Comments Add Comment

पासपोर्ट हैन, देश बनाऔं

‘तिमी कुन सेन्टरमा जीआरई गर्दै हो रे ?’

इञ्जिनियरिङ अध्ययनको आठौं सेमेस्टर चल्दै गर्दा मेरो कक्षामा लगभग सबैले सबैलाई सोध्ने प्रश्न यही हो ।

‘मिले त विदेश हिँडिहाल्ने हो नि, सरकारीमा कहिले-कहिले, प्राइभेटमा पनि त्यस्तै हो !’, सबैको उत्तर वा छलफलको विषय पनि यस्तै हुने गर्छ ।

आजभोलि मेरो मानसपटलमा यस्तै विषय खेलिरहन्छन् । म केहीबेर टोलाउँछु अनि फेरि झस्किन्छु । सातौं-आठौं सेमेस्टरबाट नै विद्यार्थी  विभिन्न इन्स्टिट्युशनमा धाउने परम्परा बन्नुको कारण के त ? विदेश नै जान्छु भन्नेर सबैको पहिलो प्राथमिकता किन बनेको होला ?

म पनि लहैलहैमा लागेर दुविधामा नपरेको होइन । यही दुविधाकै कारण मैले पनि केही समयअघि पासपोर्ट बनाउने निर्णय गरेको थिएँ । पासपोर्ट बनाउने फारम पनि घरसम्म ल्याएकै थिएँ । जीआरईको किताब पनि जम्मा पार्न थालिसकेको थिएँ ।

तर, कताकता डर र एउटा बेग्लै भाव थियो मनमा । विदेश जाने कुराले पनि मन प्रफुल्ल थिएन । म गाउँ छाडेर शहर आएको युवक, अब शहर छाडेर विदेश जान खोज्दै छु । म समस्याको समाधान  खोज्दै छु वा समस्याबाट भाग्दै छु ? मलाई यही प्रश्नले त्यो फारम भर्न दिएन ।

म गाउँबाट काठमाडौं आउँदै गर्दा मेरो परिवारले मात्र होइन, मेरो गाउँले पनि मबाट धेरै आशा गरेको थियो । म विदेश जाँदा कतै त्यो आशामाथि कुठाराघात त हुँदैन ? मेरो मनमा यस्तै प्रश्न खेल्न थालेको थियो ।

विदेश जाने अहिलेको लहर देख्दा प्रश्न उठ्छ, अब सबै जना पलायन नै हुने त ? हुनेखानेहरु त जालान् पनि । तर, मेरो गाउँको रमेश काका जसले दिनभर मजदुरी गरेर दुई पैसा जोड्नुहुन्छ, उहाँ जस्ताका छोराछोरीले चाहिँ के गर्ने त ? मेरा गाउँका अन्य साथीभाइले के गर्ने त ?

सुनसरी सदरमुकाम इनरुवामा रहे पनि मेरो गाउँ यहाँका अरु शहरको तुलनामा एकदमै पछाडि छ । राम्रो पढाइ हुने एउटा प्लस टू क्याम्पस छैन । बिरामी पर्दा उपचार गराउने एउटा गुणस्तरीय अस्पताल छैन ।

यी समस्यामा  केही परिवर्तन आउला  कि भनेर  दोस्रो संविधानसभाको चुनावमा मैले एउटा राजनीतिक दललाई सहयोग नगरेको पनि होइन । सांसदलाई चुनाव जिताएर पनि पठाइयो । तर, मेरो ठाउँमा परिवर्तनको कुनै संकेत देखिएन ।

मेरो ठाउँमा जितेका जनप्रतिनिधिले केही विकासको योजना अघि सार्छन् कि भनेर म हरदिन समाचार हेर्थें, सुन्थेँ । तर, जितेर जाने सांसदको पार्टी कार्यालयको रुप फेरियो, २/४ जना वरिष्ठहरुको घरबार सप्रियो, तर मेरो ठाउँ जहाँको त्यहीँ रहिरह्यो ।

हदै भएपछि एक पटक म सांसद विकास कोषको रकमको खर्च विवरण माग्न गएँ । तर, त्यहाँबाट फर्कँदा एकदमै नरमाइलो महसुस भयो । सांसदज्यूले म बच्चा भएको र यस्तो कुरा अहिले नगर्दा नै राम्रो भन्ने जवाफ फर्काउनुभयो । उहाँले चुनावी प्रचारप्रसारको बेला भने मलाई बच्चा देख्नुभएन ।

देशकै ठूला नदीमध्ये पर्ने तमोर, अरुण जस्ता नदी बग्ने यस क्षेत्रमा जलविद्युत्‌को धेरै सम्भावना छ । यहाँका नदीबाटै पूर्वाञ्चलसहित पूरै देशलाई लोडसेडिङमुक्त बनाउन सक्ने क्षमता छ । देश नै हाँक्ने नेता जन्माउने क्षमता छ । तर, मेरो क्षेत्र पिछडिएको छ । कारण स्पष्ट छ, जसलाई हामीले जितायौं, उनीहरुले हामीलाई सधैं हराइरहे ।

युवा यो देशमा साधन बने, साध्य बन्न सकेनन् । प्रयोग हुने औजारमै सीमित भए । मेरो घर  प्रदेश नम्बर १ मा पर्छ । यो त्यही क्षेत्र हो, जहाँ देशका आजका दुई  प्रमुख दल स्थापना भएका थिए । जुन क्षेत्रको प्रतिनिधित्व गरेर उनीहरु देशको प्रधानमन्त्री र मन्त्री बने पनि यो ठाउँको विकास हुन सकेन ।

मलाई सधैं अचम्म लाग्ने कुरा, जुन व्यक्तिहरुले आफ्नो स्थानलाई बनाउन सक्दैनन्, त्यो व्यक्तिले सिङ्गो देश बनाउन सक्लान् र ? हामीले कुन नेता कति सफल छ भनेर पत्ता लगाउन उसको भाषण होइन, उसको क्षेत्र हेरेर मूल्याङ्कन गर्ने हो । अरु क्षेत्र जस्तै मेरो ठाउँ पनि चुनावको बेला भोट माग्ने थलो बनेको छ ।

मेरो ठाउँका बासिन्दा सामान किनमेल गर्न स्थानीय बजारमा भन्दा १० रुपैयाँ सस्तो पर्ने भएकाले दिनहुँ सीमापारिको बजार धाउँछन् । उनीहरुको सुरक्षाको प्रत्याभुति छैन । भारतीय एसएसबीको खुलेआम दादागिरी र हेपाहा व्यवहार सहनुपर्ने अवस्था छ ।

देशकै ठूला नदीमध्ये पर्ने तमोर, अरुण जस्ता नदी बग्ने यस क्षेत्रमा जलविद्युत्‌को धेरै सम्भावना छ । यहाँका नदीबाटै पूर्वाञ्चलसहित पूरै देशलाई लोडसेडिङमुक्त बनाउन सक्ने क्षमता छ । देश नै हाँक्ने नेता जन्माउने क्षमता छ । तर, मेरो क्षेत्र पिछडिएको छ । कारण स्पष्ट छ, जसलाई हामीले जितायौं, उनीहरुले हामीलाई सधैं हराइरहे । म जनतालाई हराएर आफू जित्ने नेतालाई राजनेता भन्न सकूँला र ? जुन ठाउँको बासिन्दाले आज पनि दिनरात आधारभूत आवश्यकताका लागि तड्पिनुपर्छ, त्यस ठाउँको म जस्तो सचेत युवाले अहिलेका नेताबाट आशा गरिराख्न सक्ला र ?

देशका अनगिन्ती समस्याको समाधान अब पासपोर्ट बनाएर, विदेश गएर हैन, बरु सक्षम युवाहरु राजनीतिमा आएर नेतृत्व गर्ने साहस राख्नुपर्छ । प्रत्येक गाउँ-ठाउँबाट हामी जस्ता युवा उठ्न जरुरी छ ।

यो समस्या र पीडा केवल मेरो प्रदेशको समस्या होइन, नेपालका प्रत्येक गाउँ-ठाउँको हो । मेरो कलेजमा पढ्ने देशभरिबाट आएका साथीहरुको देशप्रतिको निराशा पनि सायद यही पीडाबाटै निस्किएको छ । देशमा राजनीति गर्नेहरुले राजनीति बाहेक सबथोक गरे, तर राज्य अनि नागरिकलाई जोड्ने नीति भने ल्याउन सकेनन् । विकास गर्न सकेनन् । राजनीति भनेको आफ्नालाई माथि पुर्‍याउने अनि अर्कालाई लडाउने, नातावाद र कृपावादलाई नै राजनीतिको नाम दिइरहे ।

त्यसैले देशका अनगिन्ती समस्याको समाधान अब पासपोर्ट बनाएर, विदेश गएर हैन, बरु सक्षम युवाहरु राजनीतिमा आएर नेतृत्व गर्ने साहस राख्नुपर्छ । प्रत्येक गाउँ-ठाउँबाट हामी जस्ता युवा उठ्न जरुरी छ । आफूले जागिर गरेर कमाइने लाख रुपैयाँको ठाउँमा हजार नै कमाइएला, हजार कमाउने ठाउँमा सय कमाइएला, तर अब देशको विकास गर्न हाम्रो पुस्ताले यहीँ बसेर संघर्ष गर्नुको विकल्प छैन ।

एउटा औषधिले जसरी आफ्नो म्याद रहेसम्म काम गर्छ र म्याद नाघेपछि बेकामे हुन्छ, आजका राजनीतिक दलले पनि आफ्नो म्याद रहुन्जेल केही त गरे । तर, हालको स्थितिमा उनीहरु म्याद गुज्रेका औषधिसरह छन्, जसले केवल बिगार मात्रै गर्छन् । एक्सपायर्ड औषधि नयाँ खोलमा हालेर फेरि नयाँ बन्न सक्दैन । तसर्थ अब औषधि बदल्नुको विकल्प छैन । त्यसैले अब नयाँ उद्देश्य र गन्तव्यका निम्ति नयाँ बाटो अनि नयाँ सोचको थालनी गर्न जरूरी छ ।

राजनीतिमा एउटा सिण्डिकेट छ, जसले प्रदुषण बढाएर यो क्षेत्रलाई नै घिनलाग्दो बनाएको छ । यसैले अहिलेका युवा पुस्ता राजनीतिबाट टाढै बस्न रुचाउँछन् । उनीहरु राजनीतिमा लाग्नु नपरे हुन्थ्यो भन्छन् । किनकि उनीहरुको दिमागमा राजनीति राम्रो मान्छेले गर्ने होइन भन्ने परेको छ । हामी युवाले अब यो सोच बदल्नु जरुरी छ ।

अब परिवर्तनको संवाहक युवा नै हुनुपर्छ । किनकि  देशमा आजसम्म भएका परिवर्तनहरुमा प्रमुख भूमिका युवाकै छ, त्यो चाहे पृथ्वीनारायण शाहको पालामा होस् या अरनिको, भृकुटीको पालामा होस् । फेरि हाम्रो देश युवा बाहुल्य भएको देश हो । करिब ८२ प्रतिशत जनसंख्या ४५ वर्षमुनिको छ । तर, यो वर्गको पहुँच राजनीतिमा छैन ।

राजनीतिमा एउटा सिण्डिकेट छ, जसले प्रदुषण बढाएर यो क्षेत्रलाई नै घिनलाग्दो बनाएको छ । यसैले अहिलेका युवा पुस्ता राजनीतिबाट टाढै बस्न रुचाउँछन् । उनीहरु राजनीतिमा लाग्नु नपरे हुन्थ्यो भन्छन् । किनकि उनीहरुको दिमागमा राजनीति राम्रो मान्छेले गर्ने होइन भन्ने परेको छ । हामी युवाले अब यो सोच बदल्नु जरुरी छ । राजनीति त सक्षम अनि अब्बल मान्छेहरुले नै गर्ने हो ।

आजको प्रदुषित राजनीतिक संस्कारलाई एउटा सभ्य र सुसंस्कृत संस्कारमा परिणत गर्नकै लागि मैले राजनीतिमा लाग्ने निर्णय गरेको छु । आजको युवा पुस्तालाई राजनीतिमा आकर्षण गरेर उनीहरुको बौद्धिकता अनुसार स्थान दिलाएर सँगसँगै अगाडि बढनु छ । नेपालमै बसेर काम गर्ने धेरै सम्भावना छन् भनेर साथीभाइलाई उत्प्रेरित गर्नु छ । यो देशमा केही हुनेवाला छैन भन्दै बसेकाहरुलाई यहाँ राम्रो कुरा धेरै गर्न सकिन्छ भनेर प्रमाणित गर्नु छ ।

तसर्थ देशको सबै समस्याको समाधान गर्नैका लागि एउटा सुसंस्कृत राजनीतिमा लागेर केही गर्ने अठोट लिएको छु । युवा साथीहरुलाई प्रेरित गर्ने प्रयास गर्नेछु । अब पासपोर्टको फारम भर्ने होइन, राजनीतिको ढोका खोल्नेछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment