Comments Add Comment

६० वर्षपछि कान्ति राजपथमा कालोपत्रे, अब काठमाडौं-हेटौंडाको दूरी ९० किमी

११ असार, काठमाडौं । हेटौंडा-काठमाडौं जोड्ने छोटो दूरीको वैकल्पिक मार्गका रुपमा बनिरहेको कान्ति राजपथमा कालोपत्रे सुरु भएको छ । ट्रयाक खुलेको ६० वर्षपछि हेटौंडातर्फको ग्रामीण भेगबाट पनि कालोपत्रे सुरु भएको हो ।

यो बाटो बनेपछि हेटौंडाबाट मुग्लिन हुँदै काठमाडौं आउने २२६ किमी र पालुङ हुँदै आउने १२६ किलोमिटर बाटोको विकल्प तयार हुनेछ ।

बढीमा अबको डेढ वर्षभित्र यो सडकबाट काठमाडौंसम्म ठूला सवारीले सहजरुपमा आवागमन गर्न सक्नेछन् ।आगामी ०७५ सालसम्म कालोपत्रे गरिसक्ने लक्ष्यका साथ हेटौंडातर्फबाट कान्ति राजपथमा गरिने स्तरीय किसिमको ‘अस्फाल्ट’ पीचको काम प्रारम्भ भएको आयोजना प्रमुख देबेन्द्रप्रसाद साहले अनलाइनबरलाई बताए ।

साहका अनुसार यो महिनाभित्रै ९ किलोमिटर सडकखण्ड कालोपत्रे भइसक्नेछ । अर्को आर्थिकवर्षमा कान्ति राजपथको थप ४० किलोमिटर पीच गरिने उनले जानकारी दिए ।

ललितपुरतर्फ पनि डेढ किलोमिटर पीच भइसकेको र यसै महिनामा थप डेढ किलोमिटरमा पनि कालोपत्रे हुने आयोजनाले जनाएको छ ।

२ वर्षमा १२० करोड खर्च हुँदै

काठमाडौंबाट कान्तिराजपथको प्रस्थान बिन्दु ललितपुरको सात दोबाटो हो । सडक समयसीमाभित्रै निर्माण सम्पन्न गर्न मकवानपुरतर्फ करिब ८५ करोड र ललितपुरतर्फ एक अर्ब बढी खर्च लाग्ने अनुमान छ ।

यो वर्ष ६० करोड रुपैयाँ खर्च भएको आयोजनामा आगामी वर्षका लागि पनि ६० करोड रुपैयाँ नै विनियोजन भएको छ । काम तीव्र गतिमा भए थप बजेट दिन पनि अर्थ मन्त्रालय सकारात्मक रहेको आयोजना प्रमुख साहले बताए ।

हेटौंडाको बुद्धचोकदेखि ललितपुरको सातदोबाटोसम्म ९० किलोमिटर लम्बाइको यो सडकलाई विस्तार गरी ८ दशमलव ५ मिटर चौडा गर्न काम भइरहेको छ ।

कहाँ कसले गर्दैछ काम ?

हेटौंडाबाट चुच्चेखोलासम्म ७ किलोमिटर खण्डमा कन्ट्याक्ट प्रालिले काम गरिरहेको छ । कञ्चनजंगा गोल्डेन ग्रुड (जेभी) ले चुच्चेखोलाबाट जीतपुर भञ्ज्याङसम्मको १५.५ किलोमिटर खण्डको निर्माण जिम्मा पाएको छ ।

कन्टेक बानियाँ (जेभी) ले जीतपुरभञ्ज्याङबाट सिमातघुम्तीसम्म ८.५ किलोमिटरको सडकखण्डमा काम गरिरहेको छ । अमर कन्स्ट्रक्सन प्रालिले सिमातघुम्तीबाट आलेभञ्ज्याङसम्म ९ किलोमिटरको जिम्मा पाएको छ । श्रेष्ठ मोतीदान बानियाँ (जेभी)ले आलेभञ्ज्याङबाट बाग्मतीसम्म १०.५ किलोमिटर खण्डको काम गरिरहेको छ ।

त्यसैगरी दिवा हनुमान (जेभी) ले बागमतीबाट काल्चेभीरसम्म ७ किलोमिटरमा, एसएल कम्पनी प्रालिले काम गरिरहेको छ । काल्चेभीरबाट छपेलीसम्म ८ किलोमिटरमा, हनुमान कन्स्ट्रक्सन प्रालिले छपेलीबाट तीनपानेभञ्ज्याङसम्म ९ किलोमिटरमा र विरुवा कविर (जेभी) ले तीनपाने भञ्ज्याङबाट टिकाभैरवसम्म ७ किलोमिटर सडकमा निर्माणका काम गरिरहेका छन् ।

त्यसैगरी टीकाभैरव पुलदेखि चापागाउँ दोबाटोसम्म ११ किलोमिटर भाग चौडा गर्ने काम सडक डिभिजन कार्यालय ललितपुरले गर्दैर्छ ।

विस्तार पनि चल्दै

कान्तीराजपथमा अहिले सडक फराकिलो बनाएर ग्राभेलिङ गर्नेसहित आवश्यक स्थानमा पर्खाल लगाउँदै कालोपत्रे गर्ने काम पनि अघि बढेको छ ।

हेटौंडाबाट मकवानपुरगढीसम्म यसै वर्ष कालोपत्रे गरिसकिने लक्ष्य रहेको साहले बताए । अहिले हेटौंडा-१७ को चुच्चेखोलाबाट कालोपत्रे गर्ने काम सुरु भएको छ ।

कान्ति राजपथको ट्रयाक विसं २०१३ मा खुलेको थियो । सुरुमा एक लेनको यो सडकमा ०१६ सालबाट गाडी चल्न सुरु भएको थियो ।

तर, ललितपुर र मकवानपुरको सीमामा रहेको बागमती नदीमा पुल नबनेको र सडकको दुरावस्थाका कारण सवारी चलाउन जहिले पनि यो अयोग्य रुपमा रहिरह्यो ।

६० वर्षपछि ब्युँतिएको सडक

६० वर्षपछि यो सडकलाई सरकारले फर्किएर हेर्‍यो, त्यसैकारण अहिले कान्ति राजपथमा कालोपत्रेको काम सुरु भएको छ ।

यो सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) कोरिया सरकारले तयार गरेको थियो । ०६५ सालदेखि सडक आयोजना बनाएर काम थाले पनि गत वर्षसम्म पनि गति सुस्त थियो ।

अब ०७५ को दशैंसम्म काठमाडौंमा यही सडकबाट यात्रुबाहक र मालबाहक सवारीको आवागमन सुरु हुने आयोजना प्रमुख साहले बताए । गुणस्तरीय भएकाले अहिले पीच भएको सडकमा ५ वर्षसम्म कुनै समस्या नआउने दावी आयोजनाको छ ।

सडक बिस्तार गर्न विभिन्न स्थानमा अहिले बिष्फोटक पदार्थ आवश्यक रहेको आयोजनाले जनाएको छ । समस्याका बाबजुद पनि समयमै काम सक्न आफूहरु लागी परेको साह बताउँछन् ।

काठमाडौंको आपूर्ति ब्यवस्था सुध्रने

यो सडकलाई मकवानपुर जोड्ने दक्षिणकाली-सिस्नेरी सडक खण्ड र त्रिभुवन राजपथको विकल्पका रुपमा पनि लिइन्छ ।
ट्रयाक निर्माण भएको झन्डै ६० वर्षपछि सडक सरकारको प्राथमिकतामा परेर पीच सुरु भएपछि सडक क्षेत्रमा स्थानीय उत्साहित भएका छन् ।

कान्ति राजपथ निर्माण सकिएपछि ललितपुरका दूर्गम दक्षिणपूर्वी भेग र मकवानपुरको पूर्वोत्तर भेगका बासिन्दाको जीवन यापनमा सुधार आउने स्थानीयको अपेक्षा छ ।

काठमाडौं आउन अर्को बैकल्पिक मार्ग तयार हुने भएकाले वीरगन्ज नाकाबाट नेपाल तथा भारतबीच हुने व्यापार विस्तारमा समेत यसले सहयोग पुर्‍याउने अपेक्षा छ । यसले काठमाडौंको आपूर्ति व्यवस्थालाई सहज गर्नेछ ।

फोटोः जयराम चाैंलागाइँ , मकवानपुर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment