Comments Add Comment

सेयर बजारको पारदर्शीतामा सुचीकृत कम्पनीहरु उदासिन

हुदैन ठूला लगानीकर्ताको कारोबार ट्रयाक

११ असार, काठमाडौं । नेपाली सेयर बजारमा पछिल्लो समय पारदर्शीताको सबालमा केही कामहरु भएका छन् । यसैको उदाहरण हो, सूचीकृत कम्पनीहरुले सेयर मूल्य प्रभाव पार्ने सुचना तत्काल नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई गराउनु र नेप्सेले पनि तत्काल त्यसलाई सार्वजनिक गर्नु ।
त्यस्तै, बजारको बास्तविक माग र आपुर्तीको अवस्था हेर्न सकिने मार्केट डेप्थको व्यवस्था गर्नु पारदर्शीता कायम गर्ने दोस्रो प्रयासको रुपमा लिन सकिन्छ । यद्यपी यी दुईकै अभ्यास पनि अहिले पूर्ण सन्तोषजनक भने छैन ।
नेप्सेको पटक पटकको निर्देशनपछि पनि मूल्य प्रभाव पार्ने सुचना सबै कम्पनीहरुले दिइरहेका छैनन् । कम्पनी आफैले नेप्सेको वेवसाइटमा हरेक किसिमका सुचना अध्यावधिक गर्न सक्ने गरि प्रणालीको सुधार गरेको भनिए पनि यसको न्युनतम प्रयोगसमेत हुन सकेको छैन । नेप्सेका कर्मचारीहरुको निगरानीमा कम्पनीहरुलाई यस्तो सुविधा दिइने बताइएको थियो ।
अर्कोतर्फ, संस्थापक तथा ठूला सेयरधनीको सेयर कारोबारको जानकारी सार्वजनिक गरिनु पनि एक किसिमको पारदर्शीता नै हो । नेपालमा केही ठुलो सेयर कारोबारको किनबेचको घटनाको जानकारी नेप्सेले प्रेस विज्ञप्ति नै जारी गरेर पनि सार्वजनिक गरेको थियो । तर, एउटै ठुलो कारोबारबाट सेयर स्वामित्व परिवर्तन हुने अवस्थामा बाहेक सानासाना कारोबारसँगै फेरिने स्वामित्वको बारेमा भने कतै जानकारी सार्वजनिक गरिदैन ।

यता, राष्ट्र बैंकले २ प्रतिशत वा सोभन्दा बढि सेयर हुने संस्थापकहरुको स्वामित्व परिवर्तन हुने गरी सेयर किनबेच गर्दा वा धितोमा राखिँदा राष्ट्र बैंकसँग अनुमति लिनुपर्ने भनि बैंक तथा वित्तीय संस्थासम्बन्धि ऐन २०७३ मा उल्लेख गरेको छ । यस्तो किनबेचको जानकारी भने सर्वसाधारण सेयरधनीको लागि सार्वजनिक गर्नैपर्ने बाध्यात्मक अवस्था छैन । संस्थापक बाहेककाले कारोबारको लागि यस्तो अनुमति आवश्यक पर्ने÷नपर्ने खुलाइएको छैन । राष्ट्र बैंक आफैले निगरानी प्रयोजनको लागि भने २ प्रतिशतभन्दा बढि व्यक्तिगत वा साझेदारीमा हुने लगानीलाई उलेख्य स्वामित्व मानेर हेर्ने गरेको छ ।

तर, महत्वपूर्ण लगानीमा भएको परिवर्तन पत्ता लगाउन कम्पनीहरुको बार्षिक वित्तीय विवरण लगानीकर्ताको लागि हाल एउटा मात्र विकल्पको रुपमा रहेको छ । बार्षिक वित्तीय विवरणमा ०.५ प्रतिशत सेयर हुनेहरुको सुची सार्वजनिक गर्नुपर्ने यो व्यवस्थाले बार्षिक लगानीको तुलनात्मक अध्ययन गर्न सकिने अवस्था त बन्छ, तर त्यो तत्कालिक प्रयोजनको लागि भने हुँदैन ।

कम्पनीको वार्षिक वित्तीय विवरण वार्षिक साधारणसभाको मितिको कारण आर्थिक वर्ष सकिएको ४ महिनादेखि १०/११ महिनामा मात्र सार्वजनिक हुने अवस्था पनि रहेको छ । त्यतिखेरसम्म कतिपय सेयर स्वामित्व परिवर्तन नै भइसकेको हुन्छ ।

स्वामित्व परिवर्तन सम्बन्धि सुचनाले सेयर मूल्यलाई निश्चितरुपमा प्रभाव पार्छ । यसैको आडमा पनि बजारमा लाभ लिन खोज्ने जमात कम छैन । कुनै निश्चित कम्पनीमा स्वामित्व बढाएको देखाउने अनि सर्वसाधारणलाई आकर्षित गरेलगत्तै बजारबाट सेयर बिक्री गरेर आफ्नो लाभ सुनिश्चित गर्ने खेलमा यसअघि पनि ठुला लगानीकर्ताहरु देखिएकै हुन् । यस्ता खेलाडीहरुको गतिविधि नियाल्न र यसबाट बच्न पनि यस्तो सुचना आम लगानीकर्ताको पहुँचमा हुनु आवश्यक छ ।

तर, एकैपटक कारोबार भएको अवस्थामा बाहेक यस्तो सुचना बजारमा तत्काल दिनुपर्छ भन्नेमा न त कम्पनीलाई चासो छ न त बजार सञ्चालक तथा नियामक निकायहरुले यसमा कुनै पहल गरेका छैनन् ।

नेप्सेको उत्तर : नीतिगत व्यवस्था नै छैन्

नेप्सेले भने सेयर स्वामित्वमा भइरहने परिवर्तनको जानकारी दिइरहन नीतिगत व्यवस्था नभएकोले समस्या भएको बताएको छ ।

‘कम्पनीसँग सेयर सूचीकरण गर्न आउँदा हामीले बिभिन्न नियमावली, विनियामावलीमा उल्लेख भएका प्रावधानहरुको आधिनमा रहेर जानकारीहरु दिनुपर्ने गरि सम्झौता गर्छौ, यस्तो व्यवस्था कतै उल्लेख नभएकोले ल्याउन नसकिएको हो,’ नेप्सेका सहप्रवक्ता मुरारी पराजुलीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment