Comments Add Comment

चुक्ता पूँजी वृद्धिको असरः सेयर बजारमा आपुर्ति चाप पाँच वर्षयताकै उच्च


८ असार, काठमाडौं । चालु आर्थिक वर्षमा सेयर बजारमा २६ प्रतिशतभन्दा बढि आपूर्तिको चाप परेको छ । यो पाँच वर्षयताकै उच्च दर हो ।
बोनस, हकप्रद, नयाँ सेयर तथा थप निष्कासन (एफपीओ) ले बजारमा आपूर्ति चाप बढ्ने गर्छ । हरेक वर्ष बजार घट्दा आपुर्ती चापलाई औंल्याउने गरिन्छ ।

विगत पाँच बर्षको तथ्यांकलाई हेर्दा सेयर बजारमा बार्षिक औसत १८ प्रतिशतको आपूर्ति चाप पर्दै आएको छ । बैंक तथा वित्तीय संस्थाहरुको चुक्ता पुँजी वृद्धिको कारण यस आर्थिक वर्षमा औसतभन्दा निकै बढि चाप परेको हो ।

आव २०७३/७४ को जेठसम्ममा मात्रै बजारमा २६.३५ प्रतिशतले आपुर्ति चाप बढेको देखिन्छ । यो ११ महिनाको अवधिमा सेयर बजारमा १ अर्ब २४ करोड कित्ता सूचीकरण भयो । यससँगै कुल सुचीकरण ४ अर्ब ७० करोड कित्ता पुगेको छ ।

पाँच वर्षमा नयाँ कम्पनीको सेयर, बोनस, हकप्रद, ऋणपत्र, सामूहिक लगानी कोषका इकाइ गरेर बजारमा कुल २ अर्ब ४९ करोड कित्ता तथा इकाइ नयाँ सेयरहरु थपिएका छन् । कारोबारमा नआउने ऋणपत्रको संख्या उल्लेख्य नरहेकोले सबै खाले बार्षिक सूचीकरणको आधारमा बजारमा पर्ने आपुर्तिको चाप हेरिएको हो ।

हुनत नयाँ सूचीकरण हुने वित्तिकै सेयर बजारमा आपुर्ति चाप पर्छ भन्ने होइन । बजारमा कति दरका सेयर बिक्रीको लागि आउँछ भन्ने विषय प्रमुख हुन्छ । तर, सेयर तथा इकाइहरुको संख्या बढ्दा बजार घटेको समय वा ‘प्यानिक’ भएको अवस्थामा बढिभन्दा बढि सेयर बिक्रीको लागि आउँछन् । अर्कोतर्फ सेयर संख्या बढ्दै जाने तर लगानीकर्ताको संख्या बढ्न सकेन भने पनि यस्तो चाप देखिन्छ ।

नेपालकै सन्दर्भमा पनि यसअघि आधिकारीक तथ्यांक नहुँदा बजारमा १५/२० लाख लगानीकर्ता रहेका छन् भन्ने अनुमान गरिएको थियो । तर, सेयर डिम्याट (विद्युतीय अभिलेख वा अभौतिकिकरण) सुरु भएपछि बजारमा जारी कुल ९० प्रतिशतभन्दा बढि सेयर डिम्याट भइसकेका छन् ।

यसबाट लगानीकर्ताको संख्या ८ लाख ५२ हजारको हाराहारीमा देखिएको छ । यसमा पनि कतिपयको दोहोरो डिम्याट खाता हुने भएकोले अझै वास्तविक लगानीकर्ताको संख्या यकिन हुन बाँकी छ । लगानीकर्ताको संख्या बढ्न नसेकेको बजारमा यस कारण पनि सेयरको आपुर्तीको अवस्थाले बढि महत्व राख्छ ।

कुन वर्ष कति चाप ?

आव २०६९/७० मा बजारमा २४ करोड ७० लाख कित्ता नयाँ सूचीकरण भए । योसँगै त्यस समय सेयर, बोनस, हकप्रद, ऋणपत्र, सामूहिक लगानी कोषका इकाइ गरेर बजारमा कुल १ अर्ब २९ करोड कित्ता सूचीकृत थियो । यस आधारमा हेर्दा त्यो वर्ष नयाँ सूचीकरणको चाप बजारमा १९ प्रतिशत बराबर परेको छ ।

आव २०७०/७१ मा बजारमा २० करोड ७८ लाख कित्ता नयाँ सूचीकरण भए । कुल १ अर्ब ४९ करोड कित्ता सूचीकरण रहेको सो वर्ष बजारमा करिब १४ प्रतिशत आपुर्ति चाप बढेको छ ।

आव २०७१/७२ मा बजारमा ५१ करोड ६२ लाख कित्ता नयाँ सूचीकरण भए । कुल २ अर्ब ५५ करोड कित्ता सूचीकरण रहेको सो वर्ष बजारमा २० प्रतिशत बढिले आपुर्ति चाप वृद्धि भएको थियो ।

आव २०७२/७३ मा बजारमा २७ करोड ८९ लाख कित्ता नयाँ सूचीकरण भयो । कुल २ अर्ब ६८ करोड कित्ता सूचीकरण रहेको सो वर्ष बजारमा १०.३८ प्रतिशतले मात्र चाप वृद्धि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment