Comments Add Comment

त्रियुगा नगरको एजेण्डाः नदी नियन्त्रण गर्ने, चुनढुंगा खानीले देशैभरि चम्किने

११ असार, काठमाडौं । भित्री मधेसको जिल्ला उदयपुरको त्रियुगा नगरमा यसपालीको स्थानीय चुनावमा त्रिपक्षीय भिडन्तको राप बढेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एमाले मुख्य प्रतिस्पर्धी रहेको नगरमा ८७ हजार जनसंख्या छ भने मतदाताको संख्या ४७ हजार रहेको छ ।

चार नगरपालिकामध्ये सबैभन्दा जेठो नगरपालिका भएर पनि स्थानीय निकायबाट विकासको स्वाद जनताले खासै चाख्न पाएका छैनन् । सायद यही कुरा विचार गरेर दोस्रो चरणको स्थानीय चुनावमा राजनीतिक दलका उम्मेदवारहरुले विकासका आकर्षक नारा र एजेण्डा अघि सारेका छन् । ती एजेण्डाहरु मुख्य तीन दलका मेयर उम्मेदवारहरुले अनलाइनखबरलाई यसरी सुनाएः

गाईघाटलाई आर्थिक केन्द्र बनाउने
वसन्त बस्नेत, मेयरका उम्मेदवार, नेपाली कांग्रेस

मैले कांग्रेसको राजनीति नेविसंघको सदस्यता लिँदै ०४२ सालदेखि सुरु गरेको हुँ । त्यसपछि नेविसंघको केन्द्रीय प्रचार विभागको सदस्य, तरुण दलको जिल्ला सदस्य हुँदै ०५८ सालमा कांग्रेसको जिल्ला सदस्य भएँ ।
०६१ सालदेखि निरन्तर रुपमा अहिले तेस्रो कार्यकाल उदयपुर क्षेत्र नम्बर २ को क्षेत्रीय सभापति छु ।

जितको आधार
लामो समयसम्म यो क्षेत्रबाट अन्य पार्टीका साथीहरुले प्रतिनिधित्व गरे । तर, यहाँको विकास-निर्माणको गति हेर्दा एकदमै उराठलाग्दो अवस्था रह्यो । यो अवस्थामा कांग्रेस नै आशाको केन्द्र बनेकोले जितको बलियो आधार तयार भएको छ । किनकि अथक मिहिनेत गरेकाले हाम्रो संगठन पनि अहिले अत्यन्त सुदृढ छ ।

आजको दिनमा युवासहित सम्पूर्ण नगरवासीले परिवर्तनको आवश्यकता महसुस गरेका छन् । त्यही आकांक्षा सम्बोधन गर्दै विकास-निर्माणको गतिलाई चुस्त पार्न र नयाँ स्वरुपको नगरपालिका निर्माण गर्न कांग्रेस अगाडि सरेको छ ।

मैले लामो समयदेखि नगरपालिकामा संगठनात्मक र विकास-निर्माणका धेरै काम गरेको छु । सामाजिक क्षेत्रमा सकेसम्म समय दिएको छु । पुल निर्माण, स्कूल बनाउनेदेखि खेलकुद क्षेत्रमा पनि काम गरेको छु । नदीले घेरिएको यो नगरमा नदी नियन्त्रणमा विशेष भूमिका खेल्दै आएको छु । यसै कारण जनताको आशा र विश्वास ममाथि छ । अहिलेको जनलहर हेर्दा पनि मैले पक्कै पनि चुनाव जित्छु ।

यसपाली हाम्रो प्रतिस्पर्धा एमालेसँग हुन्छ । तर, अरु पार्टी जातीय विखण्डन गर्ने रुपमा लागिरहेका छन् । तर, यहाँका जनता सचेत छन् ।

शिक्षित वर्गको साथ पाउनुका साथै ग्रामीण भेगका किसान, मजदुर लगायतको आशाको केन्द्र भएकाले यसपालि त्रियुगामा कांग्रेसले झण्डा गाड्नेछ ।

हाम्रो एजेण्डा

– वर्षायाममा खोलाको बाढीबाट यहाँका किसान र अन्य जनता आक्रान्त छन् । नदी नियन्त्रण गर्नु हाम्रो मुख्य एजेण्डा नै हो ।

– त्रियुगा नगरमा गाईघाट बजार केन्द्रको रुपमा छ । त्यसलाई आर्थिक केन्द्रको रुपमा विकास गर्ने ।- पछिल्लो समय तीन पहाडी गाविस साउने, खाँबु र जालपा चिलाउने त्रियुगा नगरमा गाभिएका छन् । पर्यटकीय हिसाबले यी हिल एरियाहरु सिक्किम, दार्जिलिङ, कालिम्पोङभन्दा कम छैनन् । ती ठाउँलाई हिल सिटी र पर्यटकीय हबको रुपमा विकास गरेर पर्यटन प्रवर्द्धन गर्ने ।

– गुरुयोजना बनाएर खोलालाई करिडोर सडकको रुपमा विकास गर्ने । त्यो सडकको प्रयोग गरेर भविष्यमा गाईघाट नगरलाई धूवाँ-धूलोबाट मुक्ति दिलाउने ।

– हामीसँग भएका खोलानालाको पानी त्यसै खेर गइरहेको छ । तर, सिंचाइको व्यवस्था नहुँदा किसानहरुले आकाशेपानीको भरमा खेती गर्नुपर्ने बाध्यता छ । त्यसको अन्त्य गर्न सिंचाइको समुचित व्यवस्था गर्ने ।

– सगरमाथा विमानस्थल निर्माण हुने क्रममा छ । त्यसको निर्माण पूरा गर्न विशेष पहल गर्ने ।

– नगरक्षेत्रमा ऐलानी जग्गा धेरै छन् । त्यसको सदुपयोग गर्दै पार्क, मनोरञ्जन स्थल तथा चिडियाखाना निर्माण गर्ने ।

– स्वास्थ्य चौकीहरुलाई स्तरोन्नति गरी स्थानीय स्तरमा भरपर्दो स्वास्थ्य सेवा उपलब्ध गराउने ।

– सरकारी विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार गर्ने ।

यी एजेण्डाहरुमा हरेक वर्ग र समुदायका जनताको साथ र सहयोग मिलेको छ । सबैको साथ पाएकाले यसपाली त्रियुगा नगरपालिकामा कांग्रेसले बाजी मार्दै छ ।

जीवनभरिलाई पुग्ने नीति बनाउँछौं
बलदेव चौधरी, मेयरका उम्मेदवार, नेकपा एमाले

मेरो राजनीतिक जीवन ०४० सालदेखि सुरु भएको हो । विद्यार्थीकालमा अनेरास्ववियुबाट राजनीतिक जीवनमा प्रवेश गरेको मैले एमालेको सदस्यता ०४७ सालमा लिएको हुँ ।

एमालेमा हाल केन्द्रीय कमिटि सदस्य छु । उदयपुरको जिल्ला इञ्चार्ज पनि हुँ । किसान महासंघको उपाध्यक्षको जिम्मेवारीमा पनि छु ।

जितको आधार

मैले जित्ने बलियो आधार भनेको एमालेको जनाधार बलियो हुनु नै हो । पहिलो कुरा त उदयपुर एमालेको पकड भएको ठाउँ हो । एमाले सबै नेपालीको मन-मनमा र घर-घरमा नीति पुर्‍याउने पार्टी हो । नेपाल र नेपालीलाई माया गर्ने पार्टी हो । यो कुरा सबै नेपाली जनता, गाउँदेखि, टोलदेखि वडासम्म कसैको नजरमा छिपेको छैन ।

एमालेले उदयपुर जिल्लाभरि चाहे विकास-निर्माणमा होस्, चाहे समाजलाई रुपान्तरण गर्ने पक्षमा होस्, सबै कुरामा अगुवाई गर्ने पार्टी हो । कतिसम्म भने, उदयपुरमा चार वटा नगरपालिकामा चार वटा नगरपालिका र चार वटा गाउँपालिका बनाउने खाका एमालेले तयार गरेको थियो ।

व्यक्तिगत रुपमा भन्नुपर्दा त्रियुगा नगरको विकास-निर्माण र सामाजिक क्षेत्रमा म राम्ररी भिजेको व्यक्ति हुँ । उदयपुर जिल्लामा खेलकुद विकास समितिको अध्यक्ष भएर खेलकुद क्षेत्रमा धेरै काम गरिसकेको छु । म आफैं ह्यान्ड बलको राष्ट्रिय खेलाडी पनि हुँ । युवा संघको अध्यक्ष भएर पनि जिल्लामा काम गरिसकेको छु । मैले क्याम्पस पूरा गर्नेबित्तिकै स्कूल स्थापना गरेँ । शिक्षा क्षेत्रमा गरिबका छोराछोरी पढाउन विशेष जोड गरेर त्रिजुगा जनता क्याम्पस मोतिगडामा पनि काम गरेँ । पछिल्लो समय खोलिएको बरुवा क्याम्पसको संस्थापक अध्यक्ष हुँ ।

सूचनाको हक स्थापित गर्न सामुदायिक रेडियोदेखि दैनिक पत्रिकासम्म सञ्चालन गरिरहेको छु ।

कानून व्यवसायीको हैसियतले उदयपुरमा चार चोटि बार एसोसिएसनको अध्यक्ष भएर यहाँका गरिब, पिछडिएका समुदायको लागि निःशुल्क कानूनी सेवा दिने काम गरेको छु । यसका साथै पार्टीको गाउँ, नगर, इलाका र जिल्ला कमिटिमा, निर्वाचन आयोगमा र लामो समयसम्म पार्टी संगठनदेखि हरेक क्षेत्रमा काम गरिसकेको हुनाले म चुनाव जित्ने आधार तयार भएको छ ।

नगरपालिकामा हाम्रो प्रतिस्पर्धा मुख्य गरी कांग्रेससँग हुन सक्छ ।

हाम्रो एजेण्डा

– त्रियुगा नगरपालिकालाई व्यवस्थित गर्न हामीले नारा नै बनाएका छौं- ‘त्रियुगा हाम्रो सुन्दर नगर, बनाउँछौं आधुनिक शहर ।’ विकासको यो परिकल्पना नगरपालिकाले अहिले पाउने बजेट ६८ करोडले पूरा हुन सक्दैन । यसैले स्थानीय प्राकृतिक स्रोत-साधनको पनि प्रयोग गरेर त्योभन्दा डबल रकम हामी जम्मा गर्नेछौं ।

– त्रियुगा नगरपालिका प्राकृतिक स्रोत-साधनमा सम्पन्न छ । हामीसँग २ सय वर्षलाई पुग्ने वडा नम्बर १६ को सिँदालीमा चुनढुंगा खानी छ । त्यसको उपयोग गर्न थालेको अहिलेसम्म २५ वर्ष मात्र भएको छ । २५ वर्ष पुग्दा अहिलेसम्म ५ प्रतिशत पनि खपत हुन सकेको छैन । यसको हामीले राम्रो उपयोग गर्न सक्यौं भने नगरपालिकाको १६ वटै वडाको विकास गर्न अरु केही चाहिँदैन ।

– रानीबास-खाँबुलाई पर्यटन क्षेत्र बनाउने । हामी त्यसलाई त्रियुगा नगरपालिकाको नगरकोट र भेडेटारको रुप दिने मोडलमा जानेछौं ।

– पहाडी बजारको रुपमा चिनिने साउनेलाई ‘हिल सिटी’ को रुपमा विकास गर्ने । त्यसको छेउमै कोशी बग्ने भएकाले र्‍याफ्टिङको व्यवस्था गरेर त्यसलाई पर्यटक तान्ने ठाउँ पनि बनाउने ।

– जोगीदह क्षेत्रमा सबै जातजाति र समुदाय मिलेर बसेका छन् । त्यसलाई सांस्कृतिक सद्भावको नमूना वडा बनाउने । बाँकी ठाउँलाई गुरुयोजना बनाएर स्मार्ट सिटी, हरित सिटी, सुन्दर नगर बनाउने ।

– यहाँ रहेका त्रियुगा जनता र बरुवा क्याम्पसमा अहिले दिवा कक्षा मात्र सञ्चालन हुन्छ । गरिब, मजदुरका छोराछोरी दिनभर काममा जोतिने भएकाले पढ्न पाएका छैनन् । तिनको लागि क्याम्पसहरुमा रात्रि कक्षा पनि सञ्चालन गराउने ।

– एमालेकै पहलमा चतरादेखि हेटौंडासम्म ३ सय १५ किलोमिटर सडक बनाउन १६ अर्ब रुपैयाँ बजेट परेको छ । त्यो सडक बनेपछि हरदम चल्ने भएकाले गाईघाट बजारलाई हरदम बजार खुलाउने हाम्रो तयारी छ ।

– सडक पूर्वाधारको कुरा गर्दा हामीले रिङरोडको पनि कल्पना गरेका छौं । सबै ठाउँलाई रिङरोडले जोड्ने, सबै वडालाई सडकले जोड्ने ।

– पाँच वर्षमा १ सय २० मेगावाट बिजुली निकालेर त्रियुगा नगरलाई लोडसेडिङमुक्त पार्ने । यसका लागि चुरेबाट बग्ने सम्पूर्ण नदीलाई त्रियुगामा मिसाएर यसलाई अभिशाप हैन, वरदान बनाउने र बाँकी रहेका ठाउँमा बहुउपयोगी नीति बनाएर सोलार समेत राखेर कम्तीमा पहिलो वर्षमा २० वाट, पाँच वर्षमा १ सय २० मेगावाट बिजुली निकाल्ने । बिजुली निकाल्दा नगरपालिकाको योजनामा सबै लगानी विदेशी कम्पनीले गरिदिने । त्यो बिजुली दिँदा नेपाल सरकारले तिरेको मूल्यभन्दा कम मूल्यमा नगरपालिकावासीलाई बेच्नुपर्छ भन्ने हाम्रो कुरा छ ।

– एक घर एक रोजगार, जनता आवास कार्यक्रम जस्ता योजना ल्याउने ।

– प्रशासन लगायत सरकारी सेवा लिँदा जनताले दुःख पाउने अवस्था अन्त्य गर्दै सुशासनको व्यवस्था गर्ने ।

यी एजेण्डामार्फत जनतालाई अधिकारसम्पन्न बनाउने नीति एमालेले ल्याएको कारण चुनाव जित्न हामीलाई कुनै अप्ठेरो छैन । अरु पार्टीले अहिले चामल बाँड्ने, सारी बाँड्ने र पैसाको कुरा गर्छन् । तर, एमाले नीति बाँड्ने र नीतिको शासन दिने कुरा गर्छ । जनतालाई आज एकदिन दिएर एकदिन छाक टार्ला, एकदिन लगाउँला । कानूनी रुपमा जनताले अधिकार प्राप्त गरे भने स्वतः जीवनस्तर फेरिन्छ । हामीले जीवनभरिलाई पुग्ने नीति बनाइदिन्छौं ।

खानी र जमिन प्रयोग गरेर आर्थिक समृद्धि
किरण राई, मेयरका उम्मेदवार, माओवादी केन्द्र

मेरो राजनीतिक जीवन ०५० सालबाट सुरु भएको हो । पहिले म कांग्रेसको भ्रातृ संगठन नेविसंघमा आबद्ध थिए । ०६४ सालदेखि माओवादीमा प्रवेश गरेको हुँ । हाल म पार्टीमा म केन्द्रीय भेला आयोजक समिति सदस्य छु ।
अहिले त्रियुगा नगरका जनतामाझ उभार आएको छ । विभिन्न ठाउँबाट भेटघाटको लागि माग आइरहेको छ र हामी कुना-कन्दरासम्म पुगिरहेका छौं ।

जित्ने आधार

मैले लामो समयदेखि जनताको निम्ति इमान्दार भएर काम गरेको छु । त्यसमा पनि नगरपालिकाको निम्ति नयाँ कामहरु गरेको छु ।

दयपुर गोल्डकप सञ्चालन गर्नुमा मेरो अहम् भूमिका छ । त्यस्तै, शैक्षिक गुणस्तर धराशायी भएको त्रियुगा उच्च माविको स्तर उकासेको छु । अहिले इञ्जिनियर कलेज खोल्ने तयारी भइरहेको छ । उदयपुरमा थरुहट रंगशाला निर्माणको पहल पनि मैले नै गरेको हुँ ।

जनतालाई परेको समस्याको विषयमा आफ्नो व्यक्तिगत जीवन नहेरी, रातबिरात केही नभनी साथ र सहयोग गर्दै आएकोले म जनताको मान्छे हुँ । यसर्थ यसपाली जनताले आफ्नो माझमा रहेको प्रतिनिधिको रुपमा मलाई छान्दै छन् ।

अर्को महत्वपूर्ण कुरा, माओवादीको एजेण्डा पनि हाम्रो जितको ठोस आधार हो । नयाँ संविधानमा सबै जाति, समुदाय, महिला, दलित, मुस्लिम, मधेसी, अल्पसंख्यक सबैको अधिकार सुनिश्चित गर्ने प्रावधान समेटिएको छ । त्यो प्रस्ताव हाम्रो हो । माओवादीले संविधानसभाको दुई वटा निर्वाचन अगाडि जे कुरा गर्छौं भनेर भोट मागेको थियो, जनताको त्यो नासो दिइसकेको छ । आज तेस्रो क्रममा हामी स्थानीय चुनावमा आएका छौं । यो एजेण्डाका कारण पनि जनताले हामीले मतदान गर्नुहुन्छ भन्ने लाग्छ ।

नगरपालिकामा चुनावी प्रतिस्पर्धा त्रिपक्षीय हुने देखिन्छ । त्यसमा पनि हाम्रो प्रतिस्पर्धा नेपाली कांग्रेससँग हुनेछ ।

हाम्रो एजेण्डा

– यहाँ कतिपय घरपरिवार विपन्न भएकाले दैनिक छाक टार्नै समस्या छ । ती घरपरिवारको तथ्यांक संकलन गरेर हामी विपन्न परिचयपत्र उपलब्ध गराउँछौं । परिचयपत्र पाउने घरपरिवारलाई नगरपालिकाले सिर्जना गर्ने रोजगारीमा पहिलो अवसर दिइनेछ । त्यो अवसर नपाउन्जेल विशेष भत्ताको व्यवस्था गर्ने ।

– नगरक्षेत्रका सबै भागमा शुद्ध खानेपानीको अभाव छ । यो अभाव हटाउन दुई वर्षभित्रमा सबै ठाउँमा खानेपानी व्यवस्थापन गर्ने ।

– यहाँ एउटा गतिलो अस्पताल छैन । गुणस्तरीय सेवा पाइने अस्पताल नहुँदा यहाँका स्थानीयहरु उपचार गर्न धरान, विराटनगर जस्ता बाहिरी शहर जानुपर्ने बाध्यता छ । त्यसलाई रोक्न सबै उपचार यहीँ हुने अस्पताल खोल्ने । मेडिकल कलेज र नर्सिङ कलेज, कृषि कलेज खोल्न अग्रसरता लिने ।

– सरकारी विद्यालयहरुमा खस्कँदो शिक्षाको गुणस्तर सुधार गर्ने ।

– स्वरोजगारहरु सिर्जना गर्ने गरी प्राविधिक क्याम्पस स्थापना गर्ने ।

– कृषिलाई आधुनिकीकरण गर्दै व्यावसायिकरण गर्ने । त्यसमा युवाहरुलाई स्वरोजगारको सिर्जना गर्ने । युवाहरुलाई उद्यमी बनाउने वातावरण बनाइदिने ।

– हामीसँग दुई-तीन सय वर्षसम्म पनि नसकिने चुनढुंगाको खानी छ । त्यो खानीको प्रयोग गरेर त्रियुगालाई सिमेन्ट आपूर्ति गर्ने नगरपालिकाको रुपमा स्थापित गर्ने । तेल बेचेर धनी भएका अरब मुुलुकहरु, हीरा बेचेर सम्पन्न भएका ब्राजिलियनहरु जस्तै त्रियुगा नगरवासीहरुलाई सिमेन्ट बेचेर तथा कृषिजन्य कम्पनी खोलेर धनी बनाउने हाम्रो कार्ययोजना हुनेछ । उदयपुर सिमेन्ट कारखानामा आवश्यक परेमा अरु प्लान्ट पनि थप्ने ।

– नगरमा १९ हजार ५ सय घरधुरी छ । स्थानीय प्राकृतिक स्रोत-साधनको प्रयोग गरेर अबका दिनमा खुल्ने सबै उद्योगमा जनतालाई सेयर दिने कुरा सुनिश्चित गर्ने । सबै जनतालाई एक घर एक सेयर अनिवार्य रुपमा दिने ।

त्रियुगाको नगरको विकासको मुख्य आधार नै यहाँ रहेको प्राकृतिक स्रोत-साधन हो । अर्को कुरा, हामीसँग जंगल छ । जडिबुटी उत्पादन हुने ठाउँहरु छन् । हामीसँग सजिलै भूमिगत सिंचाइ हुने जमिनहरु छन् । खानी र जमिन प्रयोग गरेर आर्थिक समृद्धि हासिल गर्ने हाम्रो लक्ष्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment