Comments Add Comment

घोराही उपमहानगरको एजेण्डाः वडापिच्छे अस्पतालदेखि डबल रिङरोडसम्म

९ असार, दाङ । प्रदेश नम्बर ५ को सम्भावना बोकेको घोराही उपमहानगर विकासको दृष्टिले ‘भर्जिन’ ठाउँ हो । उपमहानगर बनाउने क्रममा पछिल्लो समय गाभिएका कतिपय ग्रामीण भेगमा सडक सुविधा र बिजुली समेत छैन ।

७८ हजार ४ सय २७ मतदाता रहेको यो उपमहानगरमा विभिन्न दलका मेयरका उम्मेदवारहरुले सामान्यदेखि महत्वाकांक्षी झल्किने योजना ल्याएका छन् । प्रमुख तीन दलका मेयर पदका उम्मेदवारहरुले आफ्नो जितको आधार र विकासका एजेण्डा अनलाइनखबरलाई यसरी सुनाएः

धार्मिक पर्यटन प्रवर्द्धन र प्रत्येक वडामा अस्पताल

भूपबहादुर डाँगी, मेयरका उम्मेदवार, नेपाली कांग्रेस

मेरो राजनीतिक जीवन ०३६ सालदेखि सुरु भएको हो । ०३६ सालमा म बहुदलको पक्षमा लागेर विपी कोइरालासँग कांग्रेसको सदस्यता लिएको हुँ ।

कांग्रेसको राजनीतिक यात्रामा म पहिलो पटक क्षेत्रीय सदस्य भएँ । दोस्रो पटक कोषाध्यक्ष र तेस्रो पटक उपसभापति भएँ भने अहिले दोस्रो कार्यकालमा दाङ क्षेत्र नम्बर ३ को क्षेत्रीय सभापति छु ।

जितको आधार

मैले उपमहानगरको मेयरमा जित्ने आधार थुप्रै छन् । पहिलो कुरा त दाङमा कांग्रेसको संगठन निकै बलियो छ । यहाँको संगठन विगतमा खुमबहादुर खड्का, बलदेव शर्मा मजगैंया, तीर्थराज चैतु र अझ उहाँहरुभन्दा अग्रज छविकुमार देवकोटा, तिलकबहादुर डाँगी, जुद्धबहादुर न्यौपाने लगायत अन्य धेरै साथीहरुले दह्रो बनाउनुभएको हो ।

यो क्षेत्रमा मैले बहुदल अगाडिदेखि नै जनताको सेवा गर्दै आएको छु । त्यसैले मैले घोराही उपमहानगरमा मात्र हैन, दाङका सम्पूर्ण जनतालाई चिन्छु । उहाँहरुले पनि मलाई चिन्नुहुन्छ ।

म पार्टीको पदमा बस्दा मैले सहीलाई सही र गलतलाई गलत भनेँ । मेरो पार्टीले गलत गरेको छ भने पनि तिमीहरुले गलत गरेका छौ भनेर निसाफ गरेको इतिहास छ । प्रतिपक्षलाई अप्ठेरो पर्‍यो भने मबाट हुने कुरामा कहिल्यै रोकावट गरिनँ  ।

मैले जनताको निम्ति ४० वर्ष पसिना बगाएकाले चुनाव जित्नेमा म ढुक्क छु । आजसम्म भूपबहादुर डाँगीले कतै चार पैसा लिएर काम गर्‍यो भन्ने इतिहासमा भेटिँदैन । यो मान्छेले गलत गर्‍यो र गर्ला भनेर जनतालाई पनि विश्वास छैन । त्यही आधारले मलाई जनताले विश्वास गरेर मत दिनुहुन्छ र म अत्यधिक मतले जित्छु ।

यसपाली चुनावमा मेरो मुख्य प्रतिस्पर्धा एमालेसँग हुनेछ ।

चुनावी एजेण्डा

पहिलो कुरा त घोराही उपमहानगरमा मठमन्दिरहरु छन् । विश्वकै अग्लो त्रिशुल भएको धारपानी, बाह्रकुने दह, अम्बिकेश्वरी मन्दिर, गोरक्षरत्ननाथ मन्दिर जस्ता धार्मिक सम्पदा छन् । यिनीहरुको संरक्षण गरी धार्मिक पर्यटक भित्र्याएर दाङको उन्नति गर्ने लक्ष्य छ ।

दोस्रो, वर्षामा खोलाहरु उर्लेर बाढीले सताउने र हिउँदमा सुख्खा हुने समस्या छ । त्यसको समाधानको लागि ठूल्ठूला ड्याम बनाउन सकिन्छ । त्यो जलाशयबाट खेतीयोग्य जमिनलाई मनग्गे सिंचाइ सुविधा पुर्‍याउने योजना छ ।

विदेश पलायन भएका युवाका लागि रोजगारी सिर्जना गर्ने, महिलाहरुलाई सीपमूलक तालिमको व्यवस्था गरेर आयआर्जन मिलाइदिने पनि हामीले एजेण्डा राखेका छौं ।

घोराहीको सबैभन्दा मुख्य समस्या पानी हो । पानीको आपूर्तिका साथै बाटो, ग्रामीण सडक निर्माण गर्नुपर्नेछ ।

प्रत्येक वडामा ५ देखि १५ शय्याको अस्पताल बनाएर चिकित्सकको व्यवस्था गर्नेछौं । त्यसो भएमा पहाडी भेगका बासिन्दालाई स्थानीय स्तरमै स्वास्थ्य सेवा पाउन सहज हुनेछ ।

अर्को कुरा, दैवी प्रकोप आउने समयमा प्रत्येक वडामा सम्भव नभए पनि पायक पर्ने ठाउँमा दैवी प्रकोपबाट सुरक्षित रहने खुला ठाउँको व्यवस्था गर्नेछौं ।

सबै वडालाई सडक सञ्जालले जोड्ने

नरुलाल चौधरी, मेयरका उम्मेदवार, नेकपा एमाले

म ३०/३४ वर्षदेखि एमालेको राजनीतिमा सक्रिय छु । दाङको राजनीतिक क्षेत्रका साथै यहाँको सामाजिक क्षेत्रमा पनि सक्रिय रहँदै आएको छु । ०४० सालदेखि एमालेको विद्यार्थी संगठनमा आबद्ध हुँदै वडा कमिटि, गाउँ कमिटि, इलाका, क्षेत्र लगायत सबै कमिटिमा बस्दै आएँ ।

०५४ सालमा भएको स्थानीय चुनावको दाङको रामपुर गाविसबाट वडा अध्यक्षमा निर्वाचित भएको थिएँ । त्यस्तो सफलतालाई यसपाली उपमहानगरको मेयर पदमा पनि दोहोर्‍याउने गरी चुनावी मैदानमा उत्रेको छु । हाल म एमालेको जिल्ला अध्यक्ष तथा अहिले रामपुर गंगा उच्च माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष छु ।

जितको आधार

पहिलो कुरा त एमालेले राष्ट्रिय स्तरमा खेलेको भूमिका नै सकारात्मक पाटो भयो । एमालेका कार्यकर्ता इमान्दार छन् र उनीहरुसँग विकास गर्ने भिजन छ भन्ने कुरा आम जनताले बुझिसकेका छन् । एमाले सरकारमा छँदा मनमोहन अधिकारी तथा केपी ओलीको पालामा जनताले केही पाएको अनुभूति गरेका छन् ।

स्थानीय तहमा राज्यसँग जोडिएका कुराको प्रत्यक्ष अनुभूति गर्न पाउने भएकाले अहिले मतदाताले पार्टीको साथै सक्षम, इमान्दार र निष्ठावान् व्यक्ति पनि हेर्छन् । त्यो हिसाबले हाम्रो धेरै सकारात्मक पक्ष छन् । हामीले समाजको लागि केही गरेका छौं र अब पनि गर्न सक्छौं भन्ने हामीसँग मिसन छ ।

घोराहीमा हाम्रो मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेस नै हुन्छ ।

चुनावी एजेण्डा

हावापानीको दृष्टिकोणले अत्यन्त राम्रो उपत्यका रहेको घोराही उपमहानगरमा हाम्रो पहिलो प्राथमिकता बाटोघाटो हो । उपमहानगरभित्र सैघा गाविस जस्तो विकट क्षेत्रहरु छन्, जहाँ सडक पहुँच छैन । १९ वटै वडालाई घोराही नगरसँग जोडेर बाह्रै महिना गाडी चल्न सक्ने बनाउनेछौं । ता कि  एम्बुलेन्स पुगेर बिरामी ओसार्ने सक्ने खालको बाटो होस् ।

दोस्रो, घोराहीमा सबै जनताले अझै पनि स्वच्छ खानेपानी पाइरहेका छैनन् । त्यो समस्या सम्बोधन गर्न बोरिङ गरेर पानी निकाल्ने, कुवा खनाउने र धारा सञ्चालन गर्ने लगायत कुरा गरिरहेका छौं ।

तेस्रो, कृषिलाई व्यावसायिकरण र आधुनिकीकरण गर्नुपर्छ भनिरहँदा यसका लागि सिंचाइ अत्यावश्यक चिज हो । सिंचाइ सुविधाका लागि खोलानाला व्यवस्थित गर्ने र सकेसम्म हाई ड्याम निर्माण गरेर बहुउद्देश्यीय ढंगले त्यहाँ माछापालन, पर्यटकका लागि बोटिङ गराउनुका साथै त्यहाँको पानी सिंचाइ तथा खानेपानीका लागि पनि प्रयोगमा ल्याउने सोच छ ।

अर्को कुरा, यहाँको सबै ठाउँमा विद्युतीकरण हुन सकेको छैन । सम्भव भएका ठाउँहरुमा विद्युत् पुर्‍याउने र अन्य ठाउँमा सोलारको माध्यमबाट भए पनि जनतालाई उज्यालो दिने योजना छ ।

हामीले स्वास्थ्य क्षेत्रको विकासलाई पनि त्यत्तिकै महत्व दिएर अगाडि बढाउनेछौं । प्रत्येक वडामा ५ बेडको मिनी हस्पिटल सञ्चालन गर्ने हाम्रो अर्को सोच छ । जसबाट जनताले सामान्य उपचार वडाबाटै पाउन सकून् । त्यस्तै, घोराहीमा स्वास्थ्य विज्ञान प्रतिष्ठान खोल्न विशेष प्राथमिकता दिएका छौं ।

अहिले शिक्षाक्षेत्र हेर्दा सामुदायिक विद्यालयमा निकै कमजोर पढाइ हुन्छ भन्ने सबैको बुझाइ छ । त्यसको सुधारका लागि हामीले प्राविधिक शिक्षा लागू गर्ने र विषयगत शिक्षकहरुलाई अझ दक्ष बनाउने सोचेका छौं ।

पर्यटनका हिसाबले घोराहीमा धेरै सम्भावना छ । यहाँ ताल र दहहरु तथा अग्ला पहाडहरु छन् । हामीले भ्यू टावर निर्माण गरेर पर्यटकहरु आकर्षित गर्न सक्छौं । सवारीकोटबाट प्याराग्लाइडिङको परीक्षण सफल भइसकेको छ । मठमन्दिरको संरक्षण र प्रचार गरी धार्मिक पर्यटक पनि भित्र्याउन सक्छौं । पर्यटन क्षेत्रकै माध्यमबाट रोजगारी सिर्जना पनि हुन सक्ने देखेका छौं ।

बाटोघाटोको कुरा गर्दा हामीले घोराहीमा रिङरोड बनाउने कुरा गरिरहेका छौं । हापुर, नारायणपुर, ढिकपुर, धर्ना हुँदै बबई नदीपारिबाट रामपुर लगेर फेरि हापुरमा जोड्नेछौं ।

अहिले यातायातको कारणले धेरै दुर्घटना भएका छन् । दुर्घटना न्यूनीकरण गर्न वैकल्पिक बाटो जरुरी छ । बबई नदीको कुइरेपानीदेखि सर्रासम्म दामोदर रोडलाई वैकल्पिक मार्गको रुपमा विकास गर्ने हाम्रो योजना छ ।

बजारक्षेत्र रहेको उपमहानगरको सरसफाइ पनि महत्वपूर्ण छ । हाम्रो पार्टीका नेता तथा पूर्व मेयर अम्बरबहादुर डाँगीको पालामा ८६ बिगाहा क्षेत्रफलको ल्यान्डफिल्ड साइट छ, त्यसलाई अझ व्यवस्थित गर्दै वैज्ञानिक ढंगले फोहोर व्यवस्थापन गर्नेछौं ।

हामीसँग यस्ता थुप्रै एजेण्डा छन् । जुन कुरा गर्दा एमालेले यति धेरै कुरा गर्‍यो, गर्न सक्छ कि सक्दैन भन्ने जनताले आशंका गरेका छन् । तर, अहिले स्थानीय तहले सबै आफैंले निर्णय गर्ने जुन अधिकार पाएको छ, यसबाट हामी आफ्ना एजेण्डाहरु पूरा गर्न सक्छौं ।

पाँच नम्बर प्रदेशको राजधानी दाङ र घोराहीमा डबल रिङरोड

जीवन गौतम, मेयरका उम्मेदवार, माओवादी केन्द्र

म हाल माओवादीको पोलिटब्यूरो सदस्य र दाङको जिल्ला इञ्चार्ज छु । घोराही उपमहानगरमा मेरो उम्मेदवारीले जनमानसमा राम्रो छाप पारेको छ ।

माओवादीले उठाएको उम्मेदवार युवा छ र केही गर्न सक्ने ऊर्जाशील छ भन्ने प्रतिक्रियाहरु आइरहेका छन् । यसले चुनाव जितिन्छ भन्ने संकेत गरेको छ ।

जितको आधार

०७० सालको संविधानसभाको चुनावताका फुटका कारण माओवादी केही कमजोर अवस्थामा थियो । एक पक्षले चुनाव बहिष्कार गर्दा ठूलो जनमत निस्क्रिय रह्यो । अहिले पार्टी एकताबद्ध भएर आइसकेपछि जनयुद्धकालीन टिम र जनाधार बलियो भएको छ भने निस्क्रिय रहेको मत हामीसँग आइपुगेको छ ।

दोस्रो, हामीले पछिल्लो दस वर्षको अवधिमा दाङमा विकास निर्माणको काममा पहलकदमी गर्‍यौं । राप्ती अञ्चल उपक्षेत्रीय अस्पताल बनाउन, त्यसलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा अगाडि बढाउन, तुलसीपुरको अञ्चल अस्पताल स्थापना, एयरपोर्टमा पिच गर्ने जस्ता काममा हाम्रो अग्रसरता रह्यो ।

पाँच नम्बर प्रदेशको राजधानी घोराहीलाई बनाउने नारा हामीले पार्टीको तर्फबाट सबैभन्दा पहिला ल्यायौं । दाङलाई प्रदेशको राजधानी बनाएरै छाड्छौं ।  एमाले नेताहरु दाङलाई पाँच नम्बर प्रदेशको राजधानी बनाउन हुँदैन भनेर सार्बजनिक अभिव्यक्ति दिँदै हिँडेका छन् । यो कुरा यहाँका मतदातालाई मन परेको छैन ।

प्रदेशको राजधानी बनाउने लक्ष्य अनुसार नै पछिल्लो समय प्रचण्ड नेतृत्वको सरकार बनेपछि हामीले विकास-निर्माणको योजना अघि बढाउन दाङमा करिब सवा ५ अर्ब बजेट ल्याउन पहल गर्‍यौं । यसबाट माओवादीको अहिलेको पुस्ता र नेतृत्व पंक्ति विकास निर्माण र सम्पूर्ण कुराको लागि योग्य छ भन्ने स्थापित गरेको छ ।

चुनाव जित्ने भनेको पार्टीको कार्यकर्ताको मतले मात्र नभई जनताको मतले जित्ने हो । यसका साथै विभिन्न पार्टीको अन्तरविरोधले चुनाव जित्ने हो । यतिबेला कांग्रेसभित्र चरम अन्तरविरोध रहेकाले त्यसको फाइदा मैले प्राप्त गर्छु । घोराहीमा हाम्रो चुनावी प्रतिस्पर्धा कांग्रेससँगै नै हुनेछ ।

अर्को कुरा, हाम्रो एजेण्डा नै हाम्रो जितको आधार हो । घोराही उपमहानगरको सन्दर्भमा अहिले अघि सारेका प्रतिबद्धता र प्रस्तावित योजनाले मतदाता आकर्षित भएका छन् । मतदाताबाट आइरहेका प्रतिक्रियाले हामीलाई विजयको सुनिश्चिततातिर लगिरहेको छ ।

चुनावी एजेण्डा

हामीले राष्ट्रिय महत्वका एजेण्डाहरु भनेर अगाडि सारेका छौं । त्यसअन्तर्गत पहिलो बुँदामा ५ नम्बर प्रदेशको राजधानी घोराहीलाई बनाउने कुरा छ ।

दोस्रो, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने । हामीले २ वर्षदेखि त्यसका लागि काम गर्‍यौं । मन्त्रिपरिषदले अवधारणापत्र पास गरिसकेको छ र अब विधेयकको काम बाँकी छ । अबको दुई वर्षभित्र त्यसलाई सञ्चालनमा ल्याउने कुरा छ ।

तेस्रो, नारायणपुरमा अन्तर्राष्ट्रिय विमानस्थल स्थापना गर्ने । औद्योगिक क्षेत्र निर्माण गर्ने र औद्योगिकरणको दिशामा लैजान पहल गर्ने पनि योजना छ ।

अहिलेको अवस्थामा दाङलाई रोल्पा, रुकुम र प्यूठानसँग नजोडी घोराही व्यापारिक केन्द्र बन्न सक्दैन । तिनलाई सडक सञ्जालले जोड्ने योजना छ । पर्यटन प्रवर्द्धन गर्न शहीद मार्गलाई ढोरपाटन शिकार आरक्षसम्म जोडेर पर्यटनको लागि ट्रान्जिट प्वाइन्ट बनाउने ।

यी राष्ट्रिय महत्वका योजना सँगै हाम्रा अन्य एजेण्डा पनि छन् ।

स्थानीय स्तरमा दिइएको वित्तीय अधिकारको प्रयोग गरेर विकास-निर्माणलाई अगाडि बढाउने कुरा छ । त्यस क्रममा घोराही नगरबाट हरेक वडासम्म कालोपत्रे सडक, हरेक वडा कार्यालयबाट हरेक गाउँ र टोलसम्म सडक सञ्जाल निर्माण गर्ने सोच छ ।

क्षेत्रफलको हिसाबले सबैभन्दा ठूलो भूगोल ओगटेको उपमहानगर घोराहीमा हामीले बाहिरी र भित्री रिङरोड बनाउने एजेण्डा पनि अघि सारेका छौं ।

स्वास्थ्यको क्षेत्रमा हामीले हरेक वडामा १५ शय्याको एउटा अस्पताल बनाउने र त्यहाँ एमबीबीएस डाक्टरको व्यवस्था गर्ने भनेका छौं । आधारभूत स्वास्थ्य सेवा पूर्णरुपमा निःशुल्क गरिनेछ ।

शिक्षाक्षेत्रको कुरा गर्दा सरकारी शिक्षालाई पूर्णरुपमा निःशुल्कको रुपमा लिएर जाने कुरालाई निरन्तरता दिँदै सरकारी विद्यालयहरुको स्तरवृद्धि गर्नेछौं । इञ्जिनियरिङ अध्ययन संस्थान, बहुप्राविधिक शिक्षालयहरु स्थापना गर्ने योजना पनि छ । गरिबीको रेखामुनि रहेका जनताका छोराछोरीलाई डिप्लोमा सम्मको प्राविधिक शिक्षा निःशुल्क व्यवस्था गरिनेछ ।

सिंचाइ, खानेपानी लगायतका योजना पनि अगाडि सारिएको छ ।

समग्रमा हेर्दा घोराहीलाई हामीले कृषिमा जोड दिँदै समृद्धितिर लम्काउन सक्छौं । तरकारी तथा फलफूल खेती, पशुपालन, कुखुरापालनलाई व्यावसायिक बनाउन सकिने सम्भावना छ । धर्ना भन्ने ठाउँमा माछापालनको लागि अत्यन्त उपयुक्त हावापानी छ ।

कृषिलाई आधुनिकीकरण गर्ने र खेती, कुखुरापालन आदिसँग सम्बन्धित उद्योगधन्दा विस्तार गर्ने लक्ष्य छ । त्यसो गर्न सकियो भने पाँच वर्षको बीचमा हामी ५० हजार रोजगारी सिर्जना गर्न सक्छौं ।

अर्को कुरा, अहिले करको दर निकै बढी छ । हामीले करको दायरा वृद्धि गर्ने तर करको दर घटाउने योजना बनाएका छौं । हुनेसँग लिने र नहुनेलाई दिने नीति अख्तियार गर्नुपर्छ । यसो गर्न सकिए हामीले लोककल्याणकारी राज्यको अवधारणालाई लागू गर्न सक्छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment