Comments Add Comment

प्रदेश नम्बर ७ को आँकलनः ५० स्थान जित्ने एमाले र कांग्रेसको दाबी

माओवादीको दाबी २५, फोरम लोकतान्त्रिकको १०

 


११ असार, धनगढी । एक उपमहानगरपालिकासहित ८८ स्थानीय तह रहेको ७ नम्बर प्रदेशमा चार पार्टीको मुख्य प्रतिस्पर्धा छ । कांग्रेस र एमालेमध्ये को पहिलो बन्ने प्रतिस्पर्धामा छन् । माओवादी आफ्नो स्थितिलाई कांग्रेस र एमालेको हाराहारीमा पुर्‍याउने प्रयासमा छ ।

फोरम लोकतान्त्रिकले पनि कैलाली कञ्चनपुरमा कांग्रेसलाई चुनौति दिइरहेको छ । पहिलो दल बन्न कांग्रेसलाई तराई र एमालेलाई पहाडको भर पर्नु परेको छ । तर, पहाडमा एमालेविरुद्ध कांग्रेस माओवादी गठबन्धन छ । तराईमा कांग्रेसलाई माओवादी र फोरम लोकतान्त्रिकको टक्करले दबाबमा पारिरहेको छ ।

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरवहादुर देउवाको प्रतिष्ठा गाँसिएको ७ नम्बर प्रदेशमा कांग्रेसलाई पहिलो नभई सुख छैन । पहिलो भएर मात्र चैन नहुने र बहुमत नै ल्याउनुपर्ने दबाबमा देउवा छन् ।
एमाले नेता भीम रावल कैलाली कञ्चनपुरमा दुई साताको अभियान चलाएर पहाडतिर उक्लिएपछि देउवा धनगढी पुगेका छन् ।

कांग्रेसको दावी-बहुमत जित्छौं

कांग्रेसलाई ७ नम्बर प्रदेशका पहाड भन्दा तराई अर्थात कैलाली र कञ्चनपुरले ०७० को संविधानसभामा जोगाएको थियो । तर कैलालीमा कांग्रेसलाई अहिले एमालेको भन्दा पनि माओवादी र फोरम लोकतान्त्रिक अनि स्वतन्त्र उम्मेदवारको डर छ ।

कञ्चनपुरमा एमाले र माओवादीले कांग्रेसलाई टक्कर दिइरहेका छन् । कैलालीका १३ मध्ये कम्तिमा ५ स्थानीय तह जित्ने दाबी कांग्रेसको छ । कञ्चनपुरमा ९ मध्ये कम्तिमा ६ स्थानीय तह जित्ने कांग्रेस नेता एनपी साउदको दाबी छ ।

गत ०७० सालको संविधानसभाको परिणाममा पनि कैलाली कञ्चनपुरले काँंग्रेसलाई जोगाएको थियो भने पहाडी जिल्लाले एमालेलाई जोगाएको थियो ।

पश्चिम पहाडमा ०७० को चुनावमा एमालेले जिते पनि स्थानीय तहको चुनावमा कांग्रेस कमजोर नरहेको नेविसंघका अध्यक्ष नैनसिंह महर बताउँछन् । अछाम, बझाङ, दार्चुलाबाहेक पहाडी जिल्ला सबैमा कांग्रेस पहिलो हुने दाबी उनले गरे ।

कांग्रेसले अछामका १० मध्ये कम्तिमा ४ स्थान जित्ने र बझाङमा १२ मध्ये ३ स्थानीय तह जित्ने आँकलन कांग्रेसले गरेको छ । यी दुबै जिल्लामा कांग्रेसले माओवादीसँग तालमेल गरेको छ ।

बाजुराका ९ मध्ये कम्तिमा ६ स्थानीय तह जित्ने लक्ष्य राखेको कांग्रेसले प्रधानमन्त्रीको गृहजिल्ला डडेलधुरामा एउटा बाहेक सबै अर्थात ६ स्थानीय तह जित्ने हिसाब महरले सुनाए ।

डोटीमा ९ स्थानीय तहमध्ये सबैमा जित्ने अवस्था रहेको उनको दावी छ । त्यस्तै बैतडीका १० मध्ये कम्तिमा ६ र दार्चुलाका ९ मध्ये कम्तिमा ४ स्थानीय तह जित्ने दाबी कांग्रेसको छ ।

पहाडका ६६ स्थानीय तहमध्ये कांग्रेसको हिसाबमा उसले ३८ ठाउँ जित्ने निश्कर्ष निकालेको छ । पहाडका सबै नगर तथा गाउँपालिकामा एमालेसँग प्रतिस्पर्धा हुने आँकलन कांग्रेसको छ ।

कैलाली र कञ्चनपुरमा सभापति शेरवहादुर देउवा आफैं २ दिन खटेर आन्तरिक विवाद व्यवस्थापन गरेकाले अब कांग्रेस मजबुत रहेको दाबी नेताहरुको छ । ‘समग्रमा ७ नम्बरमा कांग्रेसको बहुमत आउनेछ’ डडेलधुरामा रहेका नेविसंघ अध्यक्ष महरले भने ।

एमालेको दाबीः कांग्रेसलाई जित्छौं

प्रमुख विपक्षी नेकपा एमालेले ७ नम्बर प्रदेशमा बहुमतउन्मूख रहेको दाबी गरेको छ । चुनावी अभियानको अन्तिम दिन अछामको मल्लेखमा रहेका प्रदेश संयोजक तथा पूर्व गृहमन्त्री भीम रावलले पहिलो दल बन्न कुनै समस्या नरहेको दाबी गरे ।

रावलले भने- ‘हामी ७ नम्बर प्रदेशमा बहुमत ल्याउने दिशामा अग्रसर छौं ।’

रावलले ७ नम्बर प्रदेशका सबै पहाडी जिल्लामा एमाले पहिलो बन्ने दाबी गरे । उनका अनुसार अछाममा १० स्थानीय तहमध्ये कम्तिमा ८ वटामा एमालेले जित्ने हिसाब राखेको छ । त्यस्तै बझाङका १२ मध्ये १० स्थानीय तह जित्ने एमालेको लक्ष्य छ ।

बाजुराका ९ मध्ये कम्तिमा ६ स्थानीय तह जित्ने लक्ष्य राखेको एमालेले प्रधानमन्त्रीको गृहजिल्ला डडेलधुरामा समेत ७ मध्ये कम्तिमा ४ स्थानीय तह जित्ने दाबी गरेको छ । डोटीमा ९ स्थानीय तहमध्ये कम्तिमा ५ स्थान जित्ने आँकलन एमालेको छ ।

बैतडीका १० मध्ये कम्तिमा ५ र दार्चुलाका ९ मध्ये कम्तिमा ५ स्थानीय तह जितेर ७ नम्बर प्रदेशका पहाडी जिल्लाका कुल ६६ स्थानीय तहमध्ये कम्तिमा ४३ स्थान जित्ने दाबी एमालेको छ ।

कांग्रेसलाई पहाडबाट कम्तिमा १५ सीटले पछि पार्न सक्दा ७ नम्बर प्रदेशमा पहिलो दल बन्न सकिने एमालेको आन्तरिक विश्लेषण छ । भीम रावलको टिमले कांग्रेसलाई पश्चिम पहाडमा १५ देखि १८ सीटले पछि पार्न सकिने रिपोर्ट तयार पारेको बुझिएको छ ।

एमालेले कैलालीका १३ स्थानीय तहमध्ये ४ वटासम्म जित्न सकिने आँकलन गरेको छ । कम्तिमा ४ स्थानीय तह कैलालीमा जित्दा कांग्रेसलाई माओवादी र फोरम लोकतान्त्रिकले पनि केही ठाउँमा रोक्न सक्ने एमालेको विश्लेषण छ ।

संविधानसभामा कञ्चनपुरका चारै सीटमा पराजय व्यहोरेको एमालेले स्थानीय चुनावमा जिल्लाका ९ मध्ये कम्तिमा ४ स्थानीय तह जित्न सकिने आँकलन गरेको छ । त्यसो हुँदा कांग्रेसलाई पहिलो दल बन्नबाट रोक्न सकिने र बहुमत नजिक पुगिने दाबी एमालेको छ ।

चुनावी अभियानका क्रममा बझाङमा रहेका अनेरास्ववियुका महासचिव ऐन महरले ७ नम्बर प्रदेशमा एमालेले कांग्रेसलाई जितेर बहुमत ल्याउने आँकलन गरिएको बताए ।

माओवादीको दावीः ८८ मा २५ जित्छौं

०७० सालको संविधानसभा चुनावमा कैलालीको १ सिट बाहेक सबै जिल्लामा पराजित भएको माओवादी केन्द्रले यसपटक ७ नम्बर प्रदेशमा ०६४ सालको जस्तै उभार आफ्नो पक्षमा आएको दाबी गरेको छ ।

प्रदेश संयोजक समेत रहेका माओवादी नेता लेखराज भट्टले प्रदेशका कुल ८८ स्थानीय तहमध्ये २५ स्थान जित्ने आँकलन गरिएको बताए । उनले कैलाली र क ञ्चनपुरमा पहिलो हुने दाबी समेत गरे ।

भट्टका अनुसार पहाडका जिल्लामा औषतमा ३ सिट जित्न सक्ने लक्ष्य राखिएको छ । पहाडका केही जिल्लामा कांग्रेससँग तालमेल गरे बाहेक माओवादी पनि एक्लै चुनावी मैदानमा छ ।

भट्टले एमालेका उपाध्यक्ष तथा प्रदेश संयोजक भीम रावलले एक महिनादेखि धनगढीमा बसेर भ्रमको राजनीति गरेको बताए ।

फोरम लोकतान्त्रिकको दाबी-१० सीट जित्छौं

त्यसो त ७ नम्बर प्रदेशको चौथो शक्ति लोकतान्त्रिक फोरम हो । विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकले कैलालीमा २ सांसद जितेको छ । उसले पहाडबाट कुनै अपेक्षा गरेको छैन तर कैलाली र कञ्चनपुरमा ध्यान केन्द्रित गरेको छ ।

थारु बाहुल्य रहेका कैलाली र कञ्चनपुरमा २२ स्थानीय तहमध्ये १० स्थान जित्ने दाबी त्यस पार्टीका महासचिव रामजनम चौधरीको छ । उनले कैलालीमा १३ मध्ये ७ र कञ्चनपुरमा ९ मध्ये ३ स्थानीय तह जित्ने दाबी गरे ।

दलहरुले दाबी गरेअनुसार जित्ने हो भने ७ नम्बर प्रदेशका ८८ स्थानीय तहले पुग्दैन । एमालेको दावी ५० को हाराहारीमा छ । कांग्रेसको दावी पनि ५० भन्दा माथि नै छ । माओवादीले २५ र फोरम लोकतान्त्रिकले १० दावी गर्दा दलहरुको दाबीले १३५ स्थानीय तह चाहिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment