Comments Add Comment

डडेलधुरामा कांग्रेसको किल्ला जोगाउन देउवालाई सकस

अमरगढी नगरपालिकामा एमाले कांग्रेसवीच तीव्र प्रतिस्पर्धा

९ असार, डडेलधुरा । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नै गृहजिल्लामा स्थानीय तह चुनावको सम्भावित परिणामले चुनौति थपिदिएको छ । उम्मेदवार छनोटमा उत्पन्न आन्तरिक विवाद व्यवस्थापन गर्न देउवा गृहजिल्ला आउँदैछन् ।

देशको शक्तिशाली प्रधानमन्त्री अनि देशकै सबैभन्दा ठूलो पार्टी कांग्रेसको कमाण्डर भएका कारण देउवाको गृहजिल्लामा सबैको चासो छ । ०४८ देखिका कुनै पनि चुनावमा देउवाले डडेलधुरामा पराजय भोग्नुपरेको छैन । यो शाख बचाउन यसपटक भने देउवालाई निकै चुनौति हुने देखिएको छ ।

देउवाको गृह जिल्ला भएकाले डडेल्धुरालाई कांगे्रसको किल्ला भनेर चिनिन्छ । तर, निर्वाचन आउन केही दिनमात्रै बाँकी रहँदा कांग्रेसलाई आफैंभित्रको विवाद मिलाउन हम्मेहम्मे परेको छ ।

टिकट वितरणमा ढिलाइ, टिकट वितरणप्रति कांग्रेस कार्यकर्ताको असन्तुष्टि र कांग्रेस भित्र देउवा गुटभित्रै दुई समूृह भएका जिल्लामा कांग्रेसले प्रतिकुल अवस्थाको सामना गरिरहेको छ ।

जिल्लामा कांग्रेसको प्रतिद्वन्द्वीका रुपमा नेकपा एमालेलाई हेरिएको छ । एमालेले आफ्ना उम्मेदवारको टुङ्गो लगाएर प्रचार प्रसारमा हिँडेको एक महिनापछि मात्र कांग्रेसले टिकट वितरण गरेको थियो ।

सदरमुकाम अमरगढी नगरपालिकामा कांग्रेससमर्थक धेरै भए पनि कांग्रेसभित्रको आन्तरिक द्वन्द्वबाट एमालेलाई फाइदा पुग्न सक्ने बौद्धिक समुदायका अगुवा युवराज जोशीको बुझाई छ ।

दुई नगरपालिका तथा ५ वटा गाउँपालिका रहेको डडेलधुरा जिल्लाको सदरमुकाम अमरगढी नगरपालिमा कुल ११ हजार ७ सय ८३ मतदाता छन् । यहाँ कांग्रेस र एमालेबीच तीव्र प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

कांग्रेसका उम्मेदवार पुराना र स्थापित

अमगढी नगरपालिकाको मेयरमा दिल्लीराज जोशी र उपमेयरमा पार्वती झुकालले टिकट पाएर मनोनयन दर्ता गराएका छन् । जिल्लामा विवाद भएपछि टिकटको सबै टुंगो देउवा आफैंले लगाएका थिए ।

पार्टी सभापति देउवाले टिकट वितरणमा एकलौटी गरेको भन्दै डडेलधुरामा तीन दिन नेता तथा कार्यकर्ताले विरोध प्रर्दशन समेत गरे । मनोनयन हुनुभन्दा केही दिन अगाडि मात्रै कार्यकर्ताको मुल्याङ्कन नगरी आर्थिक चलखेलमा टिकट वितरण भएको आरोप लगाउँदै कांग्रेस कार्यकर्ता विरोध प्रदर्शनमा उत्रिएका थिए ।

लामो समयदेखि नेपाली कांग्रेसमा आवद्ध मेयरका उम्मदेवार दिल्लीराज जोशी सामाजिक अभियन्ता पनि हुन् । उनी डडेल्धुराको वन संरक्षण पर्यावरण बचाउ अभियानमा राष्ट्रिय स्तरमा तत्कालीन राजा बीरेन्द्रबाट पुरस्कार पाएका नेता हुन् ।

साथै जोशीले पहिलो पटक सुदुरका पहाडी जिल्लामा पाइने लालीगुराँसको फूलबाट जुस बनाउने नयाँ प्रविधि भित्र्याएका थिए ।

एमालेबाट युवा नेतृत्व

कांग्रेसको मुख्य प्रतिस्पर्धी मानिएको एमालेले युवा नेता विपिन ओझालाई मेयरको उम्मेदवार बनाएको छ । उपमेयरमा संगीता भण्डारीलाई अघि सारेको छ ।

अनेरास्ववियुबाट राजनीति शुरु गरेका ओझा ०६५ सालको स्ववियु चुनावमा डडेलधुरा बहुमुखी क्याम्पसबाट सभापति निर्वाचित भएका थिए । व्यवसायी समेत रहेका उनी एमालेका नगर कमिटी अध्यक्ष पनि हुन् ।

माओवादी र राप्रपाबाट महिला

अमरगढी नगरपालिकामा माओवादी केन्द्रले महिलालाई मेयरको उम्मेदवार बनाएको छ । माओवादी केन्द्रका तर्फबाट शोभा भट्टले नगर प्रमुखमा उम्मेदवारी दर्ता गराएकी छिन् भने उपप्रमुखमा करुणाकर ओझाको उम्मेदवारी परेको छ ।

यसैगरी अमरगढी नगर प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि महिला उम्मेदवार अमिता थापालाई उम्मेदवार बनाएको छ भने नगरपालिकाको उपप्रमुखमा राजेन्द्र भण्डारीले उम्मेदवारी दर्ता गरेका छन् ।

यस्तै नयाँ शक्ति पार्टी नेपालका तर्फबाट नगर प्रमुखमा अस्मी सिनालको उम्मेदवारी परेको छ भने उपप्रमुखमा टेकराज भट्टको उम्मेदवारी रहेको छ । राष्ट्रिय जनमोर्चाका तर्फबाट नगर प्रमुखमा नरेश झुकालको उम्मेदवारी परेको छ । यसैगरी स्वतन्त्रबाट नगर प्रमुखमा नरभान पार्कीको समेत उम्मेदवारी परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment