+
+

के अब पार लाग्ला नेशनल हाइड्रोपावर कम्पनी ? बोलाइयो साधारणसभा

विजयराज खनाल विजयराज खनाल
२०७४ असार १० गते १:१०


९ असार, काठमाडौं । लगानीकर्ता निर्मल प्रधान र जीतबहादुर श्रेष्ठबीचको आपसी विवादले वर्षौंदेखि समस्याग्रस्त नेशनल हाइड्रोपावर कम्पनीले निकास पाउने झिनो सम्भावना देखिएको छ ।

कम्पनीले आगामी साउन ३१ गते २० औं बार्षिक साधारणसभा डाकेको छ । साधारणसभामा मुख्य प्रस्ताव कुनै अर्को कम्पनीमा विलय हुने वा अर्को कम्पनीलाई आफुमा विलय गराउने गरी सञ्चालकलाई अख्तियारी दिने रहेको छ ।
नेशनल हाइड्रोले सुनकोशी हाइड्रोपावर कम्पनी आफुमा ‘एक्वायर’ गरेर तल्लो इन्द्रावतीको सञ्चालनको लागि नेपाल बिद्युत् प्राधिकरणसँग अनुमती माग्ने तयारी गरिरहेको छ । नेशनलको प्रवद्र्धनमा सन् १९९९ बाट सिन्धुपाल्चोक जिल्लामा ७.५ मेगावाटको इन्द्रावती ३ आयोजना सञ्चालन भइरहेको छ ।यो प्रस्तावको उद्देश्य कम्पनीले यसअघि निर्माण गर्न खोजेर बीचमा समूहगत विवाद लगायतको कारण हातबाट गुमेको सुनकोशी हाइड्रोपावर कम्पनीले प्रवद्र्धन गर्न खोजेको ४.५ मेगावाट क्षमताको तल्लो इन्द्रावती जलविद्युत् आयोजना सञ्चालन गर्नु हो ।

नेसनलका पुर्व सञ्चालकहरु जीतबहादुर श्रेष्ठ, लक्ष्मीबहादुर श्रेष्ठ सम्मिलित एनबी समूहले तल्लो इन्द्रावती निर्माणको लागि भन्दै केही वर्षअघि हकप्रद जारी गरेको थियो । हकप्रद गरेर रकम उठाए पनि सबै रकम लगानी नगरेर व्यक्तिगत प्रयोजनमा समेत रकम प्रयोग गरेर समूहले कम्पनी धराशायी बनायो ।

त्यही समय कम्पनीले जारी गरेकोमध्ये ११ लाख ७८ हजार कित्ता हकप्रद सेयर नक्कली भएको विवाद उठ्यो । सेयर नक्कली नभएको तर एनबी समूहले अर्काको नामको सेयर आफ्नोमा ल्याएको भन्ने कुराहरु पनि आए ।

गुट उपगुट र विभाजन

हकप्रद सेयर नक्कली नै थियो भनेर आवाज उठाउनेहरुमा थिए त्यतिबेला प्रवेश गरेका दुई लगानीकर्ता दिपक कार्की र प्रकाश रजौरे ।
प्रारम्भमा कार्की र रजौरे खुलेरै एनबी समूहको विरुद्धमा लागे । तर, यो समिकरण धेरै समय भने चलेन । कार्की लागे एनबी समूहतिर भने रजौरे लागे निर्मल प्रधानको समूहतिर । प्रधानको कम्पनीमा मात्रै एउटा स्वार्थ थियो कि उनी लक्ष्मीबहादुर श्रेष्ठसँग गरिएको व्यक्तिगत सम्झौताको कार्यान्वयन खोजिरहेका थिए ।

२०६६ साल साउन १ गते लक्ष्मीबहादुर श्रेष्ठ र निर्मल प्रधानबीच व्यक्तिगत ऋण सम्झौता भएको थियो । सम्झौताअनुसार प्रधानले २ करोड रुपैयाँ श्रेष्ठलाई ऋण दिनुपर्ने र श्रेष्ठले धितोको रुपमा नेशनल हाइड्रोपावर कम्पनीको ४ लाख कित्ता सेयर दिनुपर्ने थियो ।
यसपछि श्रेष्ठ र प्रधानबीच एक मात्र नभएर अनेकौ यस्ता सम्झौताहरु चलिरहे । यस्तै सम्झौताको कारण प्रधानको नाममा नेपाल बंगलादेश बैंक र नेशनल हाइड्रोको सेयरसमेत आएको थियो भने त्यससँगै विवाद पनि उब्जियो । नेपाल बंगलादेश बैंकमा रहेको विवाद त धेरै वर्षपछि सल्टियो । तर, नेपाल हाइड्रोपावरमा रहेको विवाद अझै सल्टिएन ।

श्रेष्ठको पछि लागेका कार्कीले अदालतको आदेशअनुसार २० हजार रुपैयाँ जरिवानासमेत तिरे । उनी र श्रेष्ठ समूह अहिले पनि कम्पनीमा अप्रत्यक्ष रुपमा सक्रिय भने छन् ।

यता, प्रधानसँग सामिप्यमा रमाएका रजौरेले संस्थाको सुधारमा केही पहल पनि गरे । यससँगै नयाँ सञ्चालक समिति नै बन्यो, इन्जिनियर कुमार पाण्डेको अध्यक्षतामा । समितिमा रजौरेसहित नयाँ सेयर लगानीकर्ता विश्वेश्वर सुवेदी पनि समावेश भए ।

तर, कम्पनीमा यसैबीच अम्बिका पौडेलको लगानी रहेको कम्पनी हाथवे इन्भेष्टमेन्टको पनि प्रवेश भयो । प्रधान र श्रेष्ठको आपसी विवादले अलग–अलग कार्यालय रहने अवस्था मात्र आएन, पटक –पटक बार्षिक साधारण सभासमेत सरिरह्यो । यही क्रममा सुनकोशी हाइड्रोपावरले निर्माण गर्ने भनिएको तल्लो इन्द्रावती पनि हातबाट गुम्यो ।

कम्पनी सुधार हुन सकेन भन्ने लागेर अहिले पौडेललाई समर्थन गर्दै कम्पनीका अध्यक्ष पाण्डे र सुवेदी त्यतै लागेका छन् ।

के–के सल्टिन बाँकी ?

नयाँ सञ्चालक समिति बनेपछि कम्पनीमा केही राम्रा काम पनि भए सुनकोशी हाइड्रोपावर कम्पनीले बनाउन लागेको तल्लो इन्द्रावती सुरु गर्न अनेकौं प्रयास भए । अहिलेको कम्पनी एक्वायरसम्बन्धि प्रस्तावलाई पनि यसै प्रयासको रुपमा हेर्न सकिन्छ ।

नयाँ सञ्चालक समिति बनेपछि कम्पनीको त्रैमासिक वित्तीय विवरण पनि प्रकाशित भइरहेको छ (चालु आवको तेस्रो त्रैमाशको वित्तीय विवरण भने प्रकाशित हुन बाँकी छ) । कम्पनीले नबिल बैंकमा रहेको ऋण पुर्ण चुक्ता गरेको छ । त्यस्तै, नेशनल हाइड्रको जमानीमा सुनकोशीको लागि लिइएको २० करोड ऋणमध्ये ४ करोड तिरेको छ । कम्पनीले १४.१५ मेगावाटको आयोजना बनाउने गरी लोअर ईखुवा हाइड्रोपावर कम्पनीमा लगानी गरेको छ ।

तर, अहिले फेरी सञ्चालकहरुबीच ध्रुविकरण भएको छ । प्रधान समूहमा समावेश भएका रजौरे साधारण सभा नगराउने मनस्थितीमा रहेको स्रोतहरु बताउँछन् । उनले पुरानै विवाद अगाडी सारेका छन् । उनैको पत्राचारपछि धितोपत्र बोर्डले कम्पनीको सेयर कारोबार रोकेको ती स्रोतको दाबी छ ।

तर, रजौरेले भने जस्तो नक्कली सेयरको अवस्था के हो भन्ने अहिले कोहीसँग पनि उत्तर छैन ।

१ करोड ३८ लाख कित्ता सेयरमा कम्पनीको १ करोड १८ लाख कित्ता सेयर डिम्याट (विद्युतीय अभिलेख वा अभौतिकीकिकरण) भइसकेको छ । २० लाख कित्ता सेयर डिम्याट नभएको देखिन्छ ।

यसमध्ये ५० हजार कित्ता सेयरमा भने किचलो कायमै छ । प्रधान र श्रेष्ठबीचको सम्झौताको कारण करिब ३५ हजार कित्ता सेयर लगभग फ्रिज भएर बसेको छ । १५ हजार कित्ता सेयरमा सेयरको प्रमाणपत्रको सिरियल नम्बर नमिलेको भन्ने कुरा आउने गरे पनि गुनासो लिएर कम्पनीमा भने खासै कोही पुगेका छैनन् । १५ हजार मध्ये २ हजार कित्ता सेयर लिएर भने केही लगानीकर्ता कम्पनीमा पुगेका थिए । तर, अहिले ती पनि गुनासो सुल्झाउन कम्पनी आउन छाडिसकेका छन् ।

कागजी प्रमाणपत्रको रुपमा रहँदा सिरियल नम्बर नमिलेको भनिएका सेयर पनि कारोबारमा आउने गरेको एक सञ्चालक बताउछन् । कम्पनीको चुक्ता पुँजीभन्दा बढिको सेयर पनि नदेखिएको ती सञ्चालकको दाबी छ ।

अबको बाटो

कम्पनीको यसपटकको साधारण सभा नरोकिनेमा अध्यक्ष पाण्डे लगायतको समूह आश्वस्त देखिएको छ ।

‘निर्मल प्रधानसँग बढिमा छ लाख कित्ता र एनबी समूहसँग बढिमा १५ लाख कित्ता सेयर रहेको छ, यसले गर्दा बाँकी रहेका सेयरको आधारमा सभा चलाउन कोरम पुग्ने देखिन्छ,’ ती सञ्चालकले भने । कम्पनी सधै अनिर्णयको बन्दी बनेको र कम्पनीमा सुधारमा काम भइरहेकोले पनि यसपटक सभा पनि हुने र लगानीकर्ता सहभागी पनि हुने उनको आशा छ । कम्पनीले सभामा ७ जना सञ्चालकको समेत चयन गर्नेछ ।

यसपछि कम्पनीमा प्रवेश गरेर भुमिका खोजिरहेको नयाँ समूहको हातमा नेतृत्व आउँछ वा आउदैन ? नेतृत्व हातमा आए कति फलदायी हुनेछ, त्यसबाट नै कम्पनीको भविष्य निर्धारण हुने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?