Comments Add Comment

४४ हजार ऋणीबाट लघुवित्तले डेढ अर्ब उठाउन बाँकी

 

१२ असार, काठमाडौं । सञ्चालनमा रहेका ५० वटा लघुवित्त कम्पनीले ४४ हजार ऋणीबाट व्याज सहित १ अर्ब ६४ करोड रुपैयाँ कर्जा असुल गर्न बाँकी रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको (चालु आवको तेस्रो त्रैमास (गत चैत) सम्मको तथ्यांकले यस्तो देखाएको हो ।

राष्ट्र बैंकका अनुसार कम्पनीहरुको भाका नाघेको कर्जा ९५ करोड २२ लाख रुपैयाँ रहेको छ भने उठाउन बाँकी व्याज ६९ करोड ५६ लाख रुपैयाँ रहेको छ ।

सबैभन्दा धेरै भाका नाघेको कर्जा नेपाल ग्रामिण बिकास बैंकमा रहेको छ । कम्पनीको ३५ करोड रुपैयाँ बराबरको कर्जाको भाका नाघेको छ । कम्पनीले २० हजार ८ सय १३ जनाबाट यो कर्जा असुल गर्न बाँकी रहेको हो । त्यस्तै, स्वदेशी लघुवित्त वित्तीय संस्थाले १ हजार ४ सय ४४ जनाबाट ८ करोड ७३ लाख, स्वावलम्बन लघुवित्त बिकास बैंकले ३ हजार ३ सय ९४ बाट ५ करोड ९९ लाख उठाउन बाँकी रहेको छ ।

लघुवित्तहरुले १ अर्ब ६७ करोड रुपैयाँ बराबरको कर्जा नोक्सानी व्यवस्था गरेका छन् । नेपाल ग्रामिण बिकासले सबैभन्दा धेरै ३४ करोड ८९ लाख रुपैयाँ नोक्सानी व्यवस्थाको लागि छुट्याएको छ ।

कम्पनीहरुले यो अवधिसम्ममा कुल ४ खर्ब ७७ करोड रुपैयाँ बराबरको कर्जा लगानी गरेका छन् । लघु व्यवसाय अन्तरगत ३ खर्ब ८७ अर्ब, धितोमा दिइने लघु उद्यम कर्जा ३१ अर्ब ८२ लाख रुपैयाँ र ५७ अर्ब ८५ करोड अन्य कर्जा लगानी गरेका छन् ।

यी कम्पनीबाट चैतसम्ममा १५ लाखले कर्जा पाइरहेका छन् । कर्जा लगानीबाट कम्पनीहरुले २९ अर्ब ४२ करोड रुपैयाँ व्याज आम्दानी गरेका छन् ।

यी कम्पनीहरुले २२ लाख २८ हजार बचतकर्ताबाट ३१ अर्ब १२ करोड रुपैयाँ बचत संकलन गरेका छन् । अनिवार्य बचतबाट ९ अर्ब ८ करोड संकलन भएको हो । कुल कर्जाको तुलनामा बचत रकम मात्रै ११.६८ प्रतिशत हो ।

कर्जा लगानीको लागि लघुवित्त कम्पनीहरुले वाणिज्य बैंकबाट सापटी पाउने गरेका छन् । वाणिज्य बैंकहरुले विपन्न वर्गमा लगानी गर्नैपर्ने ५ प्रतिशतमध्ये २ प्रतिशत बराबर रकम आफैले गर्न पर्ने गरेर राष्ट्र बैंकले हालै यसमा केही कडाई गरेको छ । यसको लागि भने केही अवधि (२०७५ असारसम्म) दिइएको छ ।

कम्पनीहरु मार्फत् बचत तथा कर्जा लगानीको लागि गठन भएका समूहको संख्या ४ लाख ३३ हजार पुगेको छ । यसरी गठन भएका मध्ये ४ हजार ९ सय २६ समूह भने निष्क्रिय रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment