Comments Add Comment

मतदाता परिचयपत्र वितरण आजबाट, ६६ हजार ९०० कर्मचारी परिचालन

११ असार, काठमाडौं । असार १४ गते हुने स्थानीय चुनावका लागि आइतबारबाट मतदाता परिचयपत्र वितरण सुरु गरिँदैछ । मतदाताहरुले असार ११, १२ र १३ गते सम्बन्धित मतदान केन्द्रबाट परिचयपत्र लिन सक्नेछन् ।

दोस्रो चरणमा चुनाव हुन लागेका प्रदेश नम्बर १, ५ र ७ का ३३४ स्थानीय तहमा ६४ लाख ३२ हजार ७६५ जना मतदाता छन् ।

मतदाता परिचयपत्र लिन जाँदा मतदाताले आफ्नो परिचय खुल्ने परिचयपत्र लिएर स्वयं जानुपर्ने निर्वाचन आयोगका सहप्रवक्ता मुकुन्द शर्माले बताए । नागरिकता, लाइसेन्स, पासपोर्ट वा अन्य कुनै परिचयपत्र देखाएरमात्र मतदाता परिचयपत्र पाउन सकिनेछ । मतदान स्थलमा जान नसक्ने ज्येष्ठ नागरिक, सुत्केरी, अपांगता भएका व्यक्ति, अशक्तहरूको मतदाता परिचय लिनका लागि एकाघरको परिवारको सदस्य भएको यकिन गरी दिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

निर्वाचन आयोगका अनुसार निर्वाचनमा खटिएका मतदान अधिकृतको टोलीले चार हजार ५८१ मतदान स्थलबाट मतदाता परिचयपत्र वितरण गर्नेछन् । त्यस प्रयोजनका लागि आयोगले सुरक्षाकर्मी बाहेक ६६ हजार ९०० कर्मचारी परिचालन गरेको छ ।

परिचयपत्रसँगै मतदाता शिक्षा पनि दिइने

मतदातालाई परिचयपत्रसँगै मतदाता शिक्षा पनि दिइने निर्वाचन आयोगका सहसचिव नवराज ढकालले बताए । उनले भने, ‘मतदाता परिचयपत्रसँगै सही तरिकाले कसरी मत संकेत गर्ने भनेर पनि सिकाउँछौं ।’

मतदाता शिक्षा दिनका लागि आयोगले हरेक मतदान केन्द्रमा कम्तीमा एक जना मतदाता शिक्षा कार्यकर्ताको दरले करिब ८ हजार ३५० कर्मचारीलाई खटाएको छ ।

नेपालमा बोलिने १६ राष्ट्र भाषामा मतदाता शिक्षा सामग्री तयार पारिएको छ । यसका साथै आमसञ्चार माध्यम छापा, रेडियो, टेलिभिजन, एफएम रेडियोमा स्थानीय भाषाहरूमा समेत मतदाता शिक्षासँग सम्बन्धित सूचना तथा सन्देशहरू प्रकाशन तथा प्रसारण भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment