Comments Add Comment

चुनावी सभामा गगनलाई चिटः कांग्रेस आयो भने वृद्धभत्ता खोसिदिन्छ भन्छन्, हो ?

दार्चुलादेखि ताप्लेजुङसम्म यस्तो देखियो

११ असार, काठमाडौं । दोस्रो चरणको चुनाव प्रचार प्रचारका क्रममा नेपाली कांग्रेसका उम्मेदवारहरुले युवा नेता गगन थापालाई आइदिनुपर्‍यो भनेर खबर पठाए । प्रखर वक्ता, लोकपि्रय छवि एवं प्रचण्ड सरकारमा स्वास्थ्यमन्त्री हुँदा राम्रो काम गरेकाले चर्चा पाएका गगनलाई यस्तो निम्तो आउन स्वभाविकै थियो ।

तर, पार्टीले दार्चुला पठाएपछि गगनको धेरै समय ‘बाटाको म्याद’मै गुज्रियो । यद्यपि उनले पूर्व र पश्चिमका केही जिल्लाका चुनावी सभाहरुमा सम्बोधन गर्न भ्याए । मौन समयको अघिल्लो दिन धनगढीमा रहेका गगन थापाले अनलाइनखबरसँग आफ्नो चुनावी दौडाहको अनुभव यसरी बाँडेका छन् । उनकै शब्दमाः

प्रदेश नम्बर १ का पाँचथर, इलाम, ताप्लेजुङ र झापा पुगें । सबै ठाउँमा कांग्रेस र एमालेकै हो प्रतिस्पर्धा । यो पटकको चुनाव राष्ट्रिय मुद्दा भन्दा पनि स्थानीय एजेण्डाहरुमा नै बढी केन्दि्रत भएको पाएँ ।

मेयर उम्मेदवारलाई पार्टीसँग जोडेर एउटाखालको धारणा बनाइँदोरहेछ । तर, अरुको हकमा व्यक्ति हेरेर हुँदोरहेछ । पहिलाका चुनावहरुमा लिम्बुवान, संघीयता, जस्ता धेरै इश्यु थिए, ती सबै हराइरहेका छन् । धेरै उम्मेदवारहरुले भाषण गर्दा विकासकै कुरा गरे । म रिङरोड बनाउँछु, यो गर्छु, त्यो गर्छु भने ।

झापामा भने राष्ट्रिय राजनीतिको प्रभाव छ । त्यहाँ संविधान संशोधन लगायतका विषयहरु आए । र, हामीले बोल्दै गर्दा पनि त्यसकै सेरोफेरोमा रहेर बोल्यौं ।

पहिलो चरणको भन्दा राम्रो हुन्छ । हामी धेरै सम्हालिएको अवस्था छ । राष्ट्रिय मुद्दाहरुका कारण हाम्रा उम्मेदवारलाई खासै समस्या परेको छैन भन्दा फरक नपर्ला । व्यवस्थापकीय क्षमता एकदमै कमजोर छ

रोचक के छ भने पूर्वको मेचीदेखि पश्चिमका दार्चुल्लासम्म बोल्दै गर्दा पछाडिबाट मान्छेले एउटा चिट ल्याएर दिन्छ । त्यो चिटमा के भनिएको हुन्छ भने ‘एमालेले बृद्ध भत्ता हामीले बाँडेको, कांग्रेस आयो भने खोसिदिन्छ भनेर एमालेका नेताहरुले भाषण गरेका हुनाले कृपया यसलाई प्रस्ट्याइदिनुहोला ।’

यो म ताप्लेजुङ जाँदा पनि थियो, दार्चुला पुग्दा पनि थियो । बुद्धभत्तालाई यसरी प्रचार गरिएको छ कि हाम्रा उम्मेदवारहरुले दिनदिनै फेस गर्नु परेको छ ।

पहिलो संविधानसभाका बेलामा गाउँगाउँमा जाँदा मैले सयौं चिटहरु बोकेर ल्याएको छु । ‘कांग्रेसले राजालाई बोक्न चाहृयो भन्छन् नि’ भनेर चिट आउँथ्यो । ०७० को चुनावमा जाँदा ‘हामीलाई संघीयता विरोधी भन्छन्, यसलाई प्रष्ट पारिदिनुहोला’ भनेर चिट आउँथ्यो । यसपालि पनि मैले दर्जनौं चिटहरु पाएको छु र बोकेर पनि ल्याएको छु, मुख्य कुरा बृद्धिभत्ताबारे प्रष्ट पार्न भनिएको छ ।

साथीहरुले अरु कुरा होइन, जेष्ठ नागरिकले पाउने भत्ताबारे प्रष्ट पारिदिनुस् । एमालेका नेताहरुले चुनाव प्रचारका क्रममा ‘हामीले २ हजार बनायौं, कांग्रेस आयो भने खोस्छ’ भनेकाले हाम्रा नेताहरुले खोस्दैनौं, बरु दोब्बर पार्छौं भन्नु भएको छ ।

यो धेरै राम्रो होइन । यही कारण नै हो कि पहिलो चरणको चुनावबाट निर्वाचित भएका आएका स्थानीय जनप्रतिनिधिहरुले आउनासाथ धमाधम बृद्धभत्ता बढाउने निर्णय गरे । कसैले पनि मेरो नगरपालिकामा उद्योग खोल्न आउनुभयो भने ट्याक्स ब्रेक दिन्छु, जग्गा खोजेर दिन्छु भनेनन् । उनीहरुले २००/५०० बृद्धभत्ता थप्ने निर्णय धमाधम गरे, किनकि स्थानीय तहमा त्यसरी नै जनमत बनाइएको छ ।

म आफू पुगेको ठाउँहरुमा सामाजिक सुरक्षाको स्किम नै बनाउन सक्छौं, ठूलो कुरा होइन । ५ हजार वा १० हजार नै दिन सक्छौं । तर, मुख्य कुरा सामाजिक सुरक्षा दिन चाहिने रकमको स्रोत हो भनेर बुझाउन खोजेँ । जसलाई भोट दिएर जिताउनुहुन्छ, एक वर्षमा उसलाई सोध्नुस्, कतिवटा उद्योग धन्दा थपियो ? कतिजनाले रोजगारी पाए ? सफलता असफलता हेर्ने यही हो, भत्ता आफैं बढ्छ, चिन्ता नगर्नुस् भनेर सम्झाएँ । तर, मानिसहरुलाई अरु कुरा सुन्नै मन छैन ।

स्थानीय सरकार आयो माग्ने काम छैन, रोजगारी, उद्योग धन्दाको कुरा गर्ने हो भनेर जनमत निर्माण गर्ने सबै राजनीतिक दलहरुको जिम्मेवारी हो । तर, यसमा चुक्यौं ।

प्रदेश नम्बर ७ मा दार्चुला, बैतडी, कैलालीमा गएँ । दार्चुला र बैतडीका विकट गाउँहरुमा पुगे, यहाँ प्रदेश नम्बर १ मा जति पनि राष्ट्रिय मुद्दामा चासो छैन । दुबै प्रदेशको साझा कुरा भनेको मेयरको उम्मेदवारले बोल्दै गर्दा आ-आफ्नो स्टाइलले म रोड बनाउँछु, यो गर्छु भनेर प्रतिवद्धता नै जनाउँछ । राष्ट्रिय मुद्दामा खासै बोल्दैनन् । हिजो म बैतडीको दशरथ चन्द नगरपालिकामा थिएँ, त्यहाँका मेयरका उम्मेदवारले म एक रुपैयाँ पनि भ्रष्टाचार गर्दिनँ । म सुशासन दिन्छु भने । राष्ट्रिय मुद्दाहरुमा बोल्दै बोलेनन् ।

वुद्धभत्ताको चिट भने प्रदेश नम्बर १ मा भन्दा पनि बढी आयो । माथिका पहाडका जिल्लाहरुमा एमाले नेता भीम रावल धेरै घुम्नुभएको रहेछ, उहाँले ‘कांग्रेस आयो भने कैलाली कञ्चनपुर तोड्छ’ भनेर भनिदिनुभएको रहेछ । चिटमा बृद्धभत्तासँगै कैलाली कञ्चनपुरबारे प्रष्ट पारिदिनुस् भनेर आयो ।

निष्कर्षः पहिलो चरणको भन्दा राम्रो हुन्छ । हामी धेरै सम्हालिएको अवस्था छ । चुनावी अभियान पनि आक्रामक छ, जब कि पहिलो चरणमा एकदमै रक्षात्मक जस्तो थियो ।

राष्ट्रिय मुद्दाहरुका कारण हाम्रा उम्मेदवारलाई खासै समस्या परेको छैन भन्दा फरक नपर्ला । सहज वातावरणमा नै चुनाव लड्दैछन् । तर, एउटा समस्या छ, त्यो के हो भने व्यवस्थापकीय क्षमता एकदमै कमजोर, जुन हाम्रो सनातनी समस्या पनि हो । उम्मेदवारहरु ढिलो तय गर्‍यौं । त्यसमा पनि अझ ढिला गरेर चुनावी तालमेल गरेकाले स्थानीय स्तरमा असन्तुष्टि छ । त्यसलाई व्यवस्थापन गर्न अझै चुकेको पाएँ । यसले कत्तिको असर गर्छ हेर्न बाँकी छ । तर, पहिलो चरणको भन्दा अवस्था राम्रो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment