Comments Add Comment

उम्मेदवारविहीन तिङलाबासी भन्छन्ः प्रदेश र केन्द्रमा पनि ‘नो भोट’

टिम्बुरबोटेदेखि तिङला विद्रोहसम्म

१० असार, तिङ्ला (सोलुखुम्बु) । शनिबार बिहान साढे ८ बजे कुहिरोले घुम्टो खोलेपछि तिङ्लामा घामका किरण छिरिसकेका थिए ।

गाउँ प्रवेश नगर्दै सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका वडा नं. ८ टाप्टिङमा विभिन्न दलका झण्डा र उम्मेदवारका फोटोसहित ब्यानरहरु टाँगिएका भेटिए (तस्वीर १ हेर्नुस्) । तर, तिङ्लाको प्रवेशद्वार बेलीडाँडामा न झण्डा थिए, न त कुनै चुनाव प्रचार सामग्री नै ।

सधैंजसो भीडभाड हुने बेलीडाँडा सुनसान थियो । सडक छेउमा निकासीका लागि राखिएका सल्लाका गोलिया ट्रकमा चढाउन केही युवा व्यस्त थिए । सडक छेउमा हिँड्दै गरेका साविक तिङ्ला गाविस ६ का रामकाजी कार्की हामीसँग कुराकानी गर्न तयार भए ।

कार्कीले चुनाव बहिस्कारको विषय संघीयताले नागरिकलाई सेवा दिनु पर्ने भए पनि सास्ती दिएपछि गाउँमा आन्दोलन शुरु भएको बताए । आफूहरु चुनाव बहिस्कारसम्मको आन्दोलनमा पुग्नु दुर्भाग्य भए पनि यहाँका मतदाता ‘नो भोट नो क्यान्डिडेट’ को आन्दोलनमा उत्रिएको उनले बताए ।

संसदीय निर्वाचनसम्म नो भोट !

बेलीडाँडाबाट अघि लागेपछि रमितेमा पुग्दा ७४ वर्षीय लक्ष्मण कार्की गाईबस्तु पाखामा लगाएर टहलिँदै थिए । उनलाई सोधियो- ‘बा कति वर्ष हुनुभयो ?’ प्रश्न भुइँमा खस्न नपाउँदै उनी जिस्किए- ‘कति हुनु र, त्यही ३०-३५ भएँ होला ।’

हामीले पत्रकार हौं भनेर परिचय दिएपछि उनी कुरा गर्न राजी भए ।

चुनाव बहिस्कारको कुरा झिक्नासाथ हजुरबाले भने- ‘हामी भोट हाल्दैनौं, किनभने नेचा-सल्यान हामीलाई पायक पर्दैन ।’
भोट नहालेपछि नेता कसलाई मान्ने त ? हाम्रो प्रश्नमा उनले चुनावै नभएपछि कोही पनि नेता नहुने बताए । नेताले गाउँ बिगारेको भन्दै उनले गुनासो पोखे ।

अनि यसरी निर्वाचनमा भाग नलिँदा ‘विकास पछि पर्दैन त ?

हामीले यस्तो प्रश्न गर्नासाथ उनले जंगिँदै भने- ‘नभए हुँदैन !’

बेलीडाँडाबाट करिब १० किलोमिटर हिँडेपछि यहाँका पाँच मतदानस्थलमध्येको एक भीमसेनस्थान माविमा पुगियो ।

मतदानस्थल तोकिएको विद्यालय सूचना टाँसेर बन्द गरिएको थियो । विद्यालयको हाताभित्र रडहरु छरिएका थिए (हेर्नुस् तस्वीर २) । मतदानस्थल सुनसान थियो ।

भर्खरै सुरक्षाकर्मीसहित निर्वाचन आयोगका कर्मचारीहरु विद्यालयमा आइपुगेका थिए । कर्मचारीहरु भेटिएनन् । विद्यालयमा भेटिएका एकजना सुरक्षाकर्मीले बिहान कर्मचारी आइपुगेको र मतदान अधिकृत बाहिर गएको बताए ।

मतदानस्थल नजिकै पुग्दा नेपाली कांग्रेसका तिङ्ला सभापति नैनबहादुर कार्की भेटिए । शुरुमा उनले आफूलाई पूर्वशिक्षक भनेर चिनाए । गाउँबासीको आन्दोलनबारे सोध्दा उनले अन्यायमा परेपछि न्याय खोजेको भनेर टिप्पणी गरे । सांसद, सरकार, आयोग कसैले पनि तिङ्लाबासीका माग नसुनेको र स्थानीय स्तरको सिफारिस आयोगले लत्याएको हुनाले आफूहरुले संवैधानिक अधिकार सहजरुपमा पाउन आन्दोलन गरेको दाबी गरे ।

आफ्नै पार्टी नेपाली कांग्रेसका सांसद बलबहादुर केसीको भूमिका गाउँबासीको मर्म विपरीत भएको भन्दै आफूले कारवाही भोग्न परे पनि यो आन्दोलनबाट पछि नहट्ने कार्कीले बताए ।

माग पूरा नभएसम्म स्थानीय तह होइन, प्रदेश र संघको निर्वाचनमा समेत ‘नो भोटः नो क्याण्डिडेट’ अभियान जारी राख्न तिङ्लाबासी एकजुट बनेको कार्कीले अठोट गरे ।

कांग्रेसबाहेक अन्य दलका नेताहरु भने मतदान केन्द्रमा भेटिएनन् ।

संगै रहेको साविक गाविस कार्यालयमा भूकम्प पीडितहरु अनुदान लिन सम्झौता पत्र बोकेर भीड लागेका थिए । चुनाव बहिस्कारपछि किसानहरु भने घर निर्माण र खेतीपातीमा व्यस्त रहेछन् । यहाँ भेटिएका मतदाताहरुले आफूहरु असार १४ गतेको मतदानमा सहभागी नहुने बताए । उनीहरुलाई चुनावसँग कुनै साइनो छैन । चुनावमा भोट पनि नहाल्ने र उम्मेदवारी पनि नदिएकाले सबैको एकै स्वर छ ।

के हो ? तिङलाबासीको माग ?

स्थानीय तह पुनः संरचना गर्दा जिल्लाको प्राविधिक सहयोग समितिले साविकको तिङला गाविसलाई सोलु दूधकुण्ड नगरपालिकामा राख्न सिफारिस गरेको थियो । स्थानीयको ईच्छा र माग पनि यही थियो ।

तर, पछि सीमांकन गर्ने क्रममा यो गाविस दूधकुण्डमा मिसाइएन र नेचा सल्यान गाउँपालिकामा समावेश गरियो । दूधकुण्ड नगरपालिकामा केन्द्रमा जान तिङलाबासीलाई जति सहज छ, नेता सल्यान उत्तिकै विकट छ ।

आफूहरुको भावना विपरीत पुनर्संरचना गरेर अन्याय गरिएकोमा गुनासो गर्दै आएका तिङलाबासीको आवाज कसैले सुनेन । यही आक्रोशमा गाउँबासीले असार १४ को चुनावमा उम्मदेवारी नै दिएनन् र भोटसमेत नहाल्ने बताइरहेका छन् । वडामा त कसैको उम्मदेवारी नै छैन । तर, गाउँपालिका अध्यक्ष र उपाध्यक्षका लागि त्यहाँ निर्वाचन कार्यालयले ढ्वाङ थाप्ने प्रयास गरिरहेको छ । गाउँबासीहरु भने एकै भोट पनि नहाल्ने भन्दै एक ढिक्का छन् ।

आफूहरुले चुनाव बहिस्कार गर्न नचाहेको तर सरकारले गाउँबासीको आवाज नसुनेका कारण यस्तो अपि्रय निर्णय गर्नुपरेको गाउँलेहरु बताउँछन् ।

तिङ्लाबासीले आन्दोलन शुरु गर्दा विकल्पसहितको आन्दोलन थालेका थिए । उनीहरुको पहिलो माग सदरमुकामको नगरपालिकामा रहन पाउनुपर्ने थियो ।

त्यसको विबल्पमा उनीहरुले नेचामै राख्ने भए गाउँपालिकाको केन्द्र तिङ्ला नै हुनुपर्ने माग राखेका थिए । त्यो पनि नभए संविधानले व्यवस्था गरेअनुसार स्वायत्त तिङ्ला गाउँपालिका बनाउन माग गरेका थिए । २ हजार ४ सय ७६ मतदाता रहेको यो गाविसलाई दुईवटा वडा बनाउन उनीहरुले दबाव दिएका थिए ।

तर, यी कुनै माग सुनुवाइ नभएपछि तिङ्ला स्वायत्त गाउँपालिका संघर्षसमिति बनाएर उनीहरुले आन्दोलन थाले । बालकुमार कार्कीको संयोजकत्वमा गठित समितिले चैत ३ गतेदेखि सरोकारवाला निकाय, निर्वाचन आयोग, स्थानीय विकास मन्त्रालय सबै ठाउँमा ध्यानाकर्षण गराए । छिमेकी गाउँ नेचा सल्यानका सांसद बलबहादुर केसीले थाहा नपाएझैँ गरेपछि उनीहरु थप आक्रोशित भए ।

बलबहादुरको बल, ९ जना गाउँबासी अझै थुनामा

गत बैशाख १० गतेदेखि एक हप्ता सडक बन्द गरेर आन्दोलन गरे पनि उनीहरुका माग सुन्न कोही तयार भएनन् । अन्ततः उनीहरुको आन्दोलन ‘नो भोट, नो क्यान्डिडेट’ सम्म आइपुग्यो ।

यसमा बलबहादुर केसीको नाटकीय बल प्रयोगले आगोमा घ्यू थप्ने काम गरेको गाउँबासीको गुनासो छ । यति लामो आन्दोलन थाहा नपाएझैं गरेका केसी मनोनयनको अघिल्लो दिन सुटुक्क तिङ्ला आएका थिए ।

केसीले संघर्ष समितिका सचिव टंकबहादुर कार्कीलाई भेटेर मनोनयन दर्ता गराउन राजी गराई साथै लगेको थाहा पाएपछि गाउँलेले कार्कीलाई बाटैबाट नियन्त्रणमा लिए । केसीले आफुमाथि हातपात भएको र उम्मेदवार अपहरणका आरोपमा प्रहरी बोलाएर संघर्ष समितिका ९ जना पदाधिकारीहरुलाई थुनाए ।

वडा अध्यक्षमा एक जना टंकबहादुर कार्कीको मात्र मनोनयन दर्ता गराई निर्विरोध अध्यक्ष बनाउने केसीको योजनामा अवरोध आएपछि वारेस मार्फत उनले मनोनयन गराए । तर, यो थाहा पाएपछि अन्य स्वतन्त्र दुईजनाले समेत मनोनयन दर्ता गरे । कार्कीको वारेसमा रीतपूर्वक नआएको दाबी पर्‍यो र केसीका उम्मेदवारको मनोनयन दर्ता खारेज भयो । त्यसपछि अन्य दुईजना स्वतन्त्रले पनि उम्मेदवारी फिर्ता लिए । जसले गर्दा अहिले तिङला गाउँ उम्मेदवारविहीन बनेको छ ।

अहिलेसम्म पनि प्रहरीले संघर्ष समितिका संयोजक बालकुमार कार्की, सहसंयोजक रामकुमार राई र माओवादी केन्द्रका कार्यकर्ता ललितकुमार कार्कीलाई सार्वजनिक मुद्दा चलाएर हिरासतमा राखेको छ । यो घटनाबाट तिङ्लाबासी थप आक्रोशित छन् ।

कसरी भयो अन्याय ?

ओखलढुंगाको सिद्धिचरण नगरपालिकाको सीमानामा रहेको टाप्टिङको भूभाग सोलुदूधकुण्ड नगरपालिकामा राखिएको छ । त्यहाँबाट सल्लेरीतर्फ झण्डै १० किलोमिटर हिँडेपछि पुगिने सल्लेरीसँग नजिक रहेको तिङ्लालाई भने दुर्गम नेचा सल्यान गाउँपालिकामा राखिएको छ ।

तिङ्ला वरिपरिका सबै गाविसहरु नगरपालिकामा छन् भने यो गाउँचाँहि नेचा सल्यान गाउँपालिकामा समावेश छ । यसको केन्द्रसम्म पुग्न ५ घण्टा हिँड्नुपर्छ भने सदरमुकाम एक घण्टामै पुगिन्छ ।

संघीयता र स्थानीय तह पुनः संरचनाको उद्देश्य घर छेउमै सेवा पाउनु भए पनि चुनावमा जित हारको अंकगणितका आधारमा तय भएका यस्ता सीमांकनबाट नागरिकले सास्ती पाएको तिङलाबासीको गुनासो छ ।

टिम्बुरबोटेदेखि तिङला विद्रोहसम्म

सोलुखुम्बुको राजनीतिमा सल्यानका बलबहादुर केसीको उदय हुनुपूर्व तिङलाले शासन गर्दै आएको गाउँलेहरु बताउँछन् ।
पञ्चायत कालमा ०३५ सालमा यहीँका टेकबहादुर कार्की जिल्ला पञ्चायतका सभापति भएका थिए । त्यसपछि पनि दत्तसिंह कार्की र केशरबहादुर राई यही गाउँबाट जिल्ला पञ्चायत सदस्य भए । अहिले काठमाडौंमा परिचित राजनीतिक विश्लेषक अनारसिं कार्की यहीँका बासिन्दा हुन् ।

नेपाली कांग्रेसको नेतृत्वमा भइरहेको सशस्त्र आन्दोलन दबाउन टिम्बुरबोटे काण्ड भयो ।

तत्कालीन पञ्चायती व्यवस्था विरुद्ध भएको संघर्ष दबाउने क्रममा पञ्चायती शासकहरुले तिङलाको टिम्बुरबोटे जंगलमा ०३१ साल पुस १ गते १३ जना योद्धाको एकै ठाउँमा हत्या गरेको थियो ।

प्रजातान्त्रिक योद्धा क्याप्टेन यज्ञबहादुर थापालाई त्यहीँबाट पक्राउ गरिएको थियो, पछि उनलाई मृत्युदण्ड दिइयो । सो काण्डमा यातना भोगेका जीवित तिङलाबासी दत्तसिंह र केशरबहादुर अझैसम्म सक्रिय छन् ।

यसरी पञ्चायत विरोधी आन्दोलनमा चरम दमन व्यहोरेको तिङला अहिले फेरि गणतन्त्रकालमा पनि शासकहरुलाई आफ्ना आवाज सुनाउन ‘नो भोट, नो क्याण्डिडेट’ को आन्दोलनमा उत्रन बाध्य छ ।

पूर्वको ‘थवाङ’ भनेर पहिचान बनाएका तिङ्लाबासीको आन्दोलनले शान्तिपूर्ण जनविद्रोह कस्तो हुन्छ भनेर शासकहरुलाई सन्देश दिन खोजेको छ । अब यसको समाधान खोजिएन भने असार १४ को चुनावमात्रै होइन, अरु चुनावमा पनि भोट नदिने गाउँबासीले पत्रकारको टोलीलाई बताए ।

 

तस्वीर १ः सोलु दूधकुण्ड नगरपालिका वडा नं. ८ टाप्टिङमा विभिन्न दलका झण्डा र उम्मेदवारका फोटोसहित ब्यानरहरु

पाँच मतदानस्थलमध्येको एक भीमसेनस्थान मावि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment