Comments Add Comment

चालीस कटेसी रमाउन अरबबाट फर्कँदै नीमकान्त

१२ असार, युएई । कुरा आजभन्दा २१ वर्षअघिको हो । त्योबेला निमकान्त पाण्डेको गाउँ चितवनको मेघौलीभरि चर्चा थियो पाण्डेका छोरा अरब जाँदै छन् रे ।

अहिले जीवनका उर्वर २१ वर्ष युएईमा बिताएर नेपाल फर्कने तयारीमा ती दिनहरु झलझली सम्झिए उनले ।

उहिले फोन सेवा थिएन सर्बसुलभ थिएन । ‘निमकान्तको भिसा झर्यो आजै काठमाडौं आउनू’ भन्ने खबर आयो । अब के गर्ने ? बुढाबुढी अलमलमा पर्दै घरसल्लाह गर्न लागे । ०५२ साल फागुन १८ गते बिहान ९ बजे छोराको जन्म भएको थियो । १५ महिनाकी छोरी आफ्नै खुट्टामा सकिनसकी उभिन खोज्दै थिइन् । ती नाबालक लालावाला र सुत्केरी जीवन संगीनीलाई भुँइमा लगाएको बिस्तारामै छोडेर छोरा जन्मेकै दिन दिउँसो २ बजे निमकान्तले विदेशका लागि घर छाडे ।

भोलिपल्ट वैदेशिक रोजगारीको यात्रा सुरु गर्दै बङ्गलादेशको राजधानी ढाका पुगे ।केही समय ढाकामा बसेर उनी ०५३ सालको वैशाख २१ गते साउदी अरबको रियाद एयरपोर्ट झरे । पहिलो गाँसमै ढुंगा भनेझै ३ दिनसम्म उनलाई लिन कोही आएन । रियाद एयसपोर्टमै तीन रात बिताएपछि चौथो दिन कम्पनीको मान्छे आयो । रियादबाट १ हजार २०० किमी टाढा हाईल भन्ने ठाउँमा उनी र उनका साथमा आएका केही नेपालीहरु पुगे । अब काम पाइयो भन्नेमा ढुक्क भए ।

साउदीमा काम, नेपाल फिर्ता

निमकान्तले साउदीमा मसार वाटर कम्पनीको हेल्परका रुपमा काम सुरु गरे । नेपालमा नै सामान्य चालक सम्बन्धी योग्यता भएको हुँदा उनलाई कम्पनीको सेल्स डिपार्टमा प्रमोसन गरियो । त्यहाँको लाइसेन्स बनाउने मौका मिल्यो उनलाई ।

घरबाट महिना दिन पहिले लेखेका पत्र आउँथे । उनी पनि पत्रको जवाफ लेख्थें । चिठी नै थियो भावना साटासाट गर्ने भरपर्दो माध्यम । त्यो क्रम लामै समयसम्म चल्दै गयो ।

साउदी अरबको त्यो ठाउँ घुम्दैफिर्दै काम गर्दै गए । नेपाली भेटिने कुरै छाडौं, हिन्दी बोल्ने मान्छे भेट हुँदा खुसीले दिल खोलेर कुरा गर्थे । नेपाली भेट्दा आफन्त भेटिएझै लाग्थ्यो । बस्दै गएपछि कम्पनीमै रम्दै गए उनी । रोजगारीका लागि नेपालीहरु आउने क्रम गुणात्मक रुपमा बड्दै गयो । कम्पनीको सवारीसाधन उनीसँग हुने हुँदा टाढाटाढा आएका भए पनि ती नेपालीलाई भेट्न पुग्थे निमकान्त । त्यो बेला नेपाली भनेपछि चिज हुन्थ्यो ।

ऊ बेला हाइल सिटीमा भलिबल म्याचको आयोजना गरी नेपालीहरुको जमघट गराउन थाले उनले । खेलकुद नै छरिएका नेपालीबीच एकता गर्ने माध्यम बन्यो । नेपालीहरुलाई समूहमा बस्ने र बसाउने प्रयास गरे निमकान्त र उक्त क्षेत्रका अगुवा नेपालीहरुले । कसैलाई अप्ठारो परे सहयोग जुटाउँथे । रहँदाबस्दा कुशल संगठक भए उनी ।

त्यो ठाउँको निकै चर्चा बटुलेर एक छुट्टी बिताई साढे चार वर्षपछि नेपाल फर्केर केही उद्यम गर्ने सोच लिए उनले ।

साउदीबाट नेपाल फर्केर पछि आफ्नै गाउँमा बजार ब्यवस्थापन समितिको सदस्य साथै वन उपभोक्ता समितिको सदस्य रही केही समय आफ्नै ठाउँमा सामाजिक काम गरे ।

साउदीपछि युएईमा

विदेश छिरिसकेको ब्यक्ति बेरोजगार बस्न गाह्रो भयो उनलाई । त्यसैले सन् २००० को अन्तिमतिर युएई जाने अवसर मिल्यो । यहाँ आएपछि उनको यात्रा रोजगारसँगै सामाजिक कार्यमा अग्रसर हुन थाल्यो । साउदीबाट सुरु भएको सामाजिक सेवाको भावना युएईमा झनै मौलाउने भयो ।
अरुलाई सहयोग गर्नु राम्रो कुरा तर आफैंलाई अप्ठारो पर्दा कता जाने ? त्यस्तै भयो निमकान्तलाई । आफ्नै पासपोर्टको म्याद सकिएको थियो । तर, कसरी बनाउने । अन्योलमा रुमल्लिरहेका बेला २००३ मा नेपाली समाजका सक्रिय रहेका खेम भुर्तेलसँग भेट भयो उनको ।

नेपाली समाज युएईले उनको नयाँ पासपोर्ट बनाउन मध्यस्तकर्ताको भूमिका खेल्यो । साथै त्यो बेला उनलाई नेपाली समाजप्रति चासो बढ्नु स्वाभाविकै थियो । खल्लीबल्लीमा काम गरेका नेपाली घर पठाउन निकै ठूलो भूमिका खेलेको थियो नेपाली समाजले । उनलाई पनि नेपाली समाजमा आबद्ध हुन मन लाग्यो । तर, समाजभित्रको आन्तरिक समस्याले नयाँ सदस्यलाई निकै हम्मेहम्मे पर्यो ।

दुबईमा सवारी चलाउने पेशा भएको हुँदा धेरै घुमघाम हुने गर्थे उनी । यसै क्रममा २००७ बाट आफ्नो आस्था र विचारसँग नजिक रहेको प्रवासको संगठन ‘नेपाली जनप्रगतिशील मञ्च’ युएइ को सदस्य भए । केही समयको अन्तरालमा नै संगठनले नेपाली प्रगतिशील मजदुर मञ्च युएईको महासचिवको जिम्मा दियो उनलाई । उनी साहित्य तथा लेखनमा पनि रुचि राख्थे ।

नेपालीहरु रोजगारीका लागि दिनप्रतिदिन थपिँदै थिए युएईमा । यसैबीच समस्यामा पर्ने नेपालीहरुको संख्या पनि दिनानुदिन बढ्दै गएको थियो । मानव तस्करको ठूलो लस्कर युएईसम्मै बिगबिगी भएको बेला उनले युएइबाट कलम चलाउन थालेका थिए । इराक पठाउने दलाललाई युएईका बिभिन्न ठाउँबाट समातेर दुताबास बुझाउने काम जनप्रगतिशील मञ्चबाट गरिएको थियो त्योबेला ।

दुबईका गल्लीगल्लीमा नेपाली चेलीलाई गलत धन्दामा ल्याउने नेपाली तस्कर समाउन विभिन्न ठाउँमा छापा मार्दाको चुनौती अहिले सम्मरण गर्छन् उनी । उक्त कर्तुत मिडियामा ल्याउन उनले अग्रणी भूमिका खेलेका थिए । युएईबाट युरोप पठाउने मानव तस्करको विरोध गर्दा विभिन्न धम्कीहरुको सामना गर्नुपरेको थियो उनले ।

सन् २००६ तिरको कुरा हो । नेपालीहरु रोजगारीका लागि आउँने क्रम बढ्दै थियो । युएईका विभिन्न क्याम्पहरुमा नयाँ नेपाली भेट्न जाँदा जुस, जाम, रोटी साथमा लिएर जाने गर्दथे उनी ।

समाज सेवामा अग्रसर हुँदै जाँदा उनले चितवन समाज युएईको स्थापना गरेर धेरै साथीहरुलाई समेटेका छन् । यो समाजले विभिन्न काम तथा सामाजिक आर्थिक सहयोग गरेको छ । युएईको क्रियाशील यो चितवन समाजको संरक्षकका रुपमा उनी रहेका छन् । युएईमा १ सयभन्दा बढी नेपाली संघसंस्था रहेकोमा उनको सुझाव यो छ कि निश्चित मुद्दाहरुमा एकजुट भएर एकता, सहयोग र सहकार्यको भावना आवश्यक छ ।

खाडी पस्दा धेरै कुरा नबुझेको अल्लारे केटो थिए उनी २१ वर्षका । कल्कलाउँदो बैंस खाडीमै सकिएकोमा उनी दुखेसो पोख्छन् । आफू पाको भएकोमा उनलाई शंका छैन । मरुभूमिको बसाई धेरै भएछ । उर्वर बैंस सकिएका कारण उखु चुसेर फ्ँयाकेको छोक्रा जस्तो भएर घर फर्कदै गरेको उनको बुझाइ छ ।

दुःखलाई राम्ररी चिनेकी उनकी जीवनसंगीनी सावित्री पाण्डे उनकै बाटो हेरेर बसेकी छिन् चितवनमा । धेरै कमाउन नसकिएकोमा उनलाई बेग्लै पीडा छँदैछ । खाडीको कमाइ खहरे खोला झैं लाग्दैछ उनलाई । विदेश जाने दिन जन्मिएको छोरो विवेक अहिले कान्तिपुर इन्जिनियरिङ कलेज पढ्दैछ । छोरी दुर्गा मेडिकल लाइन पढ्दैछिन् ।

खाडीमा बिझेको काँडोलाई खिल निकालेर झैँ गरी समयले स्वदेश फर्काउँदैछ । परिवारका लागि एक मुठी खुसी लिएर जाँदैछन् । उमेर ४५ काटिसकियो । हेमन्त रानाले गाएझै साँच्चीकै निमकान्तको चालीस कटेसी रमाउने दिन बल्ल आउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment