Comments Add Comment

देउवाको गृहजिल्ला डडेल्धुरामा चुनावी सरगर्मी बढ्यो

१० असार, डडेल्धुरा । दोस्रो चरणअन्तर्गत स्थानीय तह निर्वाचनको समय नजिकिँदै जाँदा डडेल्धुरामा चुनावी सरगर्मी ह्वातै बढेको छ ।

असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि दलहरुले चुनावी सभा, नाचगान, घरदैलो र मतदातसँग प्रत्यक्ष भेटघाट अभियानलाई तीव्रता दिइराखेका छन् । दलका नेता तथा कार्यकर्ताले आ–आफ्ना पार्टीका गीत बजाउँदै घर घरमा गई आ–आफ्ना एजेन्डासहित भोट माग्नमा व्यस्त देखिन्छ ।

उनीहरुले विकासका मुद्दालाई पहिलो प्राथमिकतामा राखेर मतदातालाई आफ्नो पक्षमा पार्नका लागि घरदैलो अभियान महत्वका साथ गरिरहेको नेपाली काँग्रेसबाट अजयमेरु गाउँपालिकाकाका उपाध्यक्ष पदका उम्मेदवार कमला विष्टले बताए ।
स्थानीय तहको निर्वाचनका लागि डडेल्धुरामा १३ वटा राजनितिक दल दर्ता भएका छन् । तीमध्ये आठ राजनीतिक दलले मात्र चुनावी प्रतिस्पर्धामा सहभागी भएका छन् । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरवहादुर देउवाको गृह जिल्ला भएकाले पनि कांग्रेसले यहाँका अधिकाँश स्थानीय तहमा विजय हासिल गर्ने लक्ष्यका साथ अगाडी बढेको छ भने नेकपा एमाले पनि २०५४ सालको इतिहास दोहर्याउने दाउमा लागि परेका छन् ।

त्यस्तै नेकपा माओवादी केन्द्रले पनि डडेल्धुरामा पार्टीका उम्मेदवारलाई विजयी बनाउने अभियानमा लागेका छन् भने अन्य साना दलले पनि आफ्नो पक्षमा मत पार्नका लागि मतदाताको घरदैलो अभियानमा व्यस्त रहेको देखिन्छ ।

जिल्लाका ग्रामीण क्षेत्रसम्म सडकको पहुँच भएकाले दल र त्यसका उम्मेदवारले यातायातका सवारी साधनमा आफ्नो पार्टीको झन्डा, चुनाव चिन्ह र माइकलगाएर प्रचारप्रसार गरिरहेका छन् । लामो समयसम्म विकास हुन नसकेकाले अव विकास गर्नसक्ने सक्षम उम्मेदवारलाई मात्रै मतदान गर्ने अमरगढी नगरपालिकाका मतदाताको भनाइ छ ।

मतपत्र, मतपेटीकालगायत निर्वाचन सामग्रीसहित कर्मचारी आफूलाई खटाइएको मतदानस्थलमा जान सुरु गरेका छन् । आजसम्म सम्पूर्ण मतदान केन्द्रमा कर्मचारी पुगिसक्ने मुख्य निर्वाचन अधिकृत देवकुमार गिरीले बताए ।
निर्वाचनको मिति नजिकिएसँगै जिल्लाका सुरक्षा व्यवस्थालाई समेत कडा पारिएको छ । सुरक्षाको दृष्टिकोणले अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा मतदानस्थललाई विभाजन गरी सोहीअनुसार सुरक्षा निकायलाई परिचालन गरिएकाले ढुक्कसँग मतदान गर्न डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले सबै मतदातामा आग्रह गरे ।
दुई नगपालिका र पाँच गाउँपालिका रहेको डडेल्धुरामा ७७ मतदानस्थल र ११० मतदान केन्द्र रहेका छन् । जसमा निर्वाचन प्रयोजनका लागि ८६९ कर्मचारी खटाइएको छ । ५२ वडा रहेको डडेल्धुरामा २७४ पदका लागि निर्वाचन हुँदैछ । निर्वाचनबाट दुई नगर प्रमुख, दुई उप प्रमुख, पाँच गाउँपालिका अध्यक्ष, दुई उपाध्यक्ष, ५२ जना वडा अध्यक्ष र दुई सय आठ जना वडा सदस्य निर्वाचित हुने छन् ।

कुल ७५ हजार ७८० मतदाता रहेको डडेल्धुरामा ३८ हजार ५२६ महिला र ३७ हजार २४५ पुरुष मतदाता छन । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment