इटहरी उपमहानगरमा मेरो मुख्य प्रतिस्पर्धा एमालेसँग नै हुन्छ जस्तो लाग्छ । नगरको हकमा एमालेसँग भए पनि वडाहरुमा जाँदा कुनैमा कांग्रेस र कुनैमा एमाले प्रतिस्पर्धी हुनेछ ।

हामी हिजो सुकुम्बासी, दलित, महिला, जनजाति, पिछडा वर्गको लागि लडेका मान्छे हौं । उनीहरुको हकबारे संविधानमा बुँदागत रुपमा उल्लेख भएको छ । सिंहदरबारको गाउँ-नगरमा भन्ने नारा पनि छ । यही हामीले बुझाउनुपर्छ र बुझाउँदै पनि छौं ।

इटहरीलाई धेरै राम्रो नगर बनाउने हो । हुन त कागजी रुपमा त सबै पार्टीको धेरै राम्रा योजना छन् । जनतलाई कागजी योजना र कोरा भाषणभन्दा पनि काम चाहिएको छ । हामीले गर्ने काम एजेण्डामा उल्लेख गरेर वैज्ञानिक ढंगले प्रतिबद्धतापत्र बनाएरै जनताको घरघर पुगेर हातहातमा दिएका छौं । म निर्वाचित भएमा त्यही प्रतिबद्धता पूरा गर्न खटिनेछु ।

इटहरी उपमहानगरका वडा र टोलटोलमा अहिले विकास-निर्माणको गति एकदमै मन्द छ । आएको बजेटको २५ प्रतिशत हिस्सा मात्र विकास-निर्माणमा सदुपयोग हुने गरेको यहाँका जनताले महसुस गरेका छन् । त्यस कारण मुख्यतः भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने देखेको छु । भ्रष्टाचार र कमिसनतन्त्रकै कारण विकास नभएको हो भन्ने मलाई लागेको छ ।

सही तरिकाको योजना र बौद्धिक क्षेत्रका व्यक्तिहरुको सल्लाह लिएर अगाडि बढियो भने विकास-निर्माणको काममा सफल भइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment