Comments Add Comment

जिल्ला नै हल्लाउने रामेछापको यो बोको !

पूर्व सभासदले बोकोलाई पाठो देखेपछि के के भयो ?

११ असार, रामेछाप । अचम्म लाग्न सक्छ एउटा बोकोले जिल्ला हल्लाउने कुरा । बोकोले कसरी जिल्ला हल्लाउन सक्छ ? तर रामेछापमा यस्तै घटना भयो ।

त्यो यही बोको हो जसले जिल्लामा हल्लिखल्लीनै मच्चयो । अनि जिल्लाका सबै सरोकारवालालायई एकै ठाउँमा भेला पनि गरायो ।

यो बोको राष्ट्रिय पुननिर्माण कोष कार्यक्रम अन्तर्गत जिल्ला पशु सेवा कार्यालय रामेछापले भूकम्प पीडितलाई अनुदानमा वितरण गरेको थियो । बोको खाँडादेवी गाउँपालिका-४ पकरबासका किसान कर्णबहादुर माझीले किनेर लगेका थिए ।

गतसाल सोही कार्यक्रम अन्तर्गत पशुसेवा कार्यालय आफैंले खरिद गरी वितरण गरेका बोकामा आर्थिक अनियमितता भएको भन्दै व्यापक गुनासो आएपछि यस वर्ष अनुदानको रकम एकमुष्ट कृषकको खातामा हालिदिने र सो रकमबाट किसानले आफ्नो पैसा समेत थपेर बोका खरिद गर्ने गरी पशु सेवा कार्यालयले कार्यक्रम बनाएको थियो ।

बोका खरिदको लागि कार्यालयले एकमुष्ट १५ हजार रुपैयाँ दिने सो रकमबाट किसानले कम्तिमा पनि १८ केजी तौल भएको स्वस्थ ब्याडको बोको खरिद गर्नुपर्ने सर्त थियो ।

आफ्नो बोकोसँग कृषक कर्णबहादुर माझी

सोही अनुसार अनुदान पाउनेमा नाम परेपछि कर्णबहादुरले सिन्धुलीको सुनकोशी गाउँपालिकाको चैनपुरबाट १६ हजार रुपैयाँ हालेर लामा लामा कान अनि लुर्कना समेत भएको सेतो बोको खरिद गरेर ल्याए ।

बोको ल्याएपछि उनले जिल्ला पशु सेवा कार्यालयमा तौल गराए, अनि कार्यालयले बोकोलाई विमाको ट्याग पनि लगाइदियो । ट्याग लगाएर ल्याएको बोको जिल्ला सदरमुकाम मन्थलीको चोकमा लिएर आएको बेला पूर्वसाभाषद समेत रहेका माओवादी नेता तारानारायण श्रेष्ठले देखे ।

बोकाको फोटो खिचियो, केही सञ्चारकर्मीहरुले श्रेष्ठको भनाईलाई उद्धृत गर्दै ९ किलोको बोकोलाई १९ किलोको ट्याग भन्ने समाचार लेखे । सो समाचार सामाजिक सञ्जालमा भाइरल नै बन्यो । पूर्व सभासद श्रेष्ठले फेसबुकमा यो बोकोको फोटो पोष्ट गरे ।

बोकाको समाचार भाइरल बनेपछि जिल्ला पशु सेवा कार्यालयका प्रमुख डाक्टर नारायण शर्मा र कार्यालयका कर्मचारीहरुको टाउको दुखाई बन्यो । समाचार आएपछि उनले रातारात बोको किन्ने किसान र बोकोलाई जिल्ला पशु सेवा कार्यालयमा झिकाए ।

जिल्लाका पत्रकार, मन्थली नगरपालिकाका मेयर रमेश बस्नेत, जिल्लाका सबै राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, सहायक प्रमुख जिल्ला अधिकारी र सरोकारवाला सरकारी कार्यालयका प्रमुखहरुलाई समेत जम्मा गराए । अनि सबै सरोकारवालाको अगाडी बोको जोखियो । बोको २४ किलो भयो ।

सो विषयमा भएको सारोकारवालाको छलफलमा पूर्व सभासद श्रेष्ठले स्पष्टीकरण दिए- ‘मैले बोको देखेको हैन । फोटो हेर्दा सानो पाठो देखेँ । यो बोको त्यस्तै ९ किलोको होला भनेको हो । मैले गलत गरे पनि गरेँ, सहि गरेपनि गरेँ ।’

समाचार लेख्ने पत्रकारको पनि प्रष्टीकरण थियो- ‘पूर्व सभाषदले भने मैले लेखिदिएँ । मैले पनि बोको देखेको हैन ।’

लामो समय छलफल तथा सवाल जवाफपछि प्रमाण बोको र किसाननै सँगै भएपछि समाचार र समाचार दिने स्रोत गलत भएको निष्कर्ष निस्कियो । अन्तमा बोकाको बारेमा सरोकारवाला सबै प्रष्ट भएको निर्णय लेखि बैठक ट्ङ्गयिो ।

बिनाकाममा आफूले दुःख दिनु पर्ने अवस्था आएकोमा पशु सेवा कार्यालयका प्रमुखले क्षमा मागे । किसान भने आफूलाई बिना काममा दुःख दिएको भन्दै बाको डोहोर्‍याएर हिँडे । कम्ताको छ यो बोको ? जसले पूर्वसाभाषद देखि पत्रकारसम्मलाई आच्छु आच्छु पार्‍यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment