Comments Add Comment

तिङ्लाबासीको मौन विद्रोहः मतदाता परिचयपत्र बुझ्न कोही गएनन्

मतदाता परिचयपत्रको ठेली बोकेर दिनभरी घाम ताप्दै कर्मचारी

मतदाता परिचयपत्र लिन आउने आशमा बसीरहेका निर्वाचन कार्यालयका कर्मचारीहरु ।

११ असार, सोलुखुम्बु । निर्वाचन आयोगका कर्मचारी विहानैदेखि मतदाता परिचयपत्रको ठेली बोकेर गाउँलेको बाटो हेर्दै थिए । तर दिनभरी एकजना पनि मतदाता आफ्नो परिचयपत्र लिन आएनन् ।

‘नो भोट, नो क्यान्डिडेट’ अभियान चलाएका सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ६ -साबिकको तिङला गाउँ विकास समिति) का एकजना पनि मतदाताले आफ्नो परिचयपत्र लिएनन् ।

निर्वाचनका लागि खटिएको टोली सम्बन्धित मतदान केन्द्रमा समयमा नै तयारी अवस्थामा रहे पनि एकजना पनि मतदाता परिचय पत्र लिन केन्द्रमा नपुगेका हुन् । पाँच मतदान केन्द्र रहेको नेचासल्यान गाउँपालिका ६ मा कसैले मतदाता परिचय नलिएको मतदान अधिकृत नारायण तामाङले बताए ।

‘हामी विहान ७ बजेदेखि तयारी अवस्थामा छौं, एकै जना पनि नआएपछि वितरण भएको छैन,’ सिंहकाली माध्यमिक विद्यालय केन्द्रका मतदान अधिकृत तामाङले भने ।

सिंहकाली आधारभूत विद्यालयको केन्द्रमा पनि परिचय पत्र लिन कोही पनि नआएको मतदान अधिकृत सिताकुमारी भण्डारीले बताइन् ।

मतदाताहरु परिचय पत्र लिन नआएपछि निर्वाचनमा खटिएका कर्मचारीहरु घाम तापेर दिन काट्न बाध्य छन् ।

राज्य पुनर्संरचना आयोगको सिमांकन प्रति असन्तुष्टि जनाउँदै निरन्तर आन्दोलनमा रहेका तिङलाबासी यतिखेर ‘नो भोट, नो क्यान्डिडेड’ को आन्दोलनमा छन् । नेचासल्यान गाउँपालिकाको वडा नम्बर ६ वाट एकै जना पनि उम्मेदवार छैनन् ।

उनीहरुले सदरमुकाम दूधकुण्ड नगरपालिकामा रहन चाहे पनि कांग्रेस नेता बलवहादुर केसीको दबाबमा नेचा सल्यानमा राखियो । उम्मेदवारी मनोनयनका दिन आफ्ना कार्यकर्ता टंकवहादुर कार्कीलाई लिएर गएका केसीलाई स्थानीयले घेरा हालेर भगाएका थिए ।

कार्कीलाई अपहरण गरेको आरोप सांसद केसीले लगाएपछि संघर्ष समितिका तीनजना अहिले पनि हिरासतमा छन् । कार्कीले वारेसमार्फत दिएको उम्मेदवारी बदर भएपछि अन्य दुई स्वतन्त्र उम्मेदवारले पनि नाम फिर्ता लिएका थिए ।

१२० मतदान केन्द्र रहेको सोलुखुम्बुको अन्य मतदान केन्द्रहरुमा भने शान्तिपूर्ण रुपमा मतदाता परिचय पत्र वितरण भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

यो पनि पढ्नुहोस्

उम्मेदवारविहीन तिङलाबासी भन्छन्ः प्रदेश र केन्द्रमा पनि ‘नो भोट’

तिङ्लाबासीको ‘नो भोट’ आन्दोलनमा बलवहादुरले बल प्रयोग गरेपछि…

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment