Comments Add Comment

माओवादीको चुनावी र्‍यालीलाई लक्षित गरी बम विस्फोट, दर्जन घाइते

११ असार, नवलपरासी । नवलपरासीको सुनवलमा चुनावी र्‍यालीलाई लक्षित गरी बम विस्फोट गराइएको छ । विस्फोटमा परी दर्जन बढी घाइते भएका छन् ।

घाइते मध्ये ५ जनाको अवस्था गम्भीर रहेको र उनीहरुको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी हवल्दार रुद्रप्रसाद सापकोटाले जानकारी दिए ।

सुनवल नगरपालिका ३ सोमनाथ खोलाको पुल नजिक नेकपा माओवादी केन्द्रको चुनावी र्‍यालीलाई लक्षित गरी बम विस्फोट गराइएको थियो । पुल नजिकै ढुंगामा लुकाइ राखेको बम विस्फोट भएको हो ।

इलाका प्रहरी कार्यालय सुनवलका अनुसार आइतवार दिउँसो साढे २ बजेतिर माओबादीको र्‍याली सुनवलबाट भूमहीतर्फ आउदै गर्दा बम विस्फोट भएको प्रहरीले जनाएको छ ।

नेपाली कांग्रेसको र्‍याली अगाडि कटिसकेको र माओवादीको पुल छेउ पुगको अवस्थामा बम विस्फोट भएको थियो । त्यस्तै माओवादीको पछाडि नेकपा एमालेको र्‍याली थियो । बम विस्फोट पछि र्‍याली विथोलिएको थियो ।

नवलपरासीका प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानाले विस्फोटमा परि कसैको मृत्यु नभएको तर केहि घाइते भएको जानकारी दिए ।

सुनवलका प्रहरी हवल्दार रुद्रप्रसाद सापकोटाका अनुसार सुनवल नगरपालिका १२ का मिना चौधरी, सुनवल १४ का श्रीकान्त केवट, फुलकुमारी कडरिया, बेलकुमारी कडरिया र सुनवल १० का ४२ वर्षीय लेखनाथ सुवेदी गम्भीर घाइते भएका छन् ।

बेलकुमारी र लेखनाथको अवस्था चिन्ताजनक छ । गम्भीर घाइते सबैको टाउकोमा चोट लागेको छ ।

र्‍यालीमा प्रयोग गरिएको लु १ ख ६७७३ नम्बरको माइक्रोमा पनि सामान्य क्षति भएको नेकपा माओवादी केन्द्रका उत्सव पौडेलले जानकारी दिए ।

नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य भविश्वर तिवारी आजादले विस्फोटमा परी माओवादी केन्द्रका १२ जना घाइते भएको बताए ।

तिवारीका अनुसार माओवादी केन्द्रका हेमन्त चौधरी, मनोज चौधरी र सुमित विक लगायत घाइते भएका छन् ।

त्यस्तै बस चालक ३० वर्षका नरवहादुर विक पनि घाइते छन् । सुनवल ११ केरवानीका ५७ वर्षीय नेपाली कांग्रेसका क्षेत्रीय सदस्य होम नारायण चौधरीसमेत घाइते भएको प्रहरीले जनाएको छ ।

विक र चौधरीको भूमही अस्पतालमा उपचार भइरहेको छ । सामान्य घाइते भएकाहरुको उपचार पछि डिस्चार्ज गरिएको छ ।

बिष्फोट कसले गराएको भन्नेवारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच आज बर्दघाट नगरपालिकाका नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार विश्वप्रेम पाठक र नेकपा माओवादी केन्द्रका मेयर पदका उम्मेदवार रुद्रप्रकाश उपाध्यायको घरमा पनि बम भेटिएको छ । बम नेपाली सेनाको डिस्फोजल टोलीले डिस्फोज गरेको छ । त्यसैगरी शुक्रवारराती एमालेका मेयरका उम्मेदवार धिरज शर्माको घरमा पनि बम फेला परेको थियो ।

बर्दघाट नगरपालिकाबाट मेयर पदमा उठेकाको घर घरमा बम फेला परेपछि यहाका स्थानीय त्रसित बनेका छन् ।

बम कसले राखेको हो भन्ने वारेमा केहि खुल्न सकेको छैन । प्रहरीले बम राख्ने अज्ञात समहको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

निर्बाचन कार्यालय र जिल्ला प्रसान कार्यालयले सुरक्षाको राम्रो ब्यबस्था मिलाइएकोले नागरिकलाई ढुक्क भएर चुनावमा भाग लिन आग्रह भने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment