Comments Add Comment

पहिरोमा परी बेपत्ता भएका प्रहरी जवानको शव भेटियो

११, असार, चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा गएको शुक्रवार राति पहिरोमा परि वेपत्ता भएका दुई प्रहरी जवान मध्ये १ जनाको शव नारायणी नदी किनारामा भेटिएको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनमा कार्यरत गोर्खा मकैसिंह-१ घर भएका ३१ वर्षीय प्रहरी जवान लिलबहादुर चेपाङको शव नवलपरासीको देवचूली नगरपालिका-१७ नारायणी नदी किनारमा भेटिएको इलाका प्रहरी कार्यालय रजहरले जानकारी दिएको छ ।

स्थानीय गाँउलेहरूले नदी किनारा नजिक एक व्यक्ति शव भेटिएको खबर गरेपछि गएको प्रहरी टोलीले ४ बजे शव नदीबाट निकालेको प्रहरी जवान रामकृष्ण आर्चायले जानकारी दिए ।

शवको मूचुल्का गरी भरतपुर अस्पतालको शव गृहमा पोस्टमार्टमका लागि पठाउने प्रकृया अघि बढाइएको छ ।

शुक्रवार राति इलाका प्रहरी कार्यालय मुग्लिनको ना १ झ १३९० नम्वरको प्रहरीसहितको भ्यान पहिरोले पुरेपछि वेपत्ता भएका तनहुँ भानु नगरपालिका ११ का २१ वर्षीय प्रहरी जवान सन्दीप कार्की अझै बेपत्ता छन् ।

प्रहरी भ्यानसहित त्रिशुलीमा खसेका धादिङ खनियावास गाउँपालिका- ४ का २९ वर्षका प्रहरी सहायक निरीक्षक निश्चलकुमार तामाङ र बारा हरैया- ६ का ३० वर्षीय प्रहरी जवान दीपककुमार मास्केको शव नदी किनारमा पुरिएको अवस्थामा सोही दिन भेटिएको थियो ।

प्रहरीको भ्यान अझै फेला परेको छैन । साथमा दुई हतियार र केही थान गोली पनि फेला परेको छैन । पहिरोसँगै ना ५ ख ७८२७ नं को ट्रकसमेत त्रिशूली नदीमा खसेको थियो । ट्रकका सहचालक सानु भोलान घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment