एक दशक अगाडिसम्म नेपालमा ‘कफी’ को परिभाषा नै छुट्टै थियो । देशको राजधानी काठमाडौंमा पनि मानिसहरू ‘इन्स्ट्यान्ट कफी’ लाई नै कफी मान्दथे, जसमा दूध हालेर मज्जाले फिट्दै फिज निकालेर पिउन सकियोस् । शहरमा कमै थिए, जसलाई ‘अमेरिकानो’ र ‘क्यापुचिनो’ बीचको फरक थाहा होस् ।
करिब नौ वर्षअघि काठमाडौं विश्वविद्यालयमा व्यवस्थापनमा स्नातकोत्तर गर्दै गरेका कुमुद सिंह र रवीन्द्र श्रेष्ठलाई पनि कफीबारे खासै जानकारी थिएन । झन् यो कसरी उत्पादन हुन्छ भन्ने त थाहा हुने कुरै भएन ।
‘हामी पढाइको अन्तिम वर्षमा छँदा निर्णय गर्यौं, नेपालमै बसेर कृषिमै केही गर्नेछौं’, काठमाडौं कफीका व्यापार प्रबन्धक कुमुद बताउँछन् ।
कफी खेतीमा होमिनु अगाडि रवीन्द्र र कुमुदले धेरै विज्ञसँग समय बिताए ।
‘हामीले धेरै सरकारी कृषि कार्यालय चहार्यौं, जहाँ जाँदा पनि अफिसहरू प्रायः खाली हुन्थे । घण्टौं बसेर चिया पिउँदै कुराकानी गथ्र्यौं’, कुमुद भन्छन्, ‘हामीले नेपालमा कफीको पायनियर मानिने हिमालयन जाभाका मालिकसँग पनि कुरा गर्यौं ।’
कुराकानी र सरसल्लाहको चरणपछि कुमुद र रवीन्द्र दुई वटा निष्कर्षमा पुगेः ‘हो, नेपालमा कफी उत्पादन गर्न सकिन्छ । तर, कुनै पनि कफी व्यवसाय दिगो हुनका लागि त्यसले निर्यात गर्न सक्ने क्षमता राख्नुपर्छ । किनभने नेपालमा कफीको खासै माग छैन ।’
केही महिनाभित्रै कफी उमार्ने र बिक्री गर्ने जोशका साथ उनीहरूले अल्पाइन कफी स्टेट प्रालि नामक कम्पनी दर्ता गराए । उनीहरूका अरू साथीले नुवाकोटमा कृषि व्यवसाय गर्न लागेका थिए । त्यहाँ कफी खेतीको सम्भाव्यता देखिएकाले उनीहरूले त्यतै जग्गा किन्ने निर्णय गरे । तर, जग्गा किन्न बैंकहरू धाउँदा उनीहरूको जोशलाई कसैले पत्याएनन् ।
‘केही नलागेर हामीले व्यक्तिगत रूपमै ओभर ड्राफ्ट ऋण लियौं, त्यो पनि चर्को ब्याजदरमा,’ कुमुद अझै सम्झन्छन् ।
धान रोपिने खेत उनीहरूले करिब ४० लाख हालेर किनेका थिए । त्यसपछि उनीहरुले जसोजसो आँट्दै गए, सबै पुग्दै गयो ।
उनीहरुले आफ्नो फार्ममा कफी रोप्न काभ्रेबाट मगाए । काम थाल्नुअघि उनीहरुले धेरै जनासँग सरसल्लाह लिए पनि उनीहरुले यो काम कसरी गर्ने भनेर काम अघि बढाएसँगै थाहा पाए । त्यस क्रममा उनीहरुले बुझे, कफी रोप्नु सोचे जस्तो सजिलो रहेनछ ।
‘कफीलाई छाया मन पर्दो रहेछ । हामीले भोगेर मात्रै थाहा पायौं, उत्तरी मोहोडा भएको जमिनमा हिमालबाट आउने चिसोको कारण कफी राम्रो नहुने रहेछ’ रवीन्द्र सुनाउँछन् । कफी खेतीको यस्ता विधि उनीहरुले प्रत्यक्ष भोगाइबाट सिक्दै गए ।
कफी हुर्कन तीन वर्ष लाग्छ । उनीहरुले कफीको पहिलो बोट ०६५ तिर रोपेका थिए । ती बोटबाट ०६८ सालमा कफी टिपे ।
तीन वर्षको त्यो अवधि यो युवा जोडीका लागि सहज थिएन । एकातिर बैंकको ब्याज तिरिरहनुपरेको थियो भने अर्कातिर पहिलो लटको कफी फल्ने समय व्यग्र भएर कुरिरहनुपरेको थियो ।
‘हामीले त्यो समयमा अदुवा उत्पादन गर्ने कोसिस पनि गर्यौं, तर सफल भएनौं’, कुमुद भन्छन् ।
जब तीन वर्ष बित्यो, प्रतीक्षाको मीठो फल मिल्यो ।
सुरुका दिनहरूमा कफीको ‘रोष्टिङ’ गर्ने काम उनीहरुले अरु कसैलाई ठेक्कामा दिएका थिए । तर, तीन वर्षअघि मात्रै उनीहरुले यस्तो सफलता पाए, जसबाट व्यवसायमा नयाँ ऊर्जा मिल्यो । नेदरल्याण्ड्सका लगानीकर्ताहरू उनीहरूको ‘काठमान्डू कफी’ देखेर निकै उत्साहित भए र उनीहरूको कम्पनीमा पुँजी हाल्न तयार भए ।
अहिले काठमाडौंको लाजिम्पाटमा कम्पनीको आफ्नै प्रशोधन केन्द्र छ, जहाँ उत्पादित कफीले नेपाली बजारको करिब १०/१५ प्रतिशत माग धान्ने गरेको छ ।
‘सुरूमा हामी निर्यात मात्र गर्न चाहन्थ्यौं । तर हाम्रो व्यवसाय विस्तार हुँदै गर्दा नेपालभित्रै कफी कल्चरको विकास हुन थाल्यो’, रवीन्द्र भन्छन् ।
विगत पाँच वर्षमा काठमाडौंवासीले कफी धेरै रुचाएका छन् । यसको साक्षी हुन्, शहरमा थपिँदै गरेका कफी पसलहरू ।
‘कफी बनाउन सजिलो छैन । हामी नेपाली अझै पनि क्याफेको जस्तो कफी घरमा बनाउन जान्दैनौं । त्यसैले त हामी बाहिर क्याफेमा जाँदा चियाभन्दा कफी पिउन रुचाउँछौँ’, कुमुदको भनाई छ ।
रवीन्द्रलाई लाग्छ, काठमान्डू कफीको सबल पक्ष भनेको कफी उमार्ने उनीहरूको आफ्नै जग्गा हुनु हो । आफ्नै जग्गामा कफी फलाउने भएकाले गुणस्तरमा ध्यान दिन सकिन्छ, रोप्ने बेलादेखि टिप्ने बेलासम्म । यसै कारण नेपालका प्रमुख होटलहरूले उनीहरूकै कफी रुचाउँछन् ।
आफ्नै कफी फार्म र आफ्नै प्रशोधन केन्द्र भएकाले उनीहरु व्यवसाय थप विस्तार गर्ने योजना बुनिरहेका छन् । उनीहरू अब आफैं कफी आउटलेट खोल्ने सोचमा पनि छन् । ‘हाम्रो बिजनेस मोडलले पनि हामीलाई आफ्नै पसल खोल्न सजिलो हुनेछ’, कुमुद सुनाउँछन् ।
तर, क्याफे खोल्न उनीहरूले आफ्नो उत्पादन बढाउनुपर्ने हुन्छ । नेपालमा जग्गाको हदबन्दीसम्बन्धी कानूनका कारण उनीहरुले फेरि जग्गा थप गर्न नसक्ने स्थिति छ । त्यसैले उनीहरू भएकै जग्गाको उत्पादकत्व बढाउन चाहन्छन् ।
‘हामीले थोपा सिँचाइ प्रविधि अपनाउन खोजिरहेका छौं । यो प्रविधिको प्रयोगबाट ५० प्रतिशतसम्म उत्पादकत्व बढाउन सकिने देखिएको छ’, रवीन्द्र भन्छन् ।
यो त भयो नेपाली बजारको कुरा । काठमान्डू कफीले अन्तर्राष्ट्रिय बजारका लागि के गर्दै छ त ?
नेपाली कफीले हालै मात्र विभिन्न देशमा आफ्नै ट्रेडमार्क पाए पनि यसको गुणस्तरमा एकरुपता आउन सकेको छैन । यो स्थितिमा उनीहरुले आफ्नो उत्पादनमा निश्चित गुणस्तर कामय राख्दै विदेशी बजार आकर्षित गरिरहने उद्देश्य बनाएका छन् ।
‘हामीले विदेशबाट इमेल पाउँछौं, नेपाली कफीको गुणस्तर किन सधैं एकैनासको हुँदैन भनेर । यदि कफीको निर्यात प्रवर्द्धन गर्ने हो भने सरकारले नेपाली कफी कस्तो हुनुपर्छ भनेर मापदण्ड नै तोक्नुपर्छ, त्यसरी मात्र यसको विदेशी बजार विस्तार गर्न सकिन्छ’, रवीन्द्र सुझाव दिन्छन् ।
त्यस्तै, विदेशीहरूले नेपालबाट कफी मगाउँदा सानो परिमाणमा मगाउँछन् र फ्लाइटबाट पठाउँदा यसको मू्ल्य निकै महँगो पर्न जान्छ । जसले गर्दा संसारका महँगो कफीभन्दा पनि नेपाली कफीको मूल्य चर्को हुन्छ । उनीहरु विदेशमा कफी पुर्याउन वैकल्पिक माध्यमको खोजीमा छन् ।
तर, ‘जिरो’ बाट सुरु गरेको व्यवसाय आज यो अवस्थासम्म आइपुग्दा रवीन्द्र र कुमुद सन्तुष्ट छन् । उनीहरु नेपाली कफीबारे आशावादी पनि उत्तिकै छन् ।
‘हामीलाई थाहा छैन, कफीमा असफल भएको भए हामी के गथ्र्यौं होला । तर, असफल हुन्छौं कि भन्ने नसोची हामी अगाडि बढिरह्यौं । आजको नतिजा त्यसैले दिएको हो’, उनीहरूको साझा निश्कर्ष छ ।