युटुबमा एउटा गीत अहिले हिट छ । गीतको बोल छ, ‘अनी किन ल्याङ ल्याङ गर्दैछौ मैयाँ’ । यो गीतको कभर भिडियोहरु पनि बनिसकेका छन् । तर, यसको ओर्जिनल भिडियो पनि सार्वजनिक भएको छैन ।
अब, भने केही समयमै दर्शकले यो गीतको भिडियो हेर्न पाउने भएका छन् । चलचित्र ‘रोमियो’मा समावेश यो गीतको भिडियोको छायांकन बिहिबार गरिएको छ ।
काठमाण्डौको ठमेलमा रहेको एक डान्स क्लबमा यो गीतको भिडियो छायांकन गरिएको हो । ८० जना भन्दा बढी कोरसका साथमा चलचित्रका मुख्य नायक हसनराजा खान र नव-नायिका ओसिमा बनुले गीतमा नृत्य गरे । साथमा, नायिका अशिष्मा नकर्मी र नायक संजोग कोइराला पनि गीतको भिडियोमा देखिनेछन् ।
यो गीतमा सहिमा श्रेष्ठ र सुनिल पाण्डेको स्वर, सुनिल पाण्डेकै संगीत छ । चलचित्रलाई शंकर कार्कीले निर्देशन गरेका हुन् । रामेश्वर कार्कीको छायांकन रहेको चलचित्रको यो गीतलाई गम्भिर बिष्टले कोरियोग्राफी गरेका हुन् ।
अशिष्मा र संजोग यही गीतको भिडियोमा मात्र देखिनेछन् । चलचित्रमा भने हसन शिर्ष भूमिकामा देखिनेछन् । नीशा अधिकारी, मेलिना मानन्धर र ओसिमा बनुलाई दर्शकले मुख्य भूमिकामा देख्नेछन् ।
कात्तिक १७ गतेबाट यो चलचित्र देशभरका हलमा रिलिज हुनेछ । निर्माता तथा नायक हसनले भने-‘अडियो हिट भैसकेकाले हामीलाई भिडियो पनि उत्कृष्ट बनाउनुपर्ने चुनौती छ । यसैले, सोही अनुसार मिहिनेत गरेर भिडियो तयार भएको छ ।’
तस्बिरः श्रीधर पौडेल