Comments Add Comment

राष्ट्रिय कविता महोत्सवमा चन्द्र रानाहँछा प्रथम (प्रथम र दोस्रो कवितासहित)

९ असार, काठमाडौं । नेपाल प्रज्ञा-प्रतिष्ठानको ६०औं वार्षिकोत्सवको अवसरमा आयोजित राष्ट्रिय कविता महोत्सव ०७४ मा खोटाङका कवि चन्द्र रानाहँछा प्रथम भएका छन् । रानाहँछाको ‘आँधीको यात्रा’ कविता प्रथम भएको हो ।

प्रज्ञा-प्रतिष्ठानमा शुक्रबार आयोजित महोत्सवमा ३२ प्रतियोगी कविहरुले कविता वाचन गरेका थिए । त्यसमध्ये निर्णायकहरुले रानाहँछाको कवितालाई सर्वोत्कृष्ट ठहर्‍याएका हुन् ।

खोटाङ घर भई राजधानी काठमाडौंमा बस्दै आएका रानाहँछाको ‘थिविया चराको गीत’ कवितासङ्ग्रह प्रकाशन भएको छ ।

कविता महोत्सवमा भोजपुरका सुवास राई क्याप्टेनको ‘फरक’ शीर्षकको कविता दोस्रो भएको छ । यस्तै, दाङका दीपेन्द्र उपाध्यायको ‘लोकतन्त्र’, काभ्रेकी उर्मिला कोइरालाको ‘उज्यालोको आत्मकथा’ र काठमाडौंकी अमृता स्मृतिको ‘फूलहरु जान्दैनन् युद्ध गर्न’ कविता तृतीय भएका छन् ।

प्रज्ञा-प्रतिष्ठानले आफ्नो वार्षिकोत्सवको अवसरमा हरेक वर्ष असार ९ गते राष्ट्रिय कविता महोत्सव आयोजना गर्दै आएको छ ।

  • महोत्सवमा प्रथम भएको चन्द्र रानाहँछाको कविता: ‘आँधीको यात्रा …’

हातमा सपनाको फूल
र पाउमा घामको साइत बोकेर
पर्खिरहेछु अाँधीको यात्रा … ।

सखारैदेखि
मेरो बिदाइमा
गाइरहेछन् चराहरु
सुसाइरहेछ खोला
भुर्भुराइरहेछ आगो … ।

मलाई लिन
अँध्याराका सहश्र बाँधहरु भत्काउँदै
आउनेछ आँधी ।
कतै अल्मलिएला भनी बाटो देखाउन
मुस्कुराउँदै
उदाउनेछ जून ।

म हिँडेपछि –
गृहकार्य गरिरहेकी छोरीलाई
सोध्नेछन् अक्षरहरुले
जीवनको सौन्दर्य ।

एक्लै खेलिरहेको छोरालाई
टक्क रोकिएर बतासले
सोध्नेछ समय ।

साँझपख
आँसु पुछिरहेकी मेरी प्रियतमालाई
जलिरहेको मैनबत्तीले
बुझाउनेछ प्रेमको अर्थ ।

जुनबेला म –
गर्जिरहेको मेघ र रिसाइरहेको चट्याङलाई सम्झाउन
सद्भावको गीत गाउँदै छोइसक्नेछु आकाशलाई ।

काँप्नै लागेको भूकम्प र खस्दै गरेको पहिरोलाई छेक्न
उज्यालोको लौरो टेक्दै
पुगिसक्नेछु क्षितिजमा ।

मसँग –
मेरो हत्केला जो छ
मुठी कस्दा पृथ्वी बन्छ
मुठी खोल्दा आकाश खुल्छ ।

आमा !
यै हत्केलामा कोरिएको बाटोले डोर्‍याउँदै
एकदिन –
ल्याइपुर्‍याउनेछ मलाई तिम्रो काखमा ।

***

  • महोत्सवमा दोस्रो भएको सुवास राई ‘क्याप्टेन’ को कविता: ‘फरक’

पहाडकाे चुल्ठाे भरि फुलेकाे
गुराँसकाे रङ
र मधेसकाे मजेत्राे भरि लत्पतिएकाे
रगतकाे रङ

सूर्यकाे तापले पग्लिरहेकाे
हिमालकाे रङ
र अाफ्नै पैतालाकाे प्रेमले पृथ्वीमा उम्रेकाे
पसिनाकाे रङ

फरक छन् रङहरू
तर तिमी भन्छाै – रगत सबैकाे राताे हुन्छ
पसिनाकाे रङ उस्तै हुन्छ ।

जसरी
फर्फराइरहेकाे सबै झण्डा
उचालिएका सबै मुठ्ठी
मुक्तिका लागि
हुन सक्दैनन्
गाइएका सबै गीत
लेखिएका सबै कविता
परिवर्तनका लागि हुन सक्दैनन्
त्यसरी नै
फरक छ तिम्राे र मेराे संघर्ष

हाे तिमी
जुलुशकाे अघि-अघि
फहराउँछाै विजयकाे झण्डा
शहीद मन्च,पार्टी कार्यालय
र जन्माेत्सवहरूमा गाउँछाै गीत

म,
काेदालाे, बेल्चा
र अाफ्नै हात,पाउ शीर,शरीरलाई
बनाउछु झण्डा
भीर पहरा , खेत खलियान
र अाफ्नै असमायिक मृत्युमा गाउँछु जीवनकाे गीत

तिमी भन्छाै
विचारले
दर्शनले
उदेश्यले
हामी दुई छुट्टिनै नसकिने
गाढा राताे भइसक्याैँ
अथवा
गहिराे नीलाे भइसक्याैँ
र भन्छाै –
रगत सबैकाे राताे हुन्छ
पसिनाकाे रङ उस्तै हुन्छ
तर मित्र !
मलाई थाहा छ याे धर्तीकाे दुखकाे सहस्र अनुहार
त्यसैले,
हामी उस्तै-उस्तै देखिए पनि
हामी दुबै गहुँगाेराे देखिए पनि
फरक छ हाम्राे भित्री रङ
फरक छ हामी दुईकाे पसिनाकाे रङ ।

***

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment