Comments Add Comment

मोरङका १७ स्थानः कुन दलले कति सीट जित्ला ?

एउटै स्थानीय तहमा तीनवटा दलको जित्ने दाबी !


११ असार, बिराटनगर । प्रदेश नम्बर १ मा सबैभन्दा बढी स्थानीय तह भएको जिल्लामध्ये एक हो मोरङ । यस जिल्लामा १७ वटा स्थानीय तह छन् । तीमध्ये ८ वटा नगरपालिका र ८ वटै गाउँपालिका छन् भने एउटा महानगरपालिका छ ।

मोरङका ८ गाउँपालिकामा केराबारी, मिक्लाजुङ, कानेपोखरी, ग्रामथान, बुढीगंगा, धनपालथान, जदाहा र कटहरी छन् । त्यसैगरी ८ नगरपालिकामा लेटाङ, उर्लाबारी, रतुवामाई, पथरी शनिश्चिरे, बेलबारी, सुन्दरहरैंचा, सुनवर्षी र रंगेली छन् ।

जिल्लाका यी स्थानीय तहमध्ये कहाँ कसले जित्ला ? यसबारेमा हामीले कांग्रेस, एमाले, माओवादी र मधेसवादी दललाई सोधेर उनीहरुको दाबीबारे बुझ्ने प्रयास गरेका छौं ।

बहुमत स्थान कटाउने कांग्रेसको लक्ष

नेपाली कांग्रेसले पनि मोरङमा आफूहरुले बहुमत स्थानमा जित हात पार्ने दाबी गरेको छ । कांग्रेसले १७ सीटमध्ये ५१ प्रतिशत बढी अर्थात कम्तिमा ९ स्थान जित्ने लक्षण लिएको नेताहरु बताउँछन् ।

‘हामी मोरङमा कम्तिमा ५१ प्रतिशत स्थान कटाउँछौं, कांग्रेस मोरङका जिल्ला सभापति डिगबहादुर लिम्बुले अनलाइनखबरसँग भने, ‘अबको दुई दिन मेहनत गर्दा जिल्लामा कांग्रेसले बहुमत स्थानीय तह जित्ने माहौल देखिएको छ ।’

नेपाली कांग्रेसले मोरङमा आफ्नो दलले जित्ने दाबी गरेका स्थानीय तहमा बिराटनगर, लेटाङ, उर्लाबारी, बूढीगंगा, सुन्दरहरैंचा धनपालथान, सुनवर्ष र कटहरीलगायत छन् ।

अहिलेसम्म जित्ने सम्भावना नदेखिएका ठाउँमा पनि अबको दुई दिनमा माहौल बन्यो भने जित्न सकिने कांग्रेस नेता लिम्बुको दाबी छ ।

१० स्थान जित्ने एमालेको दाबी

जिल्लाका १७ स्थानमध्ये कम्तिमा १० स्थान आफूले जित्ने एमाले नेताहरुको दाबी छ । एमाले मोरङका एक नेताका अनुसार बिराटनगर महानगरपालिकासहित एमालेले जित्ने आँकलन गरेका स्थानीय तहहरुमा कानेपोखरी, उर्लाबारी, पथरी शनिश्चरे, केराबारी र बेलबारी छन् ।

त्यसैगरी सुन्दर हरैंचा, रतुवामाई, ग्रामथान र बुढीगंगा एमाले तीव्र प्रतिस्पर्धामा रहेको र त्यहाँ पनि जित्ने सम्भावना रहेको एमालेको दाबी छ ।

एमाले नेताको यो दाबी अनुसार परिणाम आएको अवस्थामा उसले १७ स्थानमध्ये १० स्थानमा उसले विजय प्राप्त गर्ने छ ।

चार स्थानीय तहमा माओवादीको दाबी

मोरङका १७ स्थानीय तहमध्ये माओवादीले धेरै स्थानमा दाबी गरेको छैन । उसले जिल्लाका चार स्थानमा आफ्नो जित सुनिश्चित भएको र अन्य केही स्थानमा प्रतिस्पर्धा रहेको दाबी गरेको छ ।

अनलाइनखबरसँग कुरा गर्दै माओवादी मोरङका अध्यक्ष गोपी अछामीले भने- ‘रंगेली, मिक्लाजुङ, पथरी शनिश्चरे, र रतुवामाईमा हाम्रो जित सुनिश्चितजस्तै छ,’ अन्य केही स्थानमा हामी प्रतिस्पर्धामा छौं ।

बिराटनगर महानगरपालिकाको उपमेयरमा आफ्नो पार्टीको जित लगभग निश्चित भइसकेको अछामीले दाबी गरे ।

फोरम लोकतान्त्रिकको दाबी ६ स्थानमा

मोरङमा विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमले करिब आधा दर्जन स्थानीय तहमा जित्ने दाबी गरेको छ ।

लोकतान्त्रिक फोरमका नेता भक्ति माझीले अनलाइनखबरसँग भने-‘हामीले कटहरी, ग्रामथान, बूढीगंगा, जदाहा, धनपालथान र रंगेलीमा जित्ने आँकलन गरेका छौं ।

एमालेसँग तालमेल गरेकाले बिराटनगरको उपमेयर पनि आफ्नो दलले जित्ने माझीले दाबी गरे ।

संघीय फोरम पनि के कम !

निर्वाचन परिणाम आफ्नो पक्षमा बढी भन्दा बढी आउने दाबी गर्ने दलमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पनि कम छैन । उसले पनि ६ स्थानको प्रमुखमा आफूले जित्ने दाबी गरेको छ ।

संंघीय फोरमका जिल्ला अध्यक्ष राजकुमार यादवका अनुसार उनको पार्टीले मोरङका कटहरी, जदाहा, धनपालथान, रंगेली, सुनवषर्ी र रतुवा माईमा फोरमको जितको सम्भावना छ ।

दाबी गरिएका मध्ये जदाहा र कटहरी मधेस आन्दोलनबाट प्रभावित गाउँपालिका मानिन्छन् ।

ओभरल्यापिङ !

दलहरुले मोरङको चुनावी परिणामका बारेमा विभिन्न दाबी गरिरहँदा एउटै स्थानीय तहमा विभिन्न दलले जित्ने दाबी गरेका छन् ।

जस्तो- बिराटनगर महानगरमा एमाले र कांग्रेस दुबै दलको दाबी छ । त्यस्तै कटहरीमा कांग्रेस र मधेसवादी दुबैले जित्ने दाबी प्रस्तुत गरेका छन् ।

रंगेलीमा माओवादी र मधेसवादी दुबैको जित्ने दाबी छ । पथरी शनिश्चरेमा एमाले र माओवादी दुबैले जित्ने दाबी गरेका छन् । यस्तै अन्य विभिन्न तहमा दुई वा दुईभन्दा बढी दलले जित्ने दाबी गरेका छन् ।

सुन्दर हरैंचा नगरपालिका बिराटनगरपछि मोरङको सबैभन्दा धेरै जनसंख्या भएको स्थानीय तह हो । यहाँ एमालेभित्र विवादमा परेका कारण कांग्रेसले आफूलाई फाइदा पुग्ने अनुमान गरेको छ । तर, सुन्दर हरैंमा केपी ओलीले मन्तव्य दिएको भोलिपल्टै नपुग्दै माधव नेपाल विवाद मिलाउन पुगेको र एमालेले स्थिति सुधार्ने प्रयास गरिरहेको नेताहरुको दाबी छ ।

कुन तहमा कसको प्रभाव ?

स्थानीय विश्लेषकहरुका अनुसार बूढीगंगा गाउँपालिकामा फोरमको प्रभाव छ । धनपालथानमा कांग्रेस बलियो छ । ग्रामथानमा एमाले र कांग्रेसवीच प्रतिस्पर्धा छ ।

त्यसैगरी जदाहामा उपेन्द्र्र यादव नेतृत्वको फोरमको प्रभाव छ । तर, त्यहाँ कांग्रेसले पनि जित्ने दाबी गरेको छ । कानेपोखरीमा एमालेको राम्रो रहेको दाबी छ । यद्यपि कांग्रेसले पनि टक्कर दिइरहेको छ । कटहरी संघीय समाजवादीको प्रभाव देखिए पनि अबको दुई दिनमा कसको पल्ला भारी हुन्छ, भन्न सकिँदैन । कटहरी कांग्रेसले समेत जितको दाबी गरेको गाउँपालिका हो ।

रतुवामाईलाई एमालेले जित्ने सूचीमा राखेको भए पनि त्यहाँ संघीय समाजवादी र माओवादीवीच तालमेल छ । सुनवषर्ीमा अपेक्षाकृत रुपमा कांग्रेस नै बलियो मानिन्छ ।

मिक्लाजुङमा एमालेको राम्रो प्रभाव भएता पनि उम्मदेवारसँग २१ लाख मागेको प्रकरणका कारण त्यहाँ उसको बिग्रेको छ ।

माओवादी केन्द्रले रंगेलीमा व्यापारीलाई उम्मदेवारी दिएपछि त्यहाँ माओवादीको पोजिसन राम्रै रहेको स्रोतले बतायो ।

मोरङमा पछिल्लो समय शहरीकरण भएका उर्लाबारी, पथरी, बेलबारी, सुन्दर हरैंचा जस्ता नगरहरुमा नव धनाढ्य वर्गाको उत्थानसँथै राजनीतिक शक्ति सन्तुलन पनि फेरिन थालेको अनुमान लगाउन सकिन्छ ।

जिल्लाबा दक्षिणी भेगका मधेसी बाहुल्य ठाउँमा एमाले कमजोर छ । राजमार्ग र उत्तरी भेगमा उसको प्रभाव राम्रो छ । तर, ती ठाउँमा कांग्रेसले विगतको भन्दा आफ्नो स्थिति सुधारेको छ । यसमध्ये उत्तरी मोरङको लेटाङ नगरपालिका कांग्रेस सभापति डिगबहादुर लिम्बुको गृहगाउँ भएकाले त्यहाँ कांग्रेसले जित्ने दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment