Comments Add Comment

केपी ओली र प्रचण्ड भोट माग्न बिराटनगर आउने

गच्छदार र उपेन्द्र यादव पनि बिराटनगरमै केन्द्रित

९ असार, बिराटनगर । दोस्रो चरणमा निर्वाचन हुन लागिरहेको एक मात्र महानगरपालिका बिराटनगरमा प्रमुख दलका शीर्षनेताहरु भोट माग्न केन्दि्रत हुने भएका छन् ।

चार पार्टीका शीर्ष नेताहरु शनिबार बिराटनगर आउने भएका छन् । भिन्नाभिन्नै चुनावी सभालाई सम्वोधन गर्न पूर्वप्रधानमन्त्रीहरु सहित ४ पार्टीका अध्यक्ष बिराटनगर आउने भएका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र संघीय समाजवादीका अध्यक्ष उपेन्द्र यादवले संयुक्त चुनावी सभालाई सम्वोधन गर्ने कार्यक्रम छ ।

त्यसैगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले अर्को संयुक्त सभालाई सम्वोधन गर्नेछन् ।

नेकपा एमालेका एक नम्वर प्रदेश सदस्य महेश रेग्मीका अनुसार एमाले र फोरम लोकतान्त्रिकले संयुक्त रुपमा आयोजना गरेको चुनावी सभालाई दुवै पार्टीका केपी शर्मा ओली र विजयकुमार गच्छदारले सम्वोधन गर्ने कार्यक्रम छ ।

एमाले र लोकतान्त्रिक फोरमको चुनावी सभा विराटनगरको गुद्रीमा शनिबार दिउँसो ३ बजेलाई तय गरिएको छ ।

त्यसैगरी माओवादी केन्द्र र संघीय समाजवादी फोरम नेपालले संयुक्त रुपमा आयोजित चुनावी सभालाई दुबै पार्टीका अध्यक्षद्वय प्रचण्ड र उपेन्द्र यादवले सम्वोधन गर्ने कार्यक्रम छ ।

बिराटनगरको हाटखोलामा आयोजित चुनावी सभालाई नेताद्वयले शनिबार दिउँसो २ बजे सम्वोधन गर्ने कार्यक्रम तय भएको माओवादी केन्द्रका मोरङ जिल्ला अध्यक्ष गोपी आछामीले जानकारी दिए ।

असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको चुनावमा बिराटनगर महानगरपालिकामा एमाले र फोरम लोकतान्त्रिकले तालमेल गरेका छन् । एमालेका विनोद ढकाल मेयरमा र लोकतान्त्रिकबाट सुची चौधरी उपमेयरमा उठेका छन् ।

त्यस्तै माओवादी केन्द्र र संघीय फोरमले पनि आपसी तालमेल गरेका छन् । मेयरमा फोरमका तर्फबाट उमेश यादव र उपमेयरमा माओवादी केन्द्रका तर्फबाट नमिता न्यौपाने उठेका छन् ।

कांग्रेस एक्लै मैदानमा

नेपाली कांग्रेस भने एक्लै चुनावी मैदानमा उत्रेको छ । कांग्रेसका केन्द्रीय नेताहरु एक सातादेखि नै बिराटनगरमा छन् । डा.शेखर कोइराला, डा.मिनेन्द्र रिजाल, महेश आचार्य, डा.डिला संग्रौला, अमृत अर्याल र भुटनी देवी खवास लगायतका कांग्रेस नेताहरु चुनावी दौडाहामा छन् ।

कांग्रेसका केन्द्रीय नेताहरुको गृहनगर समेत बिराटनगर भएकाले पनि उनीहरु चुनावी दौडाहामा सलग्न भएका हुन् । डा कोइराला, नेता रिजाल र महेश अर्चायले संविधान सभाको चुनाव लडेको क्षेत्र नम्वर ५, ६ र ७ पनि बिराटनगर महानगारपालिका भित्रै पर्छ । कांग्रेसले मेयरमा भीम पराजुली र उपमेयरमा इन्दिरा कार्कीलाई उठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment