Comments Add Comment

मोबाइल किन्ने काठमाडौं महानगरको निर्णय खारेज गर्न क्रान्तिकारीको माग

९ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाका सबै जनप्रतिनिधिले राज्य कोषबाट मोबाइल फोन किन्ने निर्णयविरुद्ध माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले काठमाडौंमा विरोध जुलुस निकालेको छ । क्रान्तिकारीले व्यंग्य स्वरुप काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसहितका जनप्रतिनिधिलाई एक रुपैयाँ सहयोग संकलन गर्ने घोषणा पनि गरेको छ ।

काठमाडौं जिल्ला समितिको आयोजनामा अखिल क्रान्तिकारीले शुक्रबार विरोध प्रदर्शन गरेको हो । प्रदर्शनपछि नयाँबानेश्वरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै अखिल क्रान्तिकारीका वरिष्ठ उपाध्यक्ष अनिल शर्माले जनताको करबाट मोबाइल किन्ने निर्णय खारेज हुनुपर्ने बताए । मतदातादाई हावादारी सपना देखाएर निर्वाचन जितेको एमालेको असरी अनुहार काठमाडौं महानगरपालिकाको पछिल्लो निर्णयले उदांगो पारेको टिप्पणी उनले गरे ।

काठमाडौं महानगरपालिकाकोे मेयर विद्यासुन्दर शाक्य एमालेबाट निर्वाचित भएका थिए ।

‘काठमाडौंका जनतालाई स्मार्ट सिटीको नारा दिएर चुनाव जितेकाले स्मार्ट मोबाइल किन्नु मतदातालाई उल्लु बनाउने खेल उदांगो भयो,’ शर्माले भने ।

महानगरपालिकाको हालै बसेको नगर कार्यपालिकाको बैठकले नगर कार्यपालिकाका प्रमुख, उपप्रमुख र सदस्यहरूका लागि कम्तीमा ३० हजार रुपैयाँ पर्ने मोबाइल फोन खरिद गर्ने निर्णय गरेको हो ।

अरु स्थानीय तहमा समेत त्यस्तै गलत निर्णय हुनसक्ने आशंका गर्दै उपाध्यक्ष शर्माले त्यसको निगरानी गर्ने बताए ।

विरोध प्रदर्शनमा सहभागी अखिल क्रान्तिकारीका नेता-कार्यकर्ताहरुले राज्यकोषको ब्रम्हलुट गर्न पाइँदैन, पदाधिकारीलाई मोबाइल किन्ने निर्णय खारेज गर जस्ता नारा लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment