Comments Add Comment

नेपालगञ्जः मौसम शीतल, चुनार्वी गर्मी बढ्दै


११, असार, बाँकेे । केही दिनअघि ४४ डिग्रीसम्म तापक्रम पुगेको नेपालगञ्ज उपमहानगरपालिकामा पानी पर्ने क्रमसँगै मौसम शीतल हुन थालेको छ । तर, यहाँको चुनावी सरगर्मी भने उत्कर्षमा पुगेको छ ।

असार १४ गते हुने स्थानीय तहको निर्वाचनको प्रचार-प्रसार सकिन केही घण्टामात्रै बाँकी रहँदा दलहरु निर्वाचनको माहौललाई आफ्नो पक्षमा पार्न दिलोज्यान दिएर लागिरहेका छन् ।

आइतबार राति १२ बजेबाट निर्वाचनको मौन अवधि शुरु हुँदैछ । पश्चिम नेपालको ठूलो र पुरानो सहरका रुपमा परिचित नेपालगञ्ज प्रदेश नं. ६ र ७ को समेत प्रवेशद्वार हो । सत्ताधारी दलहरुले तालमेल नगरेको उपमहानगरपालिका मध्येको एक नेपालगञ्ज उपमहानगरपालिकामा ५ पक्षवीच भिडन्त हुने देखिएको छ । निर्वाचनको प्रचार-प्रसार बन्द भएपछि हुने मौन अवधिको सुलसुले अभियानका लागि समेत दलहरुको तयारी देखिएको छ ।

कुल ६२ हजार ३ सय ९७ मतदाता रहेको नेपालगञ्ज उपमहानगरपालिकामा करीव २० हजारको हाराहारीमा मत ल्याउनेले मेयर जित्नेछ । कांग्रेस, एमाले, माओवादी, राप्रपा, संघीय समाजवादी फोरम र नयाँ शक्तिको गठवन्धनका वीचमा हुने प्रतिस्पर्धाले मतको भोल्युमलाई घटाउने छ ।

कुन वडामा को कस्तो ?

साविकको नेपालगञ्ज नगरपालिकाकामा १७ वडा थिए । पछि ११ गाविस मिलाएर बनेको नेपालगञ्ज उपमहानगरपालिकामा २३ वडा छन् । साविकका मनिकापुर, वसुदेवपुर, पुरैना, पुरैनी, उदयपुर, भवानीयापुर, जयसपुर, परस्पुर, पिपरहवा, कारकाँदो र हिरमिनिया गाविसको वडा नः ७ मिलाएर नेपालगञ्ज उपमहानगरपालिका बनेको हो ।

उपमहानगरपालिकाका २३ वडामा नेपाली कांग्रेसले १२ वडा जित्ने नगरसभापति प्रशान्त विष्टले दाबी गरे । एमालेले ११ वडा, फोरमले १७, माओवादीले १२, राप्रपाले २० वडा जित्ने दावी गरेका छन् ।

दलहरुले आ-आफूले दाबी गरेका छन् । दाबी अनुसार एमाले वडा नः १, ६, १८, १९, २० र २१ मा बलियो छ । उसले वडा नः ३, ४,७, १२ र २१ लाई जित्ने सक्ने सूचिमा राखेको छ । कांग्रेसले वडा नः २, २२, १०, ५, ८ र ९ जित्ने वडाका रुपमा लिइएको छ । माओवादी केन्द्रले वडा नः ११, १७, ७ र २३ मा जित्न सक्ने सम्भावना छ । वडा नः १५ र १६ मा फोरमले बलियो छ ।

उपमहानगरपालिकाको सबैभन्दा बढी मतदाता भएको वडा २० हो । जहाँ ५२२८ मतदाता छन् । सबैभन्दा कम वडा नः २३ मा ६०९ मतदाता छन् । यो वडामा १३० मत ल्याउनेले निर्वाचन जित्ने छ ।

जातीय, धार्मिक र क्षेत्रीय प्रभाव बलियो

नेपालगञ्ज उपमहानगरपालिकामा जितका लागि जातीय, धार्मिक र क्षेत्रीय मतमा उम्मेदवारहरु भर पर्नुपर्ने अवस्था छ । नेपालगञ्जमा रैथाने मुस्लिम समुदायको धार्मिक मत सबैभन्दा बढी छ । २५ हजारको हाराहारीमा मुस्लिम समुदायको मत छ । यो मत कता खस्छ भन्ने कुराले मतपरीणामको पासा पल्टाइदिन सक्छ ।

मुस्लिम समुदाय पछि दोस्रो ठूलो मत पहाडी समुदायको छ । बिभिन्न पहाडी जिल्लाबाट बसाइँ सरेर आएको समुदायको मत कुनै एक पार्टीलाई मात्रै नगई सबैतिर बाँडिने हुँदा यसले उम्मेदवारको मतको खातामा ठूलो प्रभाव पार्न सक्ने देखिँदैन । पहाडी समुदायको मत १९ हजारको हाराहारीमा छ ।

उपमहानगरपालिकाका वडा नः १, १९, २० र १८ पहाडी समुदायको सघन बसोवास भएका वडा हुन् । वडा नः १८ मा मधेशी समुदायको पनि उपस्थिती छ । उपमहानगरपालिकाका प्रत्येक वडामा ५ सयदेखि ६ सयको हाराहारीमा मुस्लिम समुदायको मत छ । मुस्लिम समुदायको सघन उपस्थिति भएका वडाहरुमा वडा नः ३, १६ र २१ हुन् ।

नेपालगञ्ज उपमहानगरपालिकाको मत परिणामलाई तलमाथि पार्न सक्ने अर्को फ्याक्टर पनि छ त्यो हो- बनियाँ समुदाय ।

नेपालगञ्जमा व्यापार र व्यवसायमा जमेको बनियाँ समुदायको उपस्थिति वडा नः ५, ६, ७ र ८ मा छ ।

उपमहागनरपालिकाको त्रिभुवन चोक वरपर यो समुदाय करीव ५ हजार मत लिएर बसेको छ । शिवसेना नेपालको प्रभाव यो समुदायमा बढी छ । बनियाँ समुदायको मत धेरै जसो संघीय समाजवादी फोरम र लोकतान्त्रिक फोरमलाई जाने देखिन्छ ।

कसले जित्ला मेयर ?

नेपालगञ्जका चोक र चिया पसलहरुमा हुने गफमा सहभागीहरु समेत नेपालगञ्जको मेयर कसले जित्ला भनेर ठम्याउन सक्ने अवस्थामा देखिँदैनन् । अन्यत्र जस्तो २ पक्ष वा ३ त्रिपक्षीय प्रतिस्पर्धा यहाँ नभएर बहुपक्षीय प्रतिस्पर्धाले आकंलन गर्न समस्या बनाएको छ ।

विगतमा सुशील कोइरालाको निर्वाचन क्षेत्र हुनु, २ वटा निर्वाचन क्षेत्रमध्ये एउटा (क्षेत्र नं २) मा एमालेले जित्नु, एमाले मेयरका उम्मेदवार मुस्लिम समुदायबाट हुनु, साविक एमालेले जितेका गाविसहरु उपमहानगरपालिकामा गाँभिएको कारणले प्रतिस्पर्धा यी दुई दलका बीचमा अलि बढी हुने देखिन्छ ।

यद्यपि राप्रपाबाट महामन्त्री समेत रहेका पूर्व मेयर धवलशमशेर राणा अहिले मेयरको उम्मेदवार बनेका छन् । उनको प्रभाव नेपालगञ्ज नगरपालिकाका छ भन्ने कुरा ०७० सालको संविधानसभा निर्वाचनमा शुशील कोइरालाको निकटतम प्रतिद्वन्द्वी हुनुले पनि देखाएको छ ।

तर, पहिलो चरणको निर्वाचनमा राप्रपाको हार भएका कारणले गर्दा धवलको चर्चा निर्णायक ढंगबाट आउन सकेको देखिँदैन ।

राप्रपाका धवल समशेरलाई संविधानसभा निर्वाचनमा अत्यधिक मत आएका साविकका गाविसहरु इन्द्रपुर, बेलभार, साईगाँउ जानकी गाँउपालिकामा परेका छन् । यसकारण पनि धवल समशेरको चर्चा ठूलो तर मत कम आउन सक्ने देखिन्छ ।

राप्रपाकै नेता रहेका बिक्रम पाण्डेले निर्वाचन जितेको र प्रभाव क्षेत्र मानिएको भरतपुर महानगरपालिका साविक ४ गाविस र माडी नगरपालिकामा राप्रपाको अवस्था कमजोर देखिएबाट पनि थाहा हुन्छ कि राप्रपाको सांगठनिक मत छैन् । पहिलो चरणको चुनावमा एउटा पनि नगरपालिकामा जित्न नसकेको राप्रपाले राणाको जितलाई ठूलो आशाका रूपमा लिएको छ ।

माओवादीका मेयर उम्मेदवार बनेका दामोदार आर्चाय पनि चर्चामा छन् । आचार्य नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष हुन । उनको पक्षमा उद्योग वाणिज्य संघ नेपालगञ्जका अध्यक्ष नन्दलाल बैश्यको समूह प्रचारमा लागेका छन् ।

आचार्य पनि ०७० को संविधानसभामा बाँके ३ बाट कोइरालासँग पराजित भएका थिए । एमालेका मेयर उम्मेदवार समसुद्दिन सिद्दिकी ०५४ सालमा एमालेबाट उपमेयरमा निर्वाचित भएका थिए । ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा उनी बाँके ३ बाट पराजित भए ।

नेपालगन्जको रैथाने मुस्लिम परिवारका सिद्दिकी भारत्तोलनका अन्तरराष्ट्रिय खेलाडीसमेत हुन् । प्रमुख पार्टीबाट मेयरमा टिकट पाउने एक मात्र मुस्लिम समुदायका उम्मेदवार हुन् । मुस्लिम समुदायको मत आफ्नो पक्षमा पार्न सबै दलका उम्मेदवारहरू लागि परेका छन् ।
कांग्रेसका मेयर उम्मेदवार कनोडिया नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका निर्देशक समेत हुन् । उनलाई ‘क्यास’ गर्ने एमालेले प्रयास गरेको स्रोतले जानकारी दियो ।

कनोडिया कांग्रेसको समानुपातिकको सूचीमा थिए । नेपालगन्जको मधेसी समुदायका कनोडियाले मधेसी समुदायको सद्भाव पाउने देखिन्छ ।

बाँके थारु बहुल जिल्ला भए पनि उपमहानगरमा भने थारू बस्ती एकदमै कम छ । सबैभन्दा बढि मतदाता भएको वडा नः २० (५२२८ मत) वडा नः ४ (३९८१मत) वडा नः १८ (३५९२ मत), वडा नः ११ (३२९३ मत)  वडा नः १९ मा (३०७१) मत वडा नः ११ मा (३२९३ मत) एमालेका प्रभाव क्षेत्र हुन् ।

कांग्रेस बलियो भनेका वडाहरू वडा नः २, २२, १०, ५, ८, ९ मा ३ हजारभन्दा बढी मतदाता कुनै पनि वडामा छैन ।

तर, संघीय समाजवादी फोरम नेपालका मेयरका उम्मेदवार कमरुद्दिन राई पनि मुस्लिम समुदायबाट नै उम्मेदवार छन् । उनले पनि मुस्लिम समुदायको भोट घटाउनेछन् । यसको असर एमालेका समसुद्दिन सिद्दिकीमाथि पर्ने छ ।

नेपालगञ्जमा मुस्लिम मत निर्णायक हुन सक्छ । एमाले र फोरमका उम्मेदवार मुस्लिम भएकाले मुस्लिम मत काटिने र प्रतिवद्ध मुस्लिम भोट पाएर जित्ने विश्वास कांग्रेसको छ ।

मुस्लिम समुदायका अगुवा र प्रभावशाली व्यक्तिहरू अहिले कतै पनि खुलेका छैनन् । कसलाई मत दिने भन्ने निर्णय मस्जिदका अगुवा र मौलानाहरूले गर्ने भएकाले उनीहरूको मत कसलाई जान्छ भन्ने अझै टुंगो छैन ।

नेपाली कांग्रेसका तत्कालीन सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निर्वाचन क्षेत्र भएकाले पनि नेपाली कांग्रेसका लागि यो प्रतिष्ठाको विषय बनेको छ ।

सुकुम्वासी वस्तीः मत प्रभावित गर्ने क्षेत्र

नेपालगञ्ज नगरपालिकाको सुकुम्वासी वस्तीका रूपमा मनिकापुर र बासुदेवपुर परिचित छ । मनिकापुर वडा नः २० मा पर्दछ भने बासदेवपुर वडा नः १९ मा पर्छ ।

उपमहानगरपालिकाको वडा : २२ मा रहेको किङगरियापुर, वडा नः १२ मा रहेको चिढिमार र वडा नः ६ मा रहेको खूस्बदिया टोल मत प्रभावित गराउन सक्ने स्थानहरु हुन् ।

यी स्थानमा दलहरुले निर्वाचनको मौन अवधिमा मतलाई आ- आफ्नो पक्षमा पार्न भरमग्दुर प्रयास गर्ने देखिन्छ ।

के गर्दैछन् ठूला दल ?

निर्वाचन प्रचार प्रसारको अन्तिम दिन आज आइतबार भएकाले दलहरुले प्रचारलाई तिव्रता दिएका छन् ।

कांग्रेसले नेपालगञ्ज उपमहानगरपालिकाका विभिन्न चोकचोकमा र्‍याली र कोणसभा गर्ने जनाएको छ भने, नेकपा एमालेले रोड सो कार्यक्रम गर्ने पार्टी उपसचिव प्रमोद धितालले जानकारी दिए ।

माओवादी केन्द्रले टोलटोलमा मोटरसाइकल र्‍याली र कोणसभा गर्ने माओवादी केन्द्र उपमहानगर प्रचार संयोजक अमिर केसीले बताए ।

संघीय समजबादी फोरम नेपालले कोण सभा र मतदाता भेटलाई तीब्र पारेको प्रवक्ता शम्शुलहक राईले जानकारी दिए । राप्रपाका जिल्ला सल्लाहकार ऋषि देवकोटाले वार्ड वार्डमा सभा गर्ने कार्य क्रम रहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment