Comments Add Comment

रामचन्द्र पौडेलले भने-एमाले नौटंकी राष्ट्रवादको ठेकेदार

चुनावी तालमेलले एमालेलाई १८० डिग्रीको ज्वरोः खांण

८ असार, बुटवल । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमालेप्रति कडा टिप्पणी गरेका छन् । मिलेर बसेका पार्टी र जनता-जनताबीच भाँडभैलो निम्त्याएर लडाउने खेलमा एमाले लागेको उनको आरोप छ ।

तिलोत्तमाको मणिग्राममा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले जिम्मेबार दलका नेताहरु नै जथाभाबी बोल्दै हिड्नु ठीक नहुने बताए ।

मुलुकको हरेक परिवर्तनमा कांग्रेसले नेतृत्व गरेको भन्दै उनले एमाले नौटंकी राष्ट्रवादको ठेकेदार बनेको आरोप लगाएका छन् । एमालेप्रति प्रश्न गर्दै भने, ‘मुलुकमा यति धेरै परिवर्तन भए, कुन परिवर्तनमा एमालेले नेतृत्व गरेको छ ?’

कांग्रेसकै नेतृत्वमा मुलुकमा संविधान जारी भएको र संविधान कार्यान्वयनको जिम्मेवारी पनि कांग्रेसको कांधमा आएको उनले बताए । ‘पार्टीको मेलमिलापको नीति अनुसार आसन्न स्थानीय तहको निर्वाचनमा बिभिन्न स्थानमा बिभिन्न पार्टीसंग चुनावी एकता गरिएको हो’ उनले भने ।

‘गौतम बुद्ध जन्मस्थल लुम्बिनीको यथोचित विकास गर्न सके रुपन्देही जिल्ला विश्वको पर्यटनको केन्द्र बन्न सक्छ, त्यस्तै रुपन्देही कृषि तथा औद्योगिक बिकासको उच्च सम्भावना बोकेको जिल्ला पनि हो’ पौडेलले भने, ‘त्यसका लागि नेपाली काग्रेससँग भिजन छ, यो सपना नेपाली कँग्रेसले पुरा गर्न सक्छ ।’

एमालेलाई १८० डिग्रीको ज्वरो आयो

कार्यक्रममा कांग्रेस नेता बालकृष्ण खांणले तिलोत्तमामा कांग्रेस र जनमुक्ति पार्टीबच भएको चुनावी तालमेलले एमालेले १८० डिग्रीको ज्वरो आएको बताए ।

गठबन्धको जित देखेर अनावश्यक प्रोपोगाण्डामा उत्रिएको उनको आरोप छ । यो एकताले चुनावको जित सुनिश्चित भएको र तिलोत्तमा नगरपालिकामा समृद्धि र बिकासको यात्रा सुरु भएको खाँडले बताए ।

कार्यक्रममा जनमुक्ति पार्टीका महासचिव केशव सुर्यबंशीले जनताको मतादेशलाई सदुपयोग गर्नुपर्ने बताए । उनले दुई पार्टीबीचको तालमेल अनुसार ईमान्दारिताका साथ रुख चिन्हमा मतदान गर्न आग्रह गरे ।

जनमुक्ति पार्टीका रुपन्देही अध्यक्ष झमबहादुर गुरुङले कांग्रेस र जनमुक्ति पार्टीको चुनावी एकता र त्यसमा पनि चुनाव चिन्ह एउटै रुख लिएपछि एमालेमा ठूलो भूकम्प गएको टिप्पणी गरे । हार सुनिश्चित भएपछि एमालले अनेक प्रोपोगाण्डा गर्दै आफ्ना कार्यकर्तालाई भड्काउने काम गरेको भन्दै उनले स्वच्छ प्रतिस्पर्धा चुनौती दिए ।

कार्यक्रमाम तिलोत्तमा नगरपालिकाका मेयर पदका उम्मेदवार रामकृष्ण खाँणले नगरपालिकालाई ५ वर्षभित्र स्मार्ट सिटीका रुपमा बिकास गर्ने प्रतिवद्धता जनाए । नगरपालिकामा अस्पताल, सिटी बस टर्मिनल, खेलकुद मैदान, बालउद्यान, जेष्ठ नागरिक पार्क आवश्यक रहेको भन्दै उनले सबै कुराहरु पुरा गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उपमेयरकी उम्मेदवार गीता सारुले महिलालाई आत्मनिर्भर बनाउने कार्यक्रम ल्याइने, प्रत्येक वडामा एम्बुलेन्स सेवा सञ्चालन गरिने बताउँदै भ्रष्टाचार रहित नगरपालिका बनाउने प्रतिवद्धता व्यक्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment