Comments Add Comment

बाँकेका एसपी भन्छन्- चल्लाहरु समातेर काम छैन !

जिल्लाको सुरक्षा अवस्था 'अन्डर कन्ट्रोल'मा

१२ असार, नेपालगञ्ज । बाँके जिल्लालाई सुरक्षा निकायले अति सम्वेदनशील जिल्लाको सूचिमा राखेको छ । सुरक्षा निकायले असार १४ गते स्थानीय तहको निर्वाचनलाई लक्षित गरी चुस्त सुरक्षा योजनाा बनाएको बताएको छ ।

कहीँ कतै कुनै घटना भए ५ देखि १० मिनेटभित्रै सुरक्षाकर्मी पुग्नेछन् । सीमा नाका शील गरिसकिएको छ । बाँके जिल्लाको ७० किलोमिटर भारतीय खुल्ला सीमानामा पर्छ ।

सकभर कुनै पनि घटना हुन नदिनका लागि प्रहरीले सबैजसो सुरक्षा सम्वेदनशील क्षेत्रहरुको पहिचान गरी सादा पोशाकमा प्रहरी परिचालन गरेको छ । त्यसलाई ब्याकअप सर्पोट पनि गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

तराईको सीमावर्ती जिल्ला भएको हुनाले निर्वाचनलाई प्रभाव पार्ने विभिन्न गतिविधि हुन सक्ने आशंका गरिएको भए पनि जिल्लामा अहिलेसम्म कुनै पनि अपि्रय घटना भएको छैन । अहिलेसम्म सुरक्षा अवस्था प्रहरीको ‘अण्डर कन्ट्रोल’मा रहेको बाँकेका प्रहरी प्रमुख टेकप्रसाद राईले अनलाइनखबरलाई बताए ।

एसपी राईले उत्साहपूर्वक भने- ‘कहीँ कतै कुनै घटना भए तुरुन्तै समाइदिन्छौं, अपराधी उम्किन पाउँदैन ।’

प्रहरीका चुनौतीः खुल्ला सीमादेखि दलका कार्यकर्तासम्म

बाँके प्रहरीले जिल्लाको सुरक्षामा ६ वटा ‘फ्याक्टर’लाई चुनौतीका रुपमा लिएको छ । भारतसँग ७० किलोमिटर लामो खुल्ला सीमाना र त्यसको प्रयोग गरी हुन सक्ने अपराधिक क्रियाकलापलाई ध्यान दिएको छ ।

निर्वाचन बहिष्कार गरेको राष्ट्रिय जनता पार्टी र उसका निर्वाचन विरोधी गतिविधि, विप्लव समुहको निर्वाचन बिरोधी गतिविधि, गुण्डागर्दी र संगठित अपराध, सिके राउतको विखण्डनवादी गतिविधि र निर्वाचनमै सहभागी भएका दलहरुका वीचमा निर्वाचनका सन्र्दभमा हुने झगडा र झडपलाई प्रहरीले प्रमुख सुरक्षा चुनौतीका रुपमा लिएको छ ।

आजका दिनसम्म राजपा, विप्लव र सिके राउतका गतिविधि नियन्त्रणमा छन् । केही दिनअघि बैजनाथ गाउँपालिकामा निर्वाचनमा सहभागी दल एमाले र माओवादीका वीचमा झडपको अवस्था आउनुबाहेक अन्य कुनै पनि त्यस्ता गतिविधि भएका छैनन् ।

प्रहरी प्रमुख एसपी राइर्लले एकीकृत योजना सुरक्षा बनाएर जनतालाई निर्वाध रुपमा मतदान गर्ने वातावरण तयार गरिएको दावी गरे । अनलाइनखबरसँग कुरा गर्दै एसपी राईले सबै मतदातालाई भयरहित ढंगबाट मतदानमा सहभागी हुन अपिल पनि गरे ।

सिके राउतका कार्यकर्ता खोरमा, राजपा र विप्लवका तारेखमा

बाँके प्रहरीले निर्वाचनविरोधी गतिविधिमा सहभागी भएको भन्दै सिके राउतका ४ जना कार्यकर्तालाई पक्राउ गरी हिरासतमा राखेको छ । निर्वाचन विरोधी गतिविधि मात्रै होइन, देशको राष्ट्रिय एकता, भौगोलिक अखण्डतामाथि नै आँच पुर्‍याउने काम गरेकाले उनीहरुलाई हिरासतमा राखिएको बाँकेका प्रहरी प्रमुख टेकप्रसाद राईले जानकारी दिए ।

निर्वाचनको माहौललाई भत्काउन खटिएका राजपाका जिल्लाका नेतालाई पनि पक्राउ गरी तारेखमा छाडिएको छ । ‘चल्लाहरु समाएर राखेर कामै छैन’ एसपी राईले भने ‘माउलाई नै समाएर ल्याएर थुनेपछि चल्लाहरुको चिल्लीबिल्ली हुन्छ ।’

राजपा जिल्ला नेतालाई पक्राउ गरी राम्रोसँग सम्झाएर बुझाएर अब उप्रान्त कुनै निर्वाचन विरोधी गतिविधि गरे सार्वजनिक अपराधको मुद्दा लगाउने गरी छाडिएको बाँके प्रहरी प्रमुख राईले जानकारी दिए । राजपाका १५ जना नेता कार्यकर्ता अहिले ३ दिने तारेखमा छन् । विप्वलका कार्यकर्ता पनि तारेखमा छन् ।

निर्वाचनमा यस्तो सुरक्षा योजना

जिल्लाका ८ वटा स्थानीय तहको भौगोलिक, जातीय र क्षेत्रीय अवस्था हेरेर सुरक्षा योजना बनाइएको प्रहरी प्रमुख राईले बताए । प्रत्येक मतदान केन्द्रमा म्यादी र जनपथ प्रहरी गरेर बढिमा २१ जना खटिने छन् । ९ जनाको सशस्त्र प्रहरीको टोली दोस्रो घेरामा हुने छ । नेपाल आर्मीले गस्ती गर्ने छ ।

जिल्लामा निर्वाचन गराउन २२ सय प्रहरी परिचालन गरिएको छ । मतदान केन्द्रको सुरक्षा, मतदाताहरूलाई लाइनमा मिलाएर राख्ने काम र मतपेटिकालाई सुरक्षित तरिकाले मतगणना स्थलसम्म लैजाने गरी सुरक्षा योजना बनेको छ । भारतिय सीमा क्षेत्रमा प्रहरीहरू परिचालन गरेर कुनै पनि व्यक्तिलाई आउन जान नदिने गरी सुरक्षा कडा पारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment