Comments Add Comment

मौसमविदको चेतावनीः चुनावका दिन पानी पर्छ, मतपत्र भिज्लान् !

छाता बोकेर मतदान स्थलमा जान मतदातालाई सुझाव

११ असार, काठमाडौं । आगामी बुधबार हुन लागेको मतदानका क्रममा चुनावका सामाग्री नभिजाउने गरी मतदान केन्द्रको व्यवस्था गर्न मौसमविदहरुले सरकारलाई सुझाव दिएका छन् ।

दोस्रो चरणमा १, ५ र ७ नम्बर प्रदेशका जिल्लाहरुमा असार १४ गते चुनाव हुँदैछ । तर, असार १२ गतेदेखि १४ गतेसम्म पानी पर्ने मौसमविदहरुको पूर्वानुमान छ ।

मौसमविद शान्ति कँडेलले अनलाइनखबरसँग भनिन्, ‘१, ५ र ७ तीनवटै क्षेत्रमा वर्षा हुने देखिन्छ । त्यसैले अहिलेदेखि नै मतपत्रलगायत निर्वाचन सामाग्रीहरु पानीबाट सुरक्षित रहने गरी मतदानस्थलको व्यवस्था गर्दा राम्रो हुन्छ ।’

लगातार झरी नपरे पनि मौसम बदली भई कुनै पनि बेला पानी पर्ने कँडेलको भनाइ छ । उनले पहाडी जिल्लामा मतदाताहरुको आवत-जावत कसरी सहज बनाउने भनेर ख्याल गर्न पनि सम्बन्धित निर्वाचन कार्यालयका अधिकारीहरुलाई सुझाव दिइन् ।

बाढी र पहिरोको समेत जोखिम

पूर्वनिर्धारित जून १० तारिखभन्दा दुई दिन ढिला गरी पूर्वी क्षेत्रबाट नेपाल प्रवेश गरेको मनसुन अहिले मध्य नेपालसम्म आइपुगेको छ । अब यो विस्तारै पश्चिमी क्षेत्रमा फैलिने क्रममा छ ।

मनसुन पूर्णरुपमा सक्रिय हुन भने अझै केही दिन लाग्ने मौसमविद कँडेलले जानकारी दिइन् ।

दलका कार्यकर्ताहरुले मत माग्ने क्रममा नै झरीको सामना गर्नुपरिरहेको छ । पानी पर्ने क्रम यसरी नै बढेमा बाढी र पहिरोको समेत जोखिम हुने भएकाले मतदान स्थल र मतदाताको सुरक्षामा ध्यान दिनुपर्ने उनले बताइन् । ‘भोलि, पर्सिदेखि नै पानी पर्ने क्रम बढ्ने हुनाले पहिरोको जोखिम पनि देखिन्छ,’ मौसमविद कँडेलले भनिन् ।

कुन-कुन नदी वा खोलामा बाढी आउँछ र कुन क्षेत्रमा पहिरो जान्छ भनेर अहिल्यै भन्न नसकिए पनि सबै क्षेत्रमा सजगता अपनाउन उनले सुझाव दिइन् ।

त्यस्तै खोलो तरेर भोट हाल्न जाने मतदाताहरुले पनि सतर्क हुनुपर्ने र सकभर छाता बोकेर जानु उपयुक्त हुने मौसमविदको सुझाव छ ।

बैशाख ३१ गते भएको पहिलो चरणको चुनावमा पनि पानी पर्दा काठमाडौंका केही मतदान केन्द्रमा निर्वाचन सामाग्री भिजेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment