Comments Add Comment

प्रिय पाँच: ‘महाभारत’ देखि ‘माधवी’ सम्म

सदाबहार कथा भएको ‘महाभारत’ 

यसमा भएका जति पनि पात्र छन्, सबै प्रमुख छन् । सबैको भूमिका उत्तिकै महत्वपूर्ण छ । पात्रहरुबीच एक–अर्काको सम्बन्ध र भूमिका सिक्री जसरी गाँसिएको छ । एक–अर्कासँग सम्बन्धित भए पनि पात्रहरु आफैंमा पूर्ण छन ।

हरेक घर, व्यक्ति, सम्बन्ध, समाजभित्र हिजो पनि महाभारत थियो, आज पनि महाभारत छ र भोलि पनि महाभारत हुने नै छ । यसको कथा न नयाँ छ, न त पुरानो नै छ । राजनीति, कूटनीति, राज्य सञ्चालन, धर्म, दर्शन जस्ता समाजसँग प्रत्यक्ष सरोकार राख्ने विषयहरुलाई उच्चतम ढंगले प्रस्तुत गरिएको छ । आख्यान लेख्नेहरुको लागि झनै गजब छ ।

अहिलेको राजनितिक परिवेशमा समाजलाई सम्मुन्नत बनाउँछु भन्नेहरुले महाभारत पढ्नैपर्छ ।

आत्माको लागि अक्सिजन ‘गीता’

यो पवित्र पुस्तक मेरो प्रिय छ । गीताको बारेमा म के बोलुँ ? बोल्नै सक्दिनँ । यो महान् ग्रन्थ म जति पढ्दै जान्छु, त्यति नबुझ्दै जान्छु । त्यही नबुझ्नको लागि पनि म पढ्छु । जब मलाई बेचैनी हुन्छ, तब म गीता पढ्छु र आनन्द महसुुस गर्छु ।
गीताका हरेक श्लोकहरुले हामीभित्रको मान्छेलाई ब्युँझाउन बोलिरहे जस्तो लाग्छ । जसरी अक्सिजनले हाम्रो जैविकताको लागि टेको दिएको हुन्छ, त्यसैगरी अध्यात्म र दर्शनले हाम्रो आत्मालाई प्राण भर्छ ।
केही जान्ने र सिक्नको लागि मभित्र तिर्खा छ । त्यो तिर्खा अज्ञानताको एउटा गहिरो तलाउभित्र छ । त्यो तलाउ पुर्नको लागि जानी–नजानी म गीता पढ्छु । यकिन गरेर भन्न नसके पनि मलाई चाहिएको जति बुझ्छु । समुद्रको पानी टाउकोमा अचाए पनि, अञ्जुलीमा भरे पनि समुद्र या नदीले केही भन्दैन । सायद गीताको अथाह रुप पनि यही समुद्र या नदीको जस्तो होला ।

‘मर्फी’ भित्रका हामी

स्यामुयल बेकेटका प्रायः लेखन मलाई मनपर्छ । त्यसमध्येमा पनि मर्फी उपन्यास गजब लाग्छ । मलाई लाग्छ, मर्फी उसको जीवनको खतरनाक हिरो हो । हरेक मान्छेभित्रको जिउँदो जाग्दो अर्को मान्छे हो, मर्फी । ऊ नाङ्गै बन्छ । गलबन्दीले सम्पूर्ण जिउलाई कुर्सीमा बाँधेर अँध्यारो कोठाभित्र कुर्सी घ्यार्र घिसार्दै वारपार गरेर दिन बिताउँछ ।

खासमा हामी सबै मर्फी हौं । मर्फीले वल्लो कुनो र पल्लो कुनोसम्म कुर्सी घिसारे झैं हामीले आफूभित्रको अँध्यारोभित्र अनेकौं कामको बहानामा आफूलाई घिसारिरहेका हुन्छौं । गहिरिएर विचार गर्ने हो भने केवल हामी काल पर्खिने मेलो मात्र गरिरहेका हुन्छौं र मर्फी बनिरहेका हुन्छौं ।

प्राकृतिक स्वभावबारे बोल्ने ओशोका पुस्तक

ओशोका पुस्तकहरु मैले जति पढेकी छु, सबै मन परेका छन् । हामी आफ्ना विशिष्ट प्राकृतिक स्वाभाव लिएर आएका प्राणी हौं । हामीलाई सामाजिक बन्धनभित्र र सभ्यताको नाममा निकै खुम्चिएर बाँच्नुपर्ने बाध्यता छ । हाम्रा प्राकृतिक स्वभावलाई मारेर यो समाज कृत्रिम स्वभावको पक्षमा वकालत गर्छ । तर, ओशोका किताबहरुले हाम्रा प्राकृतिक स्वाभावका बारेमा खुलेर बोलिदिने हुनाले मलाई ती मन पर्छन् ।

असली पाठक साबित गर्ने ‘माधवी’

मदनमणि दीक्षितका पनि प्रायः किताबहरु मनपर्छन । अहिलेसम्म उनका १७ वटा किताब पढ्न भ्याएकी छु । त्यसमध्येमा विशिष्ट र बृहत् किताब हो माधवी । सुरुमा पढ्दा खासै बुझिनँ । नबुझेर नै मलाई पढ्न प्रेरित गरिरह्यो । सायद पढ्नासाथ बुझेको भए अरु किताब जस्तै फेरि–फेरि पढ्ने थिइनँ ।
बल्लबल्ल चौथो झम्टाइमा माधवी छिचोल्न सकेँ । मलाई पढ्नै यति गाह्रो लाग्यो भने लेख्न कसरी सकेको होला भनेर चित खान्छु । केही सिक्न र लेख्ने प्रेरणा जगाउन मलाई माधवीले ठूलो ऊर्जा दिन्छ । माधवी पढ्न सक्ने मान्छे असली पाठक बन्छ भन्छन् । असल पाठक बन्नको लागि पनि माधवी मेरो विशेष किताबभित्र पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment