Comments Add Comment

चुनावी महाभारतः मैदानमा उत्रिए देउवा, ओली र प्रचण्ड

बाबुराम, कमल थापा र उपेन्द्र यादव पनि मैदानमै

८ असार, काठमाडौं । जब युद्धमा कमाण्डरहरु आफैं रथबाट झरेर मैदानमा आउँछन्, त्यसपछि बुझ्नुपर्छ कि लडाइँ निर्णायक विन्दुमा पुग्न लागेको छ । दोस्रो चरणको निर्वाचनको तिथि नजिकिँदै गर्दा कांग्रेस, एमाले र माओवादीका शीर्ष कमाण्डरहरु आफैं मैदानमा ओर्लिएर भोट माग्न कस्सिएका छन् ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा चुनाव सकेरमात्रै काठमाडौं र्फकने गरी कैलाली लगायतका जिल्लामा भोट माग्न हिँडेका छन् ।

त्यसैगरी पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्ड पनि बाँके जिल्लाका स्थानीय तहमा भोटमाग्दै हिँडेका छन् ।

पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली दमकका वडा वडामा भोट माग्न पुगेका छन् । उनी जिल्लाका प्रायः सबै स्थानीय तहमा सामान्य कार्यकर्ताले जसरी नै अहोरात्र खटिएका छन् ।

प्रमुख दलका शीर्षनेताहरु आफू उम्मेदवार हुँदाको भन्दा बढी खटिएका छन् । शीर्ष नेताहरुको खटाईले स्थानीय चुनावलाई संसदको चुनाव संसदीय चुनावभन्दा पनि महत्वपूर्ण पर्व बनेको प्रतीत हुन्छ ।

दलहरुले चुनावी परिणामलाई आफ्नो पक्षमा पार्न पार्टीका शीर्षनेताका साथै जनतालाई प्रभावित पार्ने लोकपि्रय र प्रभावशाली युवा नेताहरुलाई चुनाव अभियानमा खटाएका छन् ।

दबावमा शीर्ष नेता

प्रमुख दलका शीर्षनेताहरु आखिर किन यसरी आफैं जिल्ला जिल्लामा भोट माग्न खटिएका होलान् ? यसको अर्थ के होला ?

दोस्रो चरणको स्थानीय चुनाव जित्दै पर्ने दबावमा छन् प्रमुख दलका शीर्षनेताहरु । पहिलो चरणको चुनावमा एमालेभन्दा २२ वटा स्थानीय तह कम जितेर दोस्रो भएको कांग्रेसले दोस्रो चरणको चुनावलाई प्रतिष्ठाको विषय बनाएको छ । यसैले गर्दा प्रधानमन्त्री देउवा आफैं सुदुर पश्चिममा खटिएका हुन् ।

पहिलो चरणमा दुई महानगरपालिका र एक उपमहानगरपालिकासहित अधिकांश नगरपालिका जिते पनि गाउँपालिकामा कांग्रेसको बराबरीमा रोकिएको एमालेले पनि दोस्रो चरणमा पहिलो दलका रुपमा कायम रहनुपर्ने बाध्यतामा छ ।

पहिलो दल बन्नका लागि एमाले अध्यक्ष केपी ओलीलाई आफ्नो गृहजिल्लामा जीत हात पार्न जरुरी छ । झापा, मोरङ र सुनसरीमा नतिजा आफ्नो पक्षमा पार्नुपर्ने बाध्यतामा छ एमाले ।

पहिलो चरणमा तेस्रो भएको माओवादी केन्द्रले दोस्रो चरणमा पहिलेको भन्दा नजितामा अझ सुधार गर्नका लागि शक्ति केन्दि्रत गरेको छ । पहिलो चरणको चुनाव हुँदा प्रधानमन्त्री रहेका कारण चुनावी अभियानमा खटिन नपाएका अध्यक्ष प्रचण्डले दोस्रो चरणको चुनावमा एकै दिनमा ५ वटासम्म चुनावी सभालाई सम्बोधन गरिरहेका छन् ।

चुनाव हुन एक सातामात्रै बाँकी रहँदा कांग्रेस, एमाले र माओवादीका शीर्षनेताहरु देश दौडाहामा लाग्नुको कारण यही हो कि चुनावी नतिजा आफ्नो पक्षमा पार्नका लागि अब उनीहरुसँग एक सातामात्रै समय छ ।

कमल थापादेखि उपेन्द्र यादवसम्म सक्रिय


साना पार्टीका शीर्ष नेताहरुमा पनि तीनदलका नेतामा जस्तै हुटहुटी देखिएको छ । राप्रपा अध्यक्ष कमल थापा, फोरम अध्यक्ष उपेन्द्र यादव, नयाँ शक्तिका बाबुराम भट्टराई लगायतका नेताहरु पनि पार्टी जिताउने अभियानमा खटिएका छन् ।

राप्रपा अध्यक्ष कमल थापाले विहीबार गाईमा भोट माग्दै उदयपुरको गाईघाटमा सम्वोधन गरेका छन् । थापा सिराहा हुँदै उदयपुर पुगेका हुन् ।

यतिसम्म कि चुनाव बहिस्कार गरेका राजपाका केही नेता समेत भित्रभित्रै स्वतन्त्र रुपमा उठेका रुपन्देहीका आफ्ना उम्मेदवार जिताउने रणनीतिमा व्यस्त छन् ।

नयाँशक्तिका संयोजक डा. बाबुराम भट्टराईले विहीबार मोरङको बेलबारीमा आयोजित सभालाई सम्वोधन गरेका छन् । त्यहाँ मेयरमा उठेका प्रताप थापालाई सघाउन डा. भट्टराई पुगेका हुन् ।

बेलबारी पुग्नुअघि डा. भट्टराई सुनसरीको चुनाबी सभालाई सम्वोधन गर्दै थिए ।

हैसियतको अन्तिम परीक्षा

दोस्रो चरणको चुनावले दलहरुको वास्तविक हैसियत देखाउनेछ । पहिलो चरणमा २८३ स्थानमा चुनाव हुँदा कांग्रेस, एमाले र माओवादीले मात्रै जिते । राप्रपा, नयाँ शक्ति, जनमोर्चा र नेमकिपा एक-एक स्थानमा सीमित भए ।

दोस्रो चरणको चुनाव पहाड र तराई मधेस दुवैतिर हुँदैछ । संघीय समाजवादी, राजपा लगायत मधेस केन्दि्रत दलहरुको पनि यसपटक शक्ति परीक्षण हुँदैछ ।

कांग्रेसलाई यसपटक एमालेलाई पछि पारेर पहिलो पार्टी बन्नुपर्ने दबाव छ भने एमालेलाई पहिलो चरणको अग्रता कायम राख्दै दोस्रोमा कांग्रेसलाई अझ पछि पार्नुपर्ने चुनौति छ ।

राप्रपा, संघीय फोरम र नयाँ शक्ति पार्टीलाई पनि दोस्रो चरणको चुनावमा राम्रो नतिजा ल्याएर आफ्नो अस्थित्व र औचित्य सावित गर्नुपर्ने चुनौती छ ।

कुन-कुन मोर्चामा खटिए कांग्रेस नेता ?


झापाबाट एमालेको चुनावी प्रचार आक्रामक भइरहेका बेला केही रक्षात्मक देखिएको कांग्रेसले शुक्रबारदेखि पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई नै मैदानमा पठाउँदैछ । देउवा एक सातासम्म अब आफ्नै गृहजिल्ला डडेलधुरासहित ७ नम्बर प्रदेशमा चुनाव परिचालन गर्दैछन् ।

एमाले नेता भीम रावलले ७ नम्बर प्रदेशमै रहेका बेला देउवाले कैलाली, कञ्चनपुर, बैतडी, दार्चुला, डोटी र डडेलधुरा लगायतका जिल्लामा चुनावी अभियान सञ्चालन गर्नेछन् । ७ नम्बर प्रदेशमा जित्नैपर्ने दबावमा देउवा छन् ।

कांग्रेसका अर्का शीर्षनेता रामचन्द्र पौडेल ५ नम्बर प्रदेशका नवलपरासी, रुपन्देही, कपिलवस्तु लगायतका जिल्लामा केन्दि्रत भएका छन् । शेखर कोइराला, महेश आचार्य लगायतका नेताहरु बिराटनगर महानगरपालिकामा केन्दि्रत भएका छन् ।

पूर्वमहामन्त्री कृष्ण सिटौला गृहजिल्ला झापामा एमाले अध्यक्ष केपी ओलीको सामना गरिरहेका छन् । ओलीले ४ दिनमा जिल्लाका लगभग सबै स्थानीय तहको चुनावी अभियान सञ्चालन गरेपछि सिटौला पनि झापामा केन्दि्रत भएका हुन् । भद्रपुर नगरपालिकामा केन्दि्रत रहेका सिटौलाले झापाका अन्य ठाउँमा पनि चुनावी सभालाई सम्बोधन गर्दैछन् ।

प्रचण्ड एकै दिन ७ वटा सभामा

दोस्रो चरणको चुनावमा माओवादी अध्यक्ष प्रचण्डको खटाई हेर्न लायक छ । बुधबारबाट चुनावी अभियानमा निस्किएका प्रचण्डले पहिलो दिन उदयपुरका तीनवटा सभालाई सम्बोधन गरेका थिए ।

बिहीबार प्रचण्डले ७ वटा ठूला चुनावी सभालाई सम्बोधन गरे । बाँकेको नेपालगञ्ज, खजुरा, बैजनाथ र कोहलपुर नगरपालिकाका चुनावी सभालाई सम्बोधन गरेर प्रचण्ड कैलाली पुगे ।

प्रचण्डले कैलालीको टीकापुरमा चुनावी सभालाई सम्बोधन गरे भने बर्दियाको ठाकुरबाबा र बार बर्दिया नगरपालिकाको चुनावी सभालाई सम्बोधन गरे ।

माओवादी नेताहरु मध्ये कृष्णबहादुर महरा दाङमा केन्दि्रत भएका छन् भने वर्षमान पुन रोल्पा र दाङमा ओहोर-दोहोर गरिरहेका छन् ।

ओली राजधानी फर्किए, अरु फिल्डमै

एमाले अध्यक्ष केपी शर्मा ओली ४ दिनसम्म झापाका प्रायः सबै स्थानीय तहका करीव एक दर्जन चुनावी सभालाई सम्बोधन गरेर विहीबार साँझ राजधानी फर्किएका छन् । गृहजिल्ला झापामा यसपटक उनको खटाई चर्चाको विषय बनेको छ । मध्यराति १ बजेसम्म पनि उनी भेटघाटमै रहे ।

ओलीले नेपालगञ्जबाट शुरु गरेको चुनावी अभियान जारी रहेको एमालेले जनाएको छ । शुक्रबार काठमाडौंबाट ओली पुनः १ नम्बर प्रदेशमै फर्किनेछन् । उनले इटहरी र धरान उपमहानगरपालिका सहित सुनसरीका विभिन्न चुनावी अभियानमा सहभागिता जनाउने एमालेका प्रदेश इञ्चार्ज भीम आचार्यले बताए ।

त्यस्तै ओली बिराटनगर महानगरपालिका सहित मोरङका अन्य नगरपालिकाका चुनावी कार्यक्रममा सहभागी हुनेछन् । त्यसपछि फर्किएर उनी पश्चिम नेपालका चुनावी कार्यक्रममा जाने तयारी भइरहेको एमालेले जनाएको छ ।

एमालेका अधिकांश शीर्षनेता विभिन्न जिल्लामा केन्दि्रत छन् । महासचिव ईश्वर पोखरेल विहीबार बिराटनगर महानगरपालिकाको चुनावी अभियानमा सहभागी भए । उनी उतैबाट ओखलढुंगा जाँदैछन् ।

झलनाथ खनाल र सुवास नेम्वाङ इलाम र पाँचथरमा केन्दि्रत छन् भने बामदेव गौतम प्युठान, बर्दिर्या र बाँकेमा केन्दि्रत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment