Comments Add Comment

देवी ज्ञवालीदेखि कुमार पौडेलसम्मः नयाँ हैन जापानी अध्यागमनबाट नेता फर्किने समस्या

१२ असार, टोकियो । फेरि एकपटक जापानी अध्यागमनले आफ्नो एयरपोर्टबाटै नेपाली नेताहरुलाई फिर्ता पठाइदिएको विषय गर्माएको छ ।

हालै नयाँ शक्ति नेपालका दुई नेताहरुलाई टोक्योको हानेदा विमानस्थलबाट फर्काइदिएपछि यतिबेला किन नेपाली नेताहरुलाई बारम्बार फर्काइन्छ भन्ने विषय चर्चामा छ ।

पछिल्लोपटक जापानी अध्यागमन कार्यालयले नयाँ शक्तिका केन्द्रीय नेताहरु कुमार पौडेल र शंकर भण्डारीलाई फिर्ता पठाइदिएको छ ।

देवेन्द्र पौडेल, कुमार पौडेल र शंकर भण्डारी नयाँ शक्तिको जापानस्थित भातृ संस्थाको कार्यक्रममा सहभागी हुन आएका थिए । ती मध्ये देवेन्द्र पौडेललाई अध्यागमनले जापान प्रवेशको अनुमति दिए पनि अन्य दुई नेतालाई भने केहीबेर हिरासतमा राखेर केराकार गरेपछि नेपाल फर्काइदिएको छ ।

नेता फर्काउने रोग

त्यसो त जापानी अध्यागमनबाट अपमानपूर्वक फर्किने ठूला नेताहरुको सूचीमा पौडेल र भण्डारीमात्र छैनन् । अन्य पार्टीका ठूला केन्द्रीय नेताहरुले पनि जापानको भूमी टेकेर अपमान भोग्दै नेपाल फर्किनुपरेको छ ।

यतिबेला चितवनको भरतपुर महानगरपालिकाका एमाले उम्मेदवार देवी ज्ञवाली पनि केही वर्ष पहिले पौडेल र भण्डारीजस्तै अध्यागमनबाट फिर्ता हुनु परेको थियो । एमालेको भातृ संस्थाको कार्यक्रममा भाग लिन गएका उनलाई सन् २०११ को जून १६ मा जापान अध्यागमनले फिर्ता पठाएको थियो ।

त्यतिबेला सरकारमा रहेको दल एमालेका केन्द्रीय सदस्य रहेका ज्ञवालीलाई केही घण्टा हिरासतमा लिएर नेपाल फर्काइदिएको थियो ।

त्यतिबेला एमाले कोटाबाटै जापानका लागि राजदूत रहेका डा. गणेश गुरुङले आफूले जिम्मा लिएर केही दिनपछि नेपाल पठाइदिने भन्दै जापानी अध्यागनलाई गरेको अनुनय नसुनी अध्यागमनले उनलाई फिर्ता पठाएको थियो ।

यस्तै अर्का कम्युनिष्ट नेता खगराज अधिकारी पनि जापानी अध्यागमनको हिरासतमा २६ घण्टासम्म बस्नुपरेको थियो । माओवादी नेता सीपी गजुरेललाई पनि नागोया जाँदा अध्यागनले झण्डै ६ घण्टा नियन्त्रणमा लिएर लामो केरकारपछि छाडेको थियो ।

किन निगरानीमा पर्छन नेता ?

सामान्यतयाः काठमाण्डौस्थित जापानी दूतावासले भिषा जारी गरेपछि भिषा प्राप्त गर्नेले जापान प्रवेश गर्न पाउनुपर्ने हो । तर, जापानले अध्यागमन अधिकारीलाई भिषाबाहकलाई पनि रोक्ने र फर्काउने अधिकार दिएको छ । जसले गर्दा अध्यागमन अधिकारीलाई शंका लागेका त्यस्ता मानिसलाई रोक्ने र फर्काउने क्रम जापानी अध्यागमन कार्यालयमा नौलो हैन । तर, जब ठूला नेता, कलाकार तथा सेलीब्रेटी अध्यागमनको तारो बन्छन, त्यसपछि संसारभरि नै हंगामा हुन्छ ।

नेपाली नेताहरु किन पटक पटक जापानी अध्यागमनको निगरानीमा पर्छन र अपमानपूर्वक फर्काइन्छन् ? यसबारे जापानका नेपाली समुदायका अगुवाइहरु औपचारिकरुपमा बोल्न मान्दैनन् । अनौपचारिक कुराकानीका क्रममा उनीहरुले नेपाली नेताहरु फर्काइनुका केही कारणहरु भने खुलाए ।

जापानमा राजनीतिक कार्यक्रममा सहभागी हुन आउनु नै नेपाली नेताहरु निगरानीमा पर्ने मुख्य कारण रहेको देखिएको छ । जापानले यहाँ आएर राजनीतिक कार्यक्रममा सहभागिता जनाएको निको मान्दैन । त्यसमाथि कम्युनिष्ट नेता भनेपछि थप निगरानी भइहाल्छ ।

लगेजमा हँसिया हथौडावाला झण्डा देखियो भने त त्यस्ता नेताहरु जापान छिर्ने सम्भावना लगभग समाप्त हुन्छ ।

नयाँ शक्तिका नेता पौडेल, देवी ज्ञवाली र खगराजको सन्र्दभमा त्यही कुराले आर्कषिर्त गरेको उनीहरुको भनाइ छ ।

त्यसमाथि नेताहरुको कमजोर यात्रा अनुभव, साथमा डलर र पर्याप्त ट्राभल चेकहरु नहुनु, उनीहरुलाई प्रायोजन गर्ने जापानस्थित नेपालीहरुको ट्रयाक रेकर्ड राम्रो नहुनु वा त्यसका लागि आवश्यक आर्थिक हैसियत नुहुनु लगायतका कारण पनि नेताहरु फर्किने गरेका छन् ।

पहिलोपटक जापान आउने जुनसुकै पर्यटकमाथि जापानी अध्यागमनले अतिरिक्त निगरानी गर्छ । निर्धारित मितिमा ऊ आफ्नो मुलुक फर्किने सुनिश्चित आधार भए मात्रै उसलाई जापान छिर्ने अनुमति हुन्छ । तर, नेपालका नेताहरुले अध्यागमनलाई चाहिने पर्याप्त आधार र प्रमाणहरु पेश गर्न नसक्दा पनि उनीहरु अपमानपूर्वक जापानी अध्यागमनबाट फर्किनुपरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment