Comments Add Comment

नेपालमा पर्यटन भित्र्याउन स्पेनका गाडीमा नेपालका पोस्टरहरु टाँसिने


२३ जुन, बार्सिलोना । स्पेनको पर्यटकीय शहर बार्सिलोनामा गुड्ने लोकल गाडीहरुमा भिजिट नेपाल लेखिएका पोस्टरहरु टाँसिने भएको छ ।

जुलाई दोस्रो सातादेखि अगष्ट महिनासम्म बार्सिलोनामा गुड्ने चार वटा लोकल बसहरुमा नेपालको पर्यटन प्रवर्द्धनका लागि पोस्टरहरु टाँसिने भएको हो ।

यसका लागि लाग्ने खर्च करिव २ लाख ५० हजार रुपैयाँ ९२ हजार १ सय ९० यूरो यहाँका नेपालीहरुले दुई दिनमा नै संकलन गरेका छन् ।
कार्यक्रमको समन्वय गरिरहेका नेपाल पर्यटन बोर्डका मानार्थ प्रतिनिधि दीपक खरेलले विश्व कै पर्यटकीय गन्तब्य शहर बार्सिलोनाका लोकल गाडीहरुमा नेपालको नाम जोड्न पाउनु सबैका लागि गौरवको बिषय भएको बताए ।

‘संसारभरबाट पर्यटकहरु यहाँ घुम्न आउँछन्,उनीहरुलाई नेपाल पनि घुम्नका लागि प्रेरित गर्नु हाम्रो लक्ष्य हो । स्पेनको नेपाली समुदायको सहयोगले नै यसलाई साकार पार्दै छौ ।’

सामान्यता ४ हजार यूरोसम्म खर्च लाग्ने भए पनि संस्थागत पहल पछि ४० प्रतिशत छुट प्राप्त भएको खरेलले बताए ।

यस अघि ‘नेपाल भ्रमण वर्ष-युरोप २०१७’ को अभियान अन्तर्गत स्पेनिस ट्राभल एजेन्सीका सवारी साधनमा,नेपालीहरुका गाडी,रेष्टुरेन्ट तथा पसलहरुमा पोष्टर टाँस्ने काम सम्पन्न भएको थियो ।

नेपाल पर्यटन बोर्डले ‘नेपाल भ्रमण वर्ष-युरोप २०१७’ को अभियान मार्फत यस बर्ष यूरोपबाट मात्रै २ लाख पर्यटकहरु नेपाल पुर्‍याउने लक्ष्य राखेको छ ।

स्पेनबाट मात्रै बर्षेनी नेपालमा करिव १३ हजार पर्यटकहरु नेपाल पुग्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment