Comments Add Comment

निर्वाचन आयोगका पर्यवेक्षक भन्छन्, डोटीमा आचारसंहिता उल्लंघन तीव्र

११ असार, डोटी । बुधबार हुने दोस्रो चरणको स्थानीय तह चुनावमा डोटीका राजनीतकि दलहरुले निर्वाचन आचारसंहिचाको व्यापक उल्लंघन गरेको निर्वाचन आयोगका पर्यवेक्षक कृष्ण घिमिरेले आरोप लगाएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय डोटीले निर्वाचनको बिषयमा छलफल गर्नका लागि आयोजना गरेको सर्वपक्षीय बैठकमा घिमिरेले आचार संहिता पालनाको अवस्था पर्यबेक्षणका लागि आयोगद्वारा डोटी खटाइएका घिमिरेले राजनीतिक दलहरुबाटै आचार संहिता उलंघन भएको पाइएको वताए ।

‘आचारसंहिताले सार्वजनिक स्थलहरुमा पोष्टर/पम्पलेट टाँस्न नपाइने भनेको छ’ घिमिरेले भने ‘सार्वजनिक स्थलका वालहरुमा, बिद्युतका पोलहरुमा पोष्टर टाँसिएका छन, यस्तो गर्नु आचार संहिता उलंघन हो ।’

दलहरुले चुनाव प्रचार प्रसारका क्रममा बालबालिकाहरुको प्रयोग गरेको अनुगमनका क्रममा पाईएको घिमिरेले जानकारी दिए ।

आचार संहिताको पूर्ण रुपमा पालना गर्न दलहरुलाई अनुरोध गर्दै उनले भने, ‘झण्डा पनि तोकिएको साईज भन्दा धेरै ठुला बनाएका छन, व्यानर पनि ठुल्ठुला छन् ।’

आमसभा स्थलमा बाहेक माइकको प्रयोग गर्न नपाइने हुँदाहुँदै पनि दलहरुले आचारसंहिता बिपरित लाउडस्पिकरको व्यापक प्रयोग गरेको पाइएको घिमिरेको भनाई छ । ‘टि-सर्टको पनि व्यापक प्रयोग भएको छ र गाडी पनि बिना अनुमति प्रयोग भईरहेका छन’ घिमिरेले भने ‘दलहरुले यस्ताहरु रोक्नु पर्‍यो ।’ सरकारी कर्मचारीहरु, शिक्षकहरु, संघसंस्थाका कर्मचारीहरु पनि आचार संहिता बिपरित चुनाव प्रचार प्रसारमा लागेको पाईएको घिमिरेको भनाई छ ।

कर्मचारी खटाउँदा भेदभाव गरिएको छैन- मुख्य निर्वाचन अधिकृत पौडेल

मुख्य निर्वाचन अधिकृत तथा डोटी जिल्ला अदालतका न्यायाधीश नरनारायण पौडेलले निर्वाचनका लागि कर्मचारीहरु खटाउने क्रममा कुनै गल्ती नभएको दावी गरेका छन् ।

कर्मचारी खटाउने क्रममा मुख्य निर्वाचन अधिकृतको कार्यालयले राजनीति दलको दवावमा परेर गरेको भन्दै सञ्चारमाध्यमहरुमा समाचार प्रकाशन/प्रसारण भएपछि पौडेलले आफ्नो कार्यालयबाट कुनै पनि प्रकारको बिभेद नभएको दावी गरेका छन् ।

‘हामीले भरसक कुनै पनि मतदान केन्द्रमा स्थानीय व्यक्तिलाई खटाएका छैनौं’ पौडेलले भने ‘केही साथीहरु आफ्नै गाउँमा पठाइदिनुपर्‍यो भनेर आएका थिए, हामीले त्यो हुन्न भनेपछि यस्तो कुरा आएको हुन सक्छ ।’

सरकारी कर्मचारीहरु, जिल्ला शिक्षा कार्यालयका स्रोत व्यक्तिहरु, डोटी क्याम्पसका कर्मचारीहरुलाई मात्रै निर्वाचनमा खटाइएको पौडेलले स्पष्ट पारे । उनले भने ‘केही तालिम प्राप्त कर्मचारीहरुलाई हामीले खटाएका छैनौं, त्यो किनकि खटाइएको कुनै कर्मचारीको कुनै आपतकालीन अवस्था आयो भने त्यतिबेला हामीलाई त्यस्तो ठाउँमा खटाउनका लागि कर्मचारी चाहिन्छ ।’

तालिम प्राप्त कर्मचारीहरुलाई नखटाएको, गैरसरकारी संस्थाका कर्मचारीहरु समेतलाई निर्वाचनमा पठाइएको, स्थायी कर्मचारीहरु हुँदाहुँदै पनि करारका कर्मचारीहरु खटाएको, पहिले तय भइसकेको कर्मचारी खटनको सूची पछि भनसुनका आधारमा परिवर्तन भएको कर्मचारीहरुले आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment