Comments Add Comment

महानगरपालिकासँग ट्राफिक प्रहरीको माग– बस रोकिने ठाउँमा स्मार्ट साइनबोर्ड राखौं

११ असार, काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं महानगरपालिकासँग बस स्टपहरुमा स्मार्ट स्ट्रीट साइन बोर्ड राख्न प्रस्ताव गरेको छ । काठमाडौंका मुख्य बस स्टपहरुमा यात्रुलाई कहाँ जाने बस कहाँनेरबाट पाइन्छ भन्ने जानकारी नहुँदा समस्या भएको भन्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले यस्तो अवधारणा ल्याएको हो ।

यसबारे महाशाखाका ट्राफिक प्रहरी प्रमुख डीआईजी मिङ्मार लामाले काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत ईश्वरराज पौडेलसँग छलफल गरेका छन् ।

लामाले डिजिटल स्वरुपको बस स्टप साइनबोर्ड तत्काल मुख्य बस स्टपहरुमा जडान गर्नुपर्ने बताए ।

‘सुन्धारा अघि बस कुरिरहेका यात्रु पेटी छाडेर रोडमै बस कहाँ जाने भन्ने सोध्न आइपुग्छन्’ लामाले भने, ‘बसहरु सडकमै यात्रु हाल्छन् । त्यहाँ धेरै यात्रु कहाँ जाने बस कहाँ रोकिन्छ भन्ने थाहा नपाएर अलमलमा हुन्छन् । अब यो समस्या राखिरहन हुँदैन ।’

लामाका अनुसार बस स्टहरुमा यात्रुले स्पष्ट रुपमा देख्ने गरी डिजिटल बोर्डह नराखेसम्म काठमाडौंको ट्राफिक जामको समस्या समाधान गर्न पनि यस किसिमको बार्ड राख्न जरुरी हुन्छ ।

यस्ता बोर्डहरु राखेर ट्राफिक कारवाही चुस्त नगर्दा जहाँ मन लाग्यो त्यँही बस र सार्वजनिक सवारी रोकेर यात्रु हाल्ने प्रचलन पनि बढेको ट्राफिक प्रहरीको निश्कर्ष छ ।

‘यात्रुहरु अलमलमा पर्दा र सडकसम्म बस खोज्दै यात्रु आउँदा दुर्घटनाको पनि जोखिम बढ्छ’ लामाले भने,‘अब स्मार्ट स्ट्रीट साइन बोर्ड राख्नुपर्छ भनेर हामीले पहल थालेका छौं ।’

काठमाडौं महानगरपालिका पनि यस्ता स्मार्ट स्ट्रीट साइन बोर्ड राख्न सकारात्मक छ । महानगरपालिकाका कार्याकारी अधिकृत पौडेल यस्ता बोर्ड हरु राखेर बसलाई यात्रु हाल्न र ओराल्न १/२ मिनेट भन्दा बढी समय रोक्नै दिन नहुने बताउँछन् ।

‘यात्रु ओराले र चढाएपछि बस त्यहाँ रोकिन हिदै हुँदैन । हामी पनि यस्तो ब्यवस्था लागू होस् भन्ने चाहान्छौं’ अधिकृत पौडेलले भने । उनले स्मार्ट स्ट्रीट साइन बोर्डबारे महानगरपालिकाको कार्यपालिकाले निर्णय गर्नसक्ने बताए ।

‘योखालको बोर्ड राख्न सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा सम्भव छ । बोर्डमा कुनै एक भागमा विज्ञापनको लागि ठाउँ दिएर यो राख्न सकिन्छ’ अधिकृत पौडेलले भने,‘महानगरपालिकाले यसबारे अहिलेसम्म कुनै निर्णय गरेको छैन । हामीले छलफल भने गरिरहेका छौं ।’

उनले काठमाडौंको यातायात व्यवस्थाबारे अभ्यस्त नभएकाहरुलाई अहिलेको सिस्टमले सास्ती मात्रै दिएको बताए । त्यसैले यसलाई बदल्न महानगरपालिकाले सकारात्मक पहल लिन उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment