Comments Add Comment

सपना बोकेर मलेसिया पुगेका भुपेन्द्र औंला गुमाएर फर्किए

जेठको १४ गते विहानको करिव १० वजे । मलेसियाको केलागमा रहेको एक पेपर कम्पनी भित्रै ठूलो आवाजमा कोही करायो-‘ऐया, ऐया, लौ न बचाऊ ।’ काममा ब्यस्त अरु साथीहरु यता र उता गर्न थाले । आवाज आएको ठाउँमा दौडिएर पुगे । त्यहाँ एक युवा रगताम्मे हात समाएर छटपटाई रहेका थिए । सुर्खेतको चिङगाड गाउँपालिकाको मटेलाका भुपेन्द्रबहादुर चन्द ।

आइतबारको त्यो दिन उनको जीवनको सवै भन्दा दुःखको दिन बन्न पुग्यो । मेशिन सफा गर्दा मेशिनले हात तानिदियो । धन्न हात निकाल्न सफल भए । नत्र मेशिनले शरिरै पेलिदिन्थ्यो । बिर्सनै नसकिने गरी भएको त्यो दिनको घटना उनी यसै गरी सम्झन्छन ।

तत्कालै एम्वुलेन्स आयो । अस्पतालमा पुर्‍याइयो । रगताम्मे भएको उनको दाहिने हातका तीनवटा औला काटियो । मिठो सपना बोकेर मलेसिया छिरेका भुपेन्द्रको सपना त्यतिनै बेलादेखि टुट्न पुग्यो जतिवेला औलाहरु टुटे ।

परिवारको सबैभन्दा जेठा हुन् भुपेन्द्र । आर्थिक अवस्था कमजोर भएको कारण १० कक्षा भन्दा बढी पढ्न सकेनन् । परिवारको जिम्मेवारी पनि थपियो । बिहे पनि गरे । दुई वटा छोराको बाबु भए ।

छोराहरुको भविश्य बनाउन भन्दै तीन वर्ष अगाडि मलेसिया छिरेका भुपेन्द्र अनिश्चित भविश्य बोकेर पुनः स्वदेश फर्किएका छन ।
भुपेन्द्रलाई विदेश आउने रहर थिएन । देश वनाउछु भन्ने राजनेताहरुको पछाडि लागेर पनि हिडे तर देशमा परिवर्तनको सकेत समेत नदेखेपछि उनले करिव डेढ लाख ऋण खोजे । मेनपावरलाई १ लाख ३६ हजार रुपैयाँ बुझाएर मलेसिया आए ।

मेनपावरवालाको यस्तो जालझेल

मलेसियामा आउँदा उनले कुनै तालिम पाएनन् । मेनपावरले अभिमुखिकरणको लागि एक हजार चाहियो भनेपछि उनले पैसा बुझाए । त्यहाँ उनले तालिम लिएको लेखिएको थियो । उनले मेनपावरलाई भने-‘ मैले त तालिम लिएको छैन, कसरी आयो यो ?’ जवाफ यस्तो आयो-‘भाई तिमिलाई सजिलो बनाई दिएको ।’

आउने बेलामा उनीसहित ५ जना नेपालीहरु आए प्लाष्टिकको कम्पनीमा । तलव आरएम चौध सय भनिएको थियो । तर, यहाँ आउदा चौध सय दुई पटक गनेर मात्र पुग्ने भयो । बस्नको लागि राम्रो सुविधा भएन । भुइमा सुत्नु पर्दथ्यो । विरामी हुँदा पनि अस्पताल जानु पर्ने भयो । भनेको अनुसार नभएपछि मेनपावरलाई फर्काउनको लागि पहल चाले । तर, उनको आवाज सुनिदिने कोही भएन ।

उनी लगायत सबै जना अवैधानिक भएर काम गर्नुपर्‍यो । नेपाल कसरी फर्किने ऋण छ । काम गरुन अवैधानिक भएर कसरी गर्नु । लुकिछिपि काम गरिरहे र नेपालमा लागेको ऋृण तिर्न सक्ने भए ।

जब हातका औंला काटिए …..

वल्लतल्ल  ऋृण तिरेर केही वचत गर्ने जमर्काे गर्दै थिए । अनायासै हातका औलाहरु गुमाउन पुगे । परिवारलाई भन्नै सकेनन् । जतिवेला खबर गरे रुवावासिनै भयो ।

दूतावास मलेसिया, विभिन्न संघसंस्था, नेपाली सहयोगी साथीहरुको सहयोगले उनी नेपाल फर्किएका छन । हातका औला देखाउँदै काठमाडौंका सरकारी निकायहरुमा पुग्दै उनी भन्दैछन्-‘हामीलाई अवैधानिक बनाएर यो अवस्थामा पुर्‍याउने मेनपावरलाई कार्वाही हुन्छ कि हुँदैन ?’

मेनपावरले नढाटेको भए अहिले यो अवस्था नआउने भन्दै उनले भने-‘मैले कम्पनी छाड्ने थिएन कम्पनी नछाडेको भए यो अवस्था आउने थिएन । फर्काइदे भन्दा नर्फकाएपछि यसरी काम गर्नुपर्‍यो । सरकार हामीलाई न्याय कहिले हुन्छ ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment