Comments Add Comment

अस्थायी शिक्षकलाई दुबै हातमा लड्डू ! जाँच दिनुस्, फेल भए ‘गोल्डन हृयाण्डसेक’

९ असार, काठमाडौं । सरकार र आन्दोलनरत अस्थायी शिक्षककबीच शिक्षा ऐन संशोधनसहित चारबुँदे सहमति भएको छ । यो सहमतिसँगै अस्थायी शिक्षकहरुको जारी आमरण अनसनसहित आन्दोलनका सबै कार्यक्रम फिर्ता भएको छ ।
सबै अस्थायी शिक्षकलाई आन्तरिक परीक्षामा सहभागी हुन मौका दिने र परीक्षामा फेल भएका शिक्षकलाई गोल्डेन हृयाण्डसेक दिने गरी ऐन संशोधन गर्ने सहमति छ ।उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठको उपस्थितिमा भएको वार्तामा भएको सहमति कार्यान्वयन भएमा अस्थायी शिक्षकलाई दुबै हातमा लड्डू भने झै हुनेछ ।

सम्झौतामा भनिएको छ, सबै अस्थायी शिक्षकलाई परीक्षामा सहभागी हुन मौका प्रदान गरी परीक्षामा सफल हुन नसकाका शिक्षकको हकमा शिक्षा ऐनको आठौं संशोधनले गरेको व्यवस्था अनुसारको सुविधाका अतिरिक्त औषधि उपचार खर्च समेतको व्यवस्ता गर्न शिक्षा ऐनमा संशोधन गर्ने प्रक्रिया तत्काल अगाडि बढाउने ।’

हाल शिक्षा ऐनमा परीक्षा वा गोल्डेन हृयाण्डेसक मध्ये एक रोज्नु पर्ने व्यवस्था छ । र, आन्तरिक परीक्षामा सामेल भएकाहरु असफल भए हृयाण्डेसक पाउँदैनथे ।

मन्त्रालयका प्रवक्ता हरि लम्सालले भने, ‘ऐनमा परीक्षा वा गोल्डेन हृयाण्डसेक एक रोज्नु पर्ने थियो । अब उहाँहरुको माग अनुसार परीक्षा दिने र असफल भए उपचार खर्चसहित गोल्डेन हृयाण्डेसक पाउने भएका छन् ।’

यस्तै अन्तरिकतर्फको विज्ञापन संख्या समायोजनबारे अध्ययन गर्न कार्यदल गठन गर्ने सहमति भएको छ । २०६१ असार २२ देखि २०७२ असोज २ सम्मको कुल दरबन्दीको ४९ प्रतिशत आन्तरिक र ५१ प्रतिशत खुला प्रतिस्पर्धा हुने व्यवस्था छ । तर, अस्थायी शिक्षकहरुले आन्तरिकतर्फको प्रतिशत बढाउन माग गरेका छन् । कार्यदलले १५ दिनको समयाअवधी पाउने छ ।

शिक्षक विज्ञापनको पाठ्यक्रम, प्रश्नपत्र ग्रीड र परीक्षा लगायतमा सुधार गर्न गृहकार्य गर्ने सहमति पनि सरकार र आन्दोलनरत अस्थायी शिक्षकहरुबीच भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment