Comments Add Comment

झापाका १५ स्थानमा ओली अगाडि कि सिटौला ?

यस्तो छ झापा जिल्लाको चुनावी आँकलन

११ असार, झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको गृहजिल्लाका रुपमा परिचित झापाको चुनावी राजनीतिलाई विशेष चासो र महत्वका साथ हेरिएको छ ।

ओली र सिटौला दुबैजनाले झापालाई आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् । उनीहरु दुबै बहुमत स्थानीय तहमा जित हासिल गरेर झापामा आफ्नो उपस्थिति दह्रो भएको देखाउन चाहन्छन् ।

एमाले अध्यक्ष ओली र कांग्रेस नेता सिटौला चुनाव आउनुभन्दा दुई साता अघिदेखि आफैं मैदानमा खटिएका छन् । दुबैजनाले जिल्लाका विभिन्न स्थानमा गएर कार्यकर्तालाई फकाउनेदेखि आम जनमानसलाई आकषिर्त गराउन विविध कार्यक्रम गरेका छन् ।

एमाले र कांग्रेसमा यी दुई प्रभावशाली नेताको दौडधुपले झापाको चुनावी माहौल अझ तताएको छ । कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मा र गगन थापा पनि झापामा खटिएका छन् ।

कांग्रेस र एमालेमात्रै होइन, झापा माओवादी केन्द्र र राप्रपाले पनि जितका लागि गरेको ठाउँको हो । यी दुई पार्टीले यहाँका केही स्थानीय तहमा जित निकाल्ने दाबी गर्दै आएका छन् ।

जिल्लाका १५ स्थानीय तहको पाएसम्मको विवरण यस्तो छः

दमक नगरपालिका

केपी ओलीको गृहजिल्ला दमक नगरपालिकामा खासगरी एमाले, राप्रपा र माओवादीवीच प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली कांग्रेसको पोजिसन दमकमा कमजोर देखिएको छ ।

एमालेले रोमनाथ ओलीलाई दमकको मेयरमा उठाएको छ भने राप्रपाले राम थापालाई उठाएको छ । एमाले दमकमा पकड राम्रो भएको पार्टी भएता पनि राप्रपाका राम थापा लोकपि्रय भएकाले राप्रपा एमालेवीच प्रतिस्पर्धा हुने स्थानीय बताउँछन् ।

त्यसैगरी माओवादीका उम्मदेवार गगन पुरी पनि एमाले नेताहअरुका लागि चुनौती बनेका छन् । पुरीले दमकमा माओवादीको जित निश्चित भएको दाबी गर्दै आएका छन् । युवा पुस्तामा पुरीको प्रभाव छ ।

हालै एमाले अध्यक्ष केपी ओलीले दमक नगरपालिकाका वडा वडामा गएर भोट मागेका छन् । तैपनि दमकमा चुनाव जित्नेमा एमाले नेताहरु ढुक्क हुन सकेका छैनन् । कांग्रेस कमजोर देखिए पनि दमकमा एमालेका लागि राप्रपा र माओवादी मुख्य चुनौती हुन् ।

राप्रपा नेता राजेन्द्र लिङदेन दमक र बिर्तामोडमा आफ्नो पार्टीले जित्ने दाबी गर्छन् ।

बिर्तामोड नगरपालिका

झापाको अर्को चर्चित नगरपालिका बिर्तामोड पनि राजनीतिक प्रतिस्पर्धाको केन्द्र हो । यहाँ पनि दमकमा जस्तै कांग्रेस, एमाले, राप्रपा र माओवादीवीच चौपक्षीय प्रतिस्पर्धा हुँदैछ ।

एमालेले बिर्तामोडको मेयरमा ध्रुव सिवाकोटीलाई उठाएको छ । कांग्रेसले फुटबल खेलाडी जलकुमार गुरुङलाई उठाएको छ । माओवादीले युवा नेता सीपी कडरियालाई उठाएको छ भने राप्रपाले भक्ति सिटौलालाई उठाएको छ ।

बिर्तामोडको मेयरमा उठेका चारैजना उम्मेदवारहरु चर्चित र दह्र मानिन्छन् । माओवादीका कडरिया पनि युवामाझ चर्चित छन् । राप्रपाका भक्ति जितको दाबा गरिरहेका नेता हुन् । कांग्रेस र एमाले त झनै पहिलो र दोस्रोका लागि कसरत गरिरहेका दल हुन् ।

तथापि पहिले नेपाली कांग्रेसमा रहेर पछि राप्रपामा लागेका भक्तिले कांग्रेसको बढी भोट काट्न सक्ने स्थानीयको विश्लेषण छ । त्यो अवस्थामा एमालेलाई फइदा पुग्न सक्छ ।

कांग्रेस, माओवादी र राप्रपा तीनवटै दलले बिर्तामोडमा बलिया उम्मेदवार उठाएका कारण एमालेका लागि पनि जित निकाल्न निकै चुनौतीपूर्ण छ र यहाँको नतिजा कस्तो आउँछ अहिल्यै भनिहाल्न सकिने अवस्था छैन ।

मेचीनगर नगरपालिका

झापाको मेचीनगर नगरपालिकामा मुख्य प्रतिस्पर्धा भनेको कांग्रेस र एमालेले बीच नै हो । कांग्रेसबाट विमल आचार्य र एमालेबाट विष्णु प्रसाईं उम्मेदवार छन् ।

माओवादी केन्द्रबाट हंशलाल राजवंशी उम्मेदवार छन् । उनले राजवंशी समुदायको मत बटुल्ने स्थानीयको विश्लेषण छ । यहाँ यो समुदायको १६ हजार मत छ । स्थानीयका अनुसार विगतमा यो समुदायको मत एमालेलाई जाने जाने गरेको थियो । तर, अहिले राजवंशीको उम्मेदवारीले एमालेको भोट काटिनेछ ।

राप्रपाबाट उठेका रमेशुकमार दाहाल बौद्धिक व्यक्तिका रुपमा चिनिन्छन् । उनी विगतमा कांग्रेसका जिल्ला सदस्य थिए । पछि पार्टी परित्याग गरेर राप्रपामा आएकाले उनले कांग्रेसको भोट काट्ने स्थानीयको विश्लेषण छ ।

नयाँ शक्तिकी उम्मेदवार पनिता ढकालले माओवादीको मत काट्नेछिन् । यहाँको कुल मतदाता संख्या ७२ हजार ७ सय ९४ छ ।
मेचीनगर नगरपालिका कांग्रेस नेता विश्वप्रकाश शर्मा र रविन कोइरालाको गृहनगर भएकाले यहाँको चुनाबी नतिजा दुई ठूला पार्टीका लागि प्रतिष्ठाको लडाइँ बनेको छ ।

कनकाई नगरपालिका

कनकाई नगरपालिकामा कांग्रेस र एमालेबीच प्रमुख प्रतिस्पर्धा हुने स्थानीय बताउँछन् । यहाँ तेस्रो शक्ति कुन पार्टी होला भन्नेमा माओवादी केन्द्र र राप्रपाबीच प्रतिस्पर्धा हुने बताइन्छ ।

यसअघि कनकाई नगरपालिका एमालेको उपस्थिति दह्रो रहँदै आएको थियो । तर, अहिले साविकको सुरुङ्गा गाविसका पूर्वअध्यक्ष भीमप्रसाद अधिकारी एमाले परित्याग गरी स्वतन्त्रबाट मेयरमा उठेका छन् ।

अधिकारीले एमालेको भोट काट्दा यहाँ कांग्रेसलाई फाइदा हुने देखिन्छ । राप्रपाबाट उठेका केदार गिरीले कांग्रेसको मत काट्ने स्थानीय बताउँछन् । हाल राप्रपाबाट उठेका उनी पहिले पूर्वकांग्रेस नेता हुन् ।

भद्रपुर नगरपालिका

भद्रपुर नगरपालिकामा पनि कांग्रेस र एमालेबीच नै मुख्य प्रतिष्पर्धा हुने स्थानीयको विश्लेषण छ । कांग्रेस र एमालेबीच झिनो मतान्तरले हारजित हुने स्थानीय विश्लेषण गर्छन् ।
भद्रपुरमा तेस्रो र चौथोमा कुन दल रहलान् भन्नेमा माओवादी र राप्रपाबीच प्रतिस्पर्धा हुने बताइन्छ ।

भद्रपुरमा नेपाली कांग्रेस परित्याग गरेर जगदीश काफ्ले स्वतन्त्रबाट मेयरमा उठेका छन् । उनले कांग्रेसको मत काट्नेछन् ।
त्यस्तै विगतमा चन्द्रगढी गाविसका अध्यक्षसमेत रहेका मेयरका उम्मदेवार दुर्गा भट्टराईले एमालेको भोट काट्नेछन् । भट्टराई विगतमा चन्द्रगढी गाविस अध्यक्ष जित्दा एमालेबाट उठेका थिए, पछि माओवादीमा प्रवेश गरे ।

माओवादी उम्मेदवार भट्टराईले प्राप्त गर्ने कुल मतको ६० प्रतिशत एमाले र ४० प्रतिशत माओवादी-कांग्रेसको मत बटुल्ने स्थानीयको विश्लेषण छ ।

अर्जुनधारा नगरपालिका

शनिश्चरे, अर्जुनधारा र खुदुनाबारी गाविस मिलेर नगरपालिका बनेको अर्जुनधाराको इतिहास हेर्ने हो भने ०५४ सालमा यी तीनै वटा गाविसमा एमालेले जित निकालेको थियो ।

अहिले कांग्रेस पनि यहाँ बलियो रहेको स्थानीयको विश्लेषण छ । त्यसैले यहाँ कांग्रेस र एमालेबीच तीब्र प्रतिस्पर्धा हुने बताइन्छ । यहाँ राप्रपा र राष्ट्रिय जनमुक्तिका उम्मेदवार मीमा पन्धाकले केही भोट काट्ने भए पनि कांग्रेस र एमालेको प्रतिस्पर्धामा खासै प्रभाव नपर्ने स्थानीयको विश्लेषण छ ।

शिवसताक्षी नगरपालिका

शिवसताक्षीमा कांग्रेस, एमाले र माओवादीबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । यसअघिको नतिजा हेर्ने हो भने यहाँ तुलनात्मकरुपले एमालेको उपस्थिति बलियो छ । कांग्रेसको पनि यहाँ राम्रो पकड मानिन्छ । माओवादीका उम्मेदवार महेन्द्र भट्टराई युवा माझ लोकपि्रय छन् । उनी नगरका चर्चित विद्यार्थी नेता हुन् । त्यसैले यहाँ कांग्रेस, एमाले र माओवादीबीच मुख्य प्रतिस्पर्धा हुने बताइन्छ ।

यहाँ कांग्रेस छाडेर विजय साँवाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनले कांग्रेसको भोट काट्ने स्थानीय बताउँछन् । जसको फाइदा एमाले वा माओवादीले उठाउन सक्छन् ।

गौरादह नगरपालिका

गौरादहमा कांग्रेस, एमाले र माओवादीबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने बताइन्छ । दोस्रो संविधानसभाको नतिजा हेर्ने हो भने यो क्षेत्रमा एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी तेस्रो भएको थियो । र, कांग्रेस र माओवादी बीच डेढ सय मतको मात्रै अन्तर थियो ।

त्यतिवेलाका ९ वटा गाविसमध्ये अहिले ५ वटा गौरादहमा पर्छन् । त्यतिवेला संसदीय चुनावमा माओवादीबाट उठेका पुष्प ढकाल अहिले मेयरको चुनावी मैदानमा छन् ।

कांग्रेसका उम्मेदवार रोहित साह महासमिति सदस्य हुन् । उनी पार्टीका क्षेत्रीय सभापति समेत हुन् । एमालेका उम्मेदवार मदन अधिकारी एमालेका जिल्ला सचिव हुन् ।
कांग्रेसका मेयर उम्मदेवार स्वच्छ छविका मानिन्छन् । उनले आदिवासी, मधेसी समुदायको भोट तान्ने अनुमान गरिएको छ, जसले गर्दा यहाँ एमालेलाई चुनौती छ ।

कमल गाउँपालिका

विगतलाई हेर्ने हो भने कमल गाउँपालिका एमालेले जितेको ठाउँ हो । ०५४ सालको निर्वाचनमा एमालेले जितेको थियो । तर, अहिले यहाँ एमालेभित्रै अन्तरविरोध छ । र, यसको फाइदा अन्य राजनीतिक दलले लिन सक्ने स्थानीय बताउँछन् ।

कांग्रेसका उम्मेदवार हुकुमसिंह राई पनि लोकिप्रय युवा हुन् । माओवादी उम्मेदवार विमल संग्रौला कानुन व्यवसायी हुन् ।

हल्दीबारी गाउँपालिका

हल्दिबारीमा कांग्रेस, एमाले र राप्रपाबीच मुख्य प्रतिस्पर्धा हुने स्थानीयको विश्लेषण छ । ०५४ सालको निर्वाचनलाई हेर्ने हो भने यो एमालेले जितेको क्षेत्र हो ।

राप्रपाका उम्मेदवार रविन्द्र लिङ्देन पार्टीका नेता राजेन्द्र लिङ्देनका भाइ भएकाले हल्दीबारीमा राप्रपाले आफ्नो जितलाई प्रतिष्ठाको विषय बनाएको छ । यहाँ कांग्रेस पनि बलियो रुपमा प्रस्तुत हुनेछ ।

बुद्धशान्ति गाउँपालिका

बुद्धशान्ति गाउँपालिकामा कांग्रेस, एमाले र माओवादीबीच प्रतिस्पर्धा हुने स्थानीय बताउँछन् । कांग्रेसका उम्मेदवार रमेश भुजेल सामाजिक व्यक्तित्वका रुपमा चिनिन्छन् । उनी बुधबारे गाविसका पूर्वपार्टी सभापति पनि हुन् ।

उता, एमालेले जिल्ला अध्यक्ष चिन्तन पाठकलाई नै उम्मेदवार बनाएको छ ।

माओवादीले पवन तिम्सिनालाई उम्मेदवार बनाएको छ । उनी दोस्रो संविधानसभाको निर्वाचनमा क्षेत्र नं. १ बाट उम्मेदवार बनेका थिए ।

गौरीगञ्ज गाउँपालिका

गौरीगञ्ज गाउँपालिकामा कांग्रेस र एमाले, माओवादीबीच प्रमुख प्रतिस्पर्धा हुने स्थानीय बताउँछन् । यहाँ कांग्रेसबाट फूलवती राजवंशी, एमालेबाट श्याम ढकाल र माओवादीबाट विद्यासिंह राजवंशी चुनावी मैदानमा छन् । राप्रपाका बाबुराजा श्रेष्ठले यी तीन दलको केही भोट काट्ने बताइन्छ ।

बाह्रदशी गाउँपालिका

बाह्रदशीमा एमाले र कांग्रेसबीच मुख्य प्रतिस्पर्धा हुने बताइन्छ । एमालेबाट लक्ष्मण पाठक र कांग्रेसबाट खड्गप्रसाद राजवंशी उम्मेदवार छन् । यसअघि उम्मेदवार छनोठको विषयमा एमालेभित्र विवाद थियो । त्यसबाट कांग्रेसले फाइदा लिन सक्ने बताइन्छ । तर, एमाले नेताले भने विवाद समाधान भइसकेको दाबी गरेका छन् ।

यहाँ माओवादीबाट देवीप्रसाद ओझा, राप्रपाबाट भीम कार्की र फोरमबाट रंगलाल राजवंशी उम्मेदवार छन् ।

झापा गाउँपालिका

झापा गाउँपालिकामा कांग्रेस, एमाले र माओवादीबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने स्थानीय बताउँछन् । यहाँ कांग्रेसबाट उम्मेदवार बनेका जयनारायण शाह पार्टीका कांग्रेसका क्षेत्रीय सभापति एवम् पूर्वगाविस उपाध्यक्ष हुन् ।

एमाले उम्मेदवार बनेका गजेन्द्र ताम्ली गीतकार एवम् भलिबल खलाडी हुन् । माओवादीबाट उम्मेदवार बनेका रुद्र बजगाईं भूमिगत कालदेखि नै प्रहरीको कठोर यातना सहेका युवा व्यवसायी हुन् । यहाँबाट तीनै पार्टी जित निकाल्ने दाबी गरेका छन् ।

कचनकवल गाउँपालिका

कचनकवलमा कांग्रेस, एमाले, माओवादी र राप्रपाबीच प्रतिस्पर्धा हुने बताइन्छ । यहाँ कांग्रेसले कालेन्द्र राजवंशी, एमालेले शेरबहादुर खत्री र माओवादीले हंशनारायण राजवंशी उठाएको छ । राप्रपाबाट अञ्जार आलम उठेका छन् ।

कसको पोजिसन कस्तो ?

झापामा १५ वटा स्थानीय तह छन् । यीमध्ये दमक, बिर्तामोड, भद्रपुर, गौरादह, मेचीनगर लगायत ८ वटा नगरपालिकामा कसले बाजी मार्ने भन्ने प्रमुख दलवीच होडबाजी छ ।

कुल १५ स्थानीय तहमध्ये राप्रपाले दमक, बिर्तामोड, हल्दीबारी र कचनकबलमा आफूले जित्ने रणनीति बनाएको नेताहरु बताउँछन् ।

माओवादीले दमक, बिर्तामोड, शिव सतासी, गौरीगञ्ज र गौरादहमा जित्ने लक्ष लिएको बताइन्छ । नेपाली कांग्रेसले मेचीनगर, कमल र बाह्रदशीमा जित सु्निश्चित भएको दाबी गरेको छ भने कनकाइ, भद्रपुर, बुद्धशान्तिमा प्रतिस्पर्धामा रहेकाले जित्ने दाबी गरेको छ ।

कन्काइ नगरपालिकामा भने स्वतन्त्रले जित्ने कतिपयको दाबी छ । त्यस्तै एमालेले दमक, बिर्तामोड, झापा, शिवसताक्षी लगायतका स्थानीय तहमा जित सुनिश्चित भएको दाबी गरेको छ ।

कांग्रेस झापामा आफूलाई बहुमत सीट जिताएर ठूलो दल बनाउने रणनीतिमा छ भने एमाले १५ मध्येका धेरै स्थानहरु जितेर देशको ठूलो दल बन्ने अभियानमा झापाबाट योगदान गर्ने रणनीतिमा छ । पहिलो चरको चुनावमा निराशाजनक परिणाम व्यहोरेको राप्रपा झापाबाट नगरपालिकामै खाता खोल्ने रणनीतिमा छ । माओवादी पनि केपी ओलीको गृहनगर कब्जा गरेर दखाउने रणनीतिमा लागेको देखिन्छ ।

जिल्लाका समग्र स्थितिलाई हेर्दा एमालेलाई कांग्रेस, राप्रपा र माओवादी तीनवटै दलहरुले चुनौती दिइरहेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment