Comments Add Comment

६० प्रतिशत नेपालीलाई औषधि प्रयोगबारे जानकारी छैनः विज्ञ

११ असार, काठमाडौं । औषधिको उचित प्रयोग गर्न नजान्दा औषधिले रोग निको पार्नुको सट्टा विभिन्न रोगहरु निम्त्याउने गरेको विज्ञहरुले बताएका छन् ।
विना प्रेस्कृप्सन एन्टिवायोटिक, पेन किलर लगायतका औषधिको स्वयं प्रयोगले मानिसमा मिर्गौला फेल हुने, विभिन्न रोगहरुसित लड्ने प्रतिरक्षात्मक शक्ति कम हुने लगायतका समस्या उत्पन्न हुने विज्ञहरुले बताएका छन् ।किष्ट कलेजले आइतबार अस्पताल परिसरमा आयोजना गरेको ‘औषधिको समुचित प्रयोग तथा स्वयं औषधिको प्रयोग सम्बन्धि उत्तरदायित्व’ सम्बन्धी कार्यक्रममा विज्ञहरुले यस्तो प्रतिक्रिया दिएका हुन् ।

कार्यक्रममा त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जका प्रा. डा. रमेशकान्त अधिकारीले औषधिलाई दुईधारे तरवारको संज्ञा दिँदै औषधि उचित प्रयोग नगरे यसले रोगलाई मात्र नभई रोगीहरुलाई समेत मार्न सक्ने बताए ।

उनले भने, ‘औषधि भनेको दुईधारे तरवार हो । यसले रोगमात्र हैन, रोगीलाई पनि मार्न सक्छ । त्यसैले, पनि औषधिको साइडइफेक्ट तथा यसले स्वास्थ्यमा पुर्‍याउने नकारात्मक असरबाट बच्नको लागि पनि जिम्मेवार तरीकाले तथा तर्कसंगत रुपमा औषधिको प्रयोग आवश्यक छ ।’

त्यसैगरी, त्रि.वि. शिक्षण अस्पताल, महाराजगञ्जका फर्माकोलोजिस्ट प्रा.डा. संगरत्न बज्राचार्यले औषधि उत्पादनकर्ता तथा विक्रेताहरुलाई औषधि बिक्री वितरण गर्दा चिकित्सक तथा विरामीहरुलाई दिग्भ्रमित गर्ने खालको सूचना नराख्न समेत सुझाव दिए ।

‘कुनै पनि औषधि बिक्री वितरण गर्दा त्यसमा उत्पादन गरिएको मिति, औषधिको स्पेसिफिकेशन, केका लागि प्रयोग गरिने, त्यसले स्वास्थ्यमा पुर्‍याउने फाइदा तथा नोक्सानीबारे उल्लेख गर्नु जरुरी छ । त्यसैगरी, विरामीले पनि कुनै पनि औषधि प्रयोग गर्दा त्यसबारे पूर्ण जानकारी राख्न आवश्यक छ,’ उनले भने ।

कार्यक्रममा औषधि व्यवस्था विभागका औषधि व्यवस्थापक सन्तोष केसीले नेपालमा दर्ता नभएका औषधि पसल धेरै भएको उल्लेख गर्दै त्यस्ता ठाउँबाट औषधि खरीद गर्दा विशेष ध्यान दिनु पर्ने बताए ।

नेपालमा ३० प्रतिशत मानिसलाई मात्र औषधि प्रयोगबारे उचित ज्ञान भएको जानकारी दिँदै उनले नेपालमा गुणस्तरीय उपचारका लागि पनि औषधिको समुचित प्रयोग आवश्यक रहेको कुरा औंल्याए ।

उनले नेपालमा एन्टीवायोटिक तथा जेनेरिक रहित औषधिको प्रयोग मुख्य समस्या बताउँदै औषधिको समुचित प्रयोग गर्न सकिए उपचार खर्चमा समेत कटौती गर्न सकिने बताए ।
कार्यक्रममा किष्ट मेडिकल कलेज इमाडोलकी एशोसिएट प्रोफेसर डा. निशा झाले नेपालमा आफै औषधि प्रयोग गर्ने बानीले स्वास्थ्यमा पुर्‍याउने हानीबारे जानकारी दिँदै डाक्टरहरुको औषधि प्रयोगको अवस्थाबारे प्रस्तुती दिएकी थिइन् ।

कार्यक्रममा वरिष्ठ नेफ्रोलोजिस्ट प्रा.डा. कुमुद कुमार काफ्लेले औषधिको समुचित प्रयोगबारे जोड दिएका थिए । औषधिको समुचित प्रयोग नहुँदा नेपालमा ‘रोगी उपचार’ सुरु भएको उनले बताए ।

उनले भने, ‘औषधिको प्रयोग प्रभावकारी हुनुपर्छ भन्ने हो । तर रोग लाग्दा औषधि प्रयोग गरिहाल्नुपर्छ भन्ने जरुरी छैन । उपचार गर्नेहरुले नबुुझ्दा यो कुरा पालना भएको दैखिँदैन । जसले गर्दा अनुचित, अनुुपर्युक्त, उपचार भएको देखिन्छ ।’

उनले नेपालमा झण्डै ६० प्रतिशत मानिसलाई आफूले सेवन गर्ने औषधि तथा त्यसको सेवनबारे पूर्ण ज्ञान नभएको औंल्याए । ‘जसले गर्दा औषधिको सही प्रयोग भएको देखिँदैन,’ प्रा.डा. काफ्लेले भने ।

कार्यक्रममा क्लिनिकल फर्मालोजिस्ट डा. सतिस डेउले नेपालमा औषधिको समुचित प्रयोग नहुँदा कन्ट्रासेप्टिभ पिल्स लगायतको दुरुपयोग हुने गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment