Comments Add Comment

स्वास्थ्य सरोकारबारे पुस्तक ‘खाना खानुभयो ?’

११ असार, काठमाडौं । हाम्रो खानपान संस्कृति बदलिँदै जाँदा दैनिक आहारविहारमा घरको खानेकुराभन्दा बजारु परिकारले बढी पकड जमाउन थालेका छन् । खानपानको यही तौरतरिका र स्वास्थ्य सरोकारका विषयमा केन्द्रित भएर पब्लिकेसन्स नेपालयले ‘खाना खानुभयो ? हाम्रा भान्छाबारे बजारका भ्रम’ पाठकसामु ल्याउने भएको छ ।

जनस्वास्थ्यका क्षेत्रमा लामो समयदेखि सक्रिय चिकित्सक एवं लेखिका अरुणा उप्रेती र लेखक लक्ष्मण अधिकारीको संयुक्त लेखन रहेको पुस्तक यही असार १८ गते सार्वजनिक हुँदै छ । पुस्तक हाम्रा भान्छाबारे बजारले सिर्जना गरेको भ्रममाथि केन्द्रित छ ।

डा. उप्रेती र अधिकारीले खानपिनका सकारात्मक र नकारात्मक पाटोबारे आमसञ्चार माध्यममार्फत निरन्तर रुपमा चेतनामूलक लेखहरु लेख्दै आएका छन् ।

उप्रेतीले जनस्वास्थ्य विशेषज्ञका रुपमा भारत, श्रीलंका, लाओस, इरान र सुडानमा समेत काम गरिसकेकी छन् । युक्रेनबाट डाक्टर पढेर आएकी उनले नेदरल्याण्डबाट महिला विकासमा स्नातकोत्तर गरेकी छन् । महिला स्वास्थ्य शिविरहरुमा सहभागी हुने क्रममा देशका प्रायः सबै जिल्ला पुगेकी उनले खानपिनमा आएको व्यापक फेरबदल देखेकी छन् ।

‘हाम्रा भान्छामा अहिले पनि भेटिने परम्परागत खान्कीहरुमै पर्याप्त पोषणयुक्त पदार्थ पाइन्छन्,’ उप्रेती भन्छिन्, ‘आफूसँग भएका सम्पन्न खानपिनलाई बेवास्ता गरेर बजारको लहैलहैमा फँस्दै बालबालिकालाई पत्रु खाना खुवाउन थालेको देखेपछि मैले जनचेतनामूलक लेखहरु लेख्न थालेकी हुँ ।’

उप्रेतीले यसअघि पनि स्वास्थ्यसम्बन्धी पुस्तकहरु लेखेकी छन् । साथै, उनले विदेशी लेखकका केही पुस्तकमा अनुवाद समेत गरेकी छन् ।

लक्ष्मण अधिकारी लामो समयदेखि स्वास्थ्य र वातावरण लगायत सामाजिक मुद्दाहरुमा केन्द्रित रहेर पत्रकारिता गर्दै आएका छन् ।

‘जनस्वास्थ्यका विषयमा डा. उप्रेतीका विचारहरुसँग मेरो एकमत रहँदै आएको थियो,’ अधिकारी भन्छन्, ‘उहाँसँगको सहकार्यका रुपमा पहिलो पुस्तक तयार पार्न पाउँदा खुशी लागेको छ ।’

‘खाना खानुभयो ?’ पुस्तकले बजारमा पाइने चिसो तथा ‘शक्तिवर्द्धक’ पेय पदार्थ, जङ्क फुडका विषयमा विज्ञापनहरूले फैलाएको भ्रमलाई पनि चिर्ने कोसिस गरेको छ ।

यस पुस्तकले पोषण तथा शक्ति दिने, बुद्धि बढाउने, सुन्दर बनाउने, तौल स्वाट्टै घटाउने भनेर बजारमा अत्यधिक प्रचार गरिएका खाद्य तथा पेय पदार्थले स्वास्थ्यमा कसरी उल्टै समस्या निम्त्याउँछ भन्ने कुरालाई प्रष्ट्याएको छ ।

पब्लिकेशन्स नेपालयकी प्रमुख कार्यकारी सैजन मास्केले आम स्वास्थ्य सरोकारबारे लेखिएका पुस्तक निकालेर पाठकहरुलाई आरोग्यको बाटो देखाउने  सिलसिला जारी रहेको बताइन् ।

‘हाम्रै वरपरका उपयोगी सामग्रीको फाइदाहरु राम्ररी नखुलाइँदा उपभोक्ताहरु ठगिँदै छन् भन्ने जानकारी पाएपछि हामीले यस्ता कृतिहरुबारे चासो बढाएका थियौं,’ उनले भनिन् । नेपालयले यसअघि स्वास्थ्य सरोकारबारे डा. जीवन प्रसाईका दुई पुस्तक प्रकाशन गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment