Comments Add Comment

त्रिभुवन विमानस्थलमा आगो लागेको नाटक, यसरी गरियो ‘उद्धार’

९ असार काठमाडौं । शुक्रबार अपरान्ह ४ बजेर ४० मिनेट जाँदा त्रिभुवन विमानस्थलमा माइकिङ गर्दै १ सय ६८ यात्रु बोकेको ए ३३० जहाजका दुबै इञ्जिनले काम नगरेकोे जानकारी दिइयो । इमर्जेन्सी ल्याण्ड गर्नपर्ने भन्दै नजिकैको दमकल, अस्पताल, सेना र प्रहरीलाई पनि सबैलाई खबर गरियो ।

४ बजेर ४५ मिनेट जाँदा त्रिभुवन विमानस्थलमा एकाएक आगोको मूस्लो निस्कियो । लहरै दमकल आए, दमकलका पछिपछि तीन चारवटा एम्बुलेन्स पनि पछि लाग्दै थिए । सेना प्रहरी सबै जना हतार हतार उद्दारमा खटिए ।

एकैछिनमा हेलिकोप्टर पनि आयो । थिमी नगरपालिकाको एम्बुलेन्ससहित घटनास्थलमा ५ वटा एम्बुलेन्स जम्मा पारेर आगो निभाइयो ।

‘घाइतेहरु’ ऐया ऐया गर्दै थिए । सेना प्रहरी सबै घाइतेहरुको उद्धार गर्न व्यस्त थिए । चिकित्सक तथा नर्सहरु पनि इर्मेजेन्सी उपचारमा खटिए । केहीलाई उपचारका लागि हेलिकोप्टर मार्फत ग्रान्डी अस्पताल पुर्‍याइयो ।

करिब आधा घन्टा विमानस्थलको उडान पनि प्रभावित भयो । यति ठूलो भयाबह दृश्य देख्दा पनि पत्रकारहरु भने कुनै हतारोमा थिएनन् । किनकि यो वास्तविक दुर्घटना नभई त्रिभुवन विमानस्थलमा भएको एक नाटकिय अभ्यास मात्रै थियो ।

त्रिभुवन विमानस्थल कार्यालयका प्रमुख देवानन्द उपाध्यायका अनुसार प्रत्येक दुई वर्षमा यसखालको अभ्यास गर्नुपर्दछ । दुर्घटना हुँदा के कसरी उद्दार गर्ने भनेर यो अभ्यास गरिन्छ । यसलाई ‘फूल स्केल इमर्जेन्सी एक्सरसाइज’ भनिन्छ, जुन अन्तर्राष्ट्रिय मान्यताप्राप्त बिमानस्थलले प्रत्येक दुई वर्षमा गर्नुपर्छ ।

आइकाओको नियमअनुसार प्रत्येक २ वर्षमा अन्तरराष्ट्रिय मान्यताप्राप्त विमानस्थलहरुले यस्तो अभ्यास गर्नुपर्छ । शुक्रबार एक प्लेनको डमी बनाएर आगो लगाएर उक्त विमानमा रहेका यात्रुको उद्धार गर्ने प्रयास गरिएको हो ।

तर, प्लेनको डमी यसरी बनाइएको थियो, पेट्रोल छर्किदा पनि आगो लगाएन । बाँसका भाटा प्रयोग गरेर बनाइएको टनेललाई प्लास्टिकले बेरेर प्लेनको आकार दिइएको थियो ।

अभ्यासअनुसार बिमानस्थलमा कुनै दुर्घटना भए आफूहरु तत्काल उद्दार गर्न र आगो नियन्त्रण गर्न सफल रहेको देखिएको बिमानस्थल प्रमुख उपाध्याय बताउँछन् । उनले भने, ‘यो अभ्यासबाट अब हामीले कुन कुन ठाउँमा कमजोरी छ र कहाँ सुधार्न पर्छ भन्ने पनि थाहा पायौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment