Comments Add Comment

चेपाङ जनप्रतिनिधिको चिन्ताः खाद्यान्न, स्वास्थ्य र लालपूर्जा


१२ असार, चितवन । नेपालको अति नै सीमान्तकृत जातिको सूचिमा छैटौं नम्वरमा रहेको जाति हो चेपाङ । जनगणना ०६८ अनुसार नेपालमा ६८ हजार ९६० चेपाङ जातिको जनसंख्या छ ।

चितवन, धादिङ, मकवानपुर र गोरखाका विकट पहाडी भेगमा बसोबास गर्ने चेपाङ (प्रजा) जातिका आफ्नै दुःख छन् । राजनीतिक प्रतिनिधित्वका हिसावले समेत पछि परेका यो जातिले हालै भएको पहिलो चरणको स्थानीय तह निर्वाचनबाट आफ्नै जनप्रतिनिधि समेत पाएको छ ।

चार महिनाभन्दा बढी खान नपुग्ने, आधारभूत शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता सुविधाबाट वञ्चित बनेको यो जातिको गिठ्ठा भ्याकुर खोज्नु, माछा मार्नु र शिकार खेल्नु दिनचर्या नै हो । खानेकुरा नपाएर जंगली च्याउ खाँदा परीवार नै सखाप भएका घटनाहरू पनि चितवनमा हुँदै आएका छन् । सानै उमेरमा बिहे गर्ने, बग्रेल्ती सन्तान जन्माउने, अत्यन्त गरीबीका कारण कतिपयलाई शरीर ढाक्ने लुगासमेत नहुँदा निर्वस्त्र बस्नुपर्ने बाध्यता छ ।

तर, विस्तारै यो जातिमा पनि राजनीतिक, शैक्षिक, स्वास्थ्य सम्वन्धी चेतना बढ्दै गएको छ । स्थानीय तहको निर्वाचनमा यो समुदायबाट ११ जना वडाध्यक्ष नै विजयी बने । वडाध्यक्षसहित ६४ जना जनप्रतिनिधि चेपाङ समुदायबाट हुनुलाई राजनीतिक उपलब्धी मान्न सकिन्छ ।

२०५४ सालमा भएको स्थानीय तहको निर्वाचनमा २ जना गाविस अध्यक्ष चेपाङ समुदायबाट निर्वाचित भएका थिए भने २ जना उपाध्यक्ष । मकवानपुरको राक्सिाराङ र चितवनको साविक सिद्धि गाविसबाट चेपाङ बनेका थिए ।

यसपटक राक्सिराङ गाँउपालिकाको अध्यक्षमा माओवादीका तर्फबाट अध्यक्षमा माओवादी केन्द्रका तर्फबाट यूसाई चेपाङ उठेका थिए तर उनी पराजित भए । यद्यपी अहिले तत्कालिन गाविस अध्यक्षलाई भन्दा बढि अधिकार सम्पन्न बनाइएको वडाको अध्यक्षमा चेपाङ समुदायबाट प्रतिनिधीत्व हुनुले उनीहरूको आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक अधिकारको रक्षा गर्नसक्ने विश्वास गर्न सकिन्छ । अब अरू समुदायबाट चेपाङहरूको हित भएन भनेर दोषारोषण मात्रै गरेर चेपाङ जनप्रतिनिधिहरूले सुख पाउने अवस्था छैन ।

चेपाङ बाहुल्य क्षेत्र नै चितवन, मकवानपुर, धादिङ र गोरखा भएकोले अब दोस्रो चरणको निर्वाचनमा थप चेपाङ जनप्रतिनिधि आउने सम्भावना छैन । चेपाङ जनप्रतिनिधिहरूले चेपाङका मूल समस्या माथि नै प्रहार गर्ने योजना बनाएका छन् । चितवन, धादिङ, मकवानपुर र गोरखाका जिल्लाबाट निर्वाचित चेपाङ जनप्रतिनिधिहरूले चेपाङ जातिका समस्या वडाका सबै जातजातिका साझा समस्या भएकाले त्यसैलाई केन्द्रमा राखेर योजना बनाउने बताएका छन् ।

जनताभन्दा मुनि, दलभन्दा माथि बसेर काम गर्छुः पञ्चलाल चेपाङ

चितवनको इच्छाकामना गाँउपालिका वडा नम्बर २ बाट निर्वाचित पञ्चलाल चेपाङ एमालेबाट बिजयी भएका हुन् । उनले गैरचेपाङ उम्मेदवारहरू माओवादी केन्द्रका प्रकाश बुढाथोकी र कांग्रेसका एकबहादुर अधिकारीलाई पराजित गरे । दुवै प्रतिस्पर्धी उम्मेदवारको चित्त दुखाएर आफू बिजयी भएको पञ्चलालले सुनाए । आफुलाई जिताउने सबैलाई उनले धन्यवाद पनि दिए ।

२०५१ सालदेखि नै जनताको बीचमा रहेर काम गरेका पञ्चलाल होचा कदका छन् । जनताको काम भनेपछि उनी सधै अगाडि हुन्छन् । शारिरीक रूपमा केही कमजोर देखिन्छन् उनी । तर, उनको साहस र उद्देश्य भने काँउले र चण्डीभञ्जाङका बाँदर लड्ने भिरभन्दा पनि अग्लो छ ।

जनताका काम गर्न भनेर उनले भरतपुरमा कोठा समेत लिएका छन् । छोराहरू त्यही बसेर पढ्छन् । सामान्य खेतीपाती, पशुपालन बाहेक उनको आम्दानीको स्रोत त्यस्तो केही पनि छैन । जिल्ला विकास समितिमा धेरैजसो समय जनताका काम लिएर आएकै अवस्था पञ्चलाल भेटिन्छन् । निर्वाचनमा आफ्नो जितको आधार पनि जनताको सुखदुःखमा साथ दिएकाले नै सम्भव भएको हो भन्छन् पञ्चलाल । चेपाङहरू बिरामी हुँदा होस् वा उनीहरूका हरेक समस्यामा उनी पुग्छन् । ‘अब म जनताको प्रतिनिधि भए, जनता भन्दा तल, पार्टी भन्दा माथि बसेर काम गर्दछु,’ पञ्चलालले भने ।

भरतपुरको चर्को गर्मीमा नालाखाला पसिना निकाल्दै आएका चेपाङका नेता पञ्चलालले आफ्ना भावी योजना पनि सुनाए । पञ्चलालले भने ‘चेपाङका समस्या त भनिसाध्य छैन । चेपाङका हातमा नत यो देशको नागरिकता छ नत नाममा कहि कतै एक टुक्रो जमिन नै ।’

देशभित्र बसेर पनि चेपाङहरू गैरनागरिक बनेकोमा उनको दुःख व्यक्त गरे । पञ्चलालले आफ्नो ५ वर्षे कार्यकालमा वडाका हरेक चेपाङलाई नागरिकता र लालपूर्जा दिएरै छाड्ने दृढता ब्यक्त गरेका छन् । उनले पटक-पटक दोहोर्‍याएर भने, ‘म यो काम जसरी पनि गरेर छोडछु मैले जनतालाई वचन दिएको छु ।’

तर, वडाको काम कसरी शुरु गर्ने भन्ने चिन्ताले उनलाई सबैभन्दा बढी सताएको छ । जनप्रतिनिधि त भइयो तर के-के अधिकार वडामा आएको छ । त्यसको प्रयोग कसरी गर्ने भन्ने बारेमा भने उनी बेखबर जस्तै रहेछन् । तर उनलाई विश्वास छ यस बारेमा तालिम तथा गोष्ठी पनि होला । ‘काम गर्दै जाँदा जान्ने त हो नी,’ पञ्चलालले आत्मविश्वासपूर्वक भएर भने ।

चेपाङको एउटा घरबाट अर्को घर जान २ घण्टा लाग्ने, छरिएका वस्ती भएकाले बिजुली, खानेपानी, विद्यालय, स्वास्थ्यको पहुँच पुर्‍याउन पनि समस्या भएकाले त्यसलाई एकीकृत गर्ने योजना उनको छ । आर्थिक अभाव तथा खाद्यान्न अभावका लागि कृषि सम्वन्धी तालिम, उन्नत जातको तरकारी खेती, व्यवसायिक पशुपालन, गोठ सुधारमा जोड दिने उनले कार्यक्रम बनाएका छन् । प्लस टु सम्मको अध्ययन गाउँमै गराउने र शहर आउने क्रमलाई गाउँमा रोक्ने पञ्चलालले आफ्ना योजना सुनाए । प्लस टु सम्मको अध्ययन गिठ्ठा भ्याकुरै खाएर भएपनि गाउँमै हुनुपर्दछ भन्ने मान्यता उनको छ ।

च्याउ खाएर मर्ने दिनको अन्त्य गर्छुः सिंहबहादुर चेपाङ


अन्य चेपाङ वडाध्यक्ष भन्दा हट्टाकठ्ठा र जोशिला देखिन्छन सिंहबहादुर चेपाङ । प्रतिस्पर्धी वडाध्यक्षका उम्मेदवारलाई ५ मतले पराजित गरेका सिंहबहादुरले अन्य चेपाङ उम्मेदवारलाई नै पराजित गरेका हुन् । चेपाङ, दलित, तामाङ जातिको बसोबास रहेको राक्सिराङको वडा नम्बर ६ को अध्यक्ष बनेपछि सिंहबहादुरले केही योजनाहरु सुनाए ।

राज्यले दिने रकम र स्थानीय स्रोत साधनहरूको पहिचान गरी वडाको विकासमा लाग्ने उनको योजना छ । स्थानीय सामुदायिक वनको अध्यक्षसमेत रहेका सिंहबहादुरले खानेपानी, शिक्षा, स्वास्थ्य जस्ता राज्यका आधारभूत अधिकारमा चेपाङहरूको पहुँचमा पुर्‍याउने योजना उनको प्राथमिकतामा छ । वडाबाट गर्नुपर्ने कामहरू र जिम्मामा आएका कामहरू सबै गर्ने सिंहबहादुरले बताए । ‘मसँग युवा जोश जाँगर पनि छ सकभर सबै राम्रोका लागि गर्दछु,’ चेपाङ संघ मकवानपुरमा सचिव पनि समेत रहेका सिंहबहादुर भने ।

उनले स्थानीय स्तरमा सचिवकै हैसियतबाट खानेपानीको प्रवन्ध मिलाएका छन् । स्थानीय चेपाङहरूलाई आयआर्जनमा जोड्न मौरीपालन सम्वन्धि तालिम पनि दिएका छन् । बर्षेनी जंगली च्याउ खाँदा चेपाङहरूको परिवार नै नास हुने अवस्थाले उनलाई अति नै दुःखी बनाउँछ । जथाभावी च्याउ खाँदा मरिन्छ भन्ने थाहा पाएपनि भोक टार्न चेपाङले च्याउ खाने गरेको दुखेसो सिंहबहादुरले सुनाए ।

विभिन्न सामाजिक संघसस्थाहरूसँग समन्वय गरेर बिषालु च्याउ खानबाट चेपाङहरूलाई छुटाएरै छाड्ने सिंहबहादुरको अठोट छ । ‘यो मकवानपुरको मात्रै बिषय होइन चितवन, धादिङ र गोरखामा समेत समस्या उस्तै छ,’ सिंहबहादुरले भने, ‘यो समस्या सबै मिलेर हल गर्ने हो ।’

स्थानीय जनप्रतिनिधिहरूलाई सरकारले अधिकार र काम गर्ने तरिकाबारे सिकाउनुपर्ने सिंहबहादुरको माग छ । ‘वडाका निर्वाचित जनप्रतिनिधिलाई तालिम दिए काम गर्न भने सहज हुन्थ्यो,’ उनले भने ।

गाउँपालिकाको अध्यक्ष बन्ने लक्ष्य छः भूपेन्द्र चेपाङ

चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष हुन् भूपेन्द्र चेपाङ । चेपाङ समुदायबाट पहिलो निर्वाचित वडाध्यक्ष पनि । हँसिलो अनुहार भएका चेपाङ नेता भूपेन्द्र राजनीतिक नेतृत्वमा चेपाङ आउनु सुखद भएको बताउँछन् । चेपाङहरूका समस्यासँग नजिकबाट परिचित रहेका भूपेन्द्र सामाजिक काममा क्रियाशिल छन् । चेपाङ बस्तीमा काम गर्न मुस्किल भएपनि जनताको वाचा पूरा गर्न लागिरहेको उनले बताए ।

यसपटक वडाध्यक्ष भएपनि अर्कोपटक गाउँपालिकाकै अध्यक्ष बन्ने गरी काम गर्ने योजना उनको छ । ‘मेरो उमेर पनि छ, केही गर्दछु भन्ने पनि लागेको छ,’ भूपेन्द्रले अठोट सुनाए, ‘चेपाङ वस्तीका समस्याहरु धेरै छन् । कहाँबाट शुरु गरौं भन्ने पनि हुन्छ तर प्राथमिकतामा आधारमा काम गर्ने हो अझै ५ बर्षसम्म काम गर्न पाइन्छ ।’

सबैभन्दा पहिले शिक्षा, स्वास्थ्य, खाद्यान्न र भूमिहिनहरूका लागि केही काम गर्ने योजना बनाइरहेको भूपेन्द्रले सुनाए । चेपाङहरूका छरिएका वस्तीहरूलाई जनता आवास कार्यक्रम मार्फत एक ठाउँमा समेट्ने उनको योजना छ । चेपाङका बस्ती छरिएर रहनु नै समस्याको मूल जरो भएकाले यसको पहिचान गरिएको उनले बताए ।

‘यदि बस्ती एकै ठाउँमा हुन्थ्यो भने विकास गर्न पनि सजिलो हुन्थ्यो, एकै स्थानमा विद्यालय, स्वास्थ्य चौकी, खानेपानी, खेल्ने मैदान, मेलापात भारो पर्म दुःख बिमारमा सरसहयोग पनि हुन्थ्यो,’ भूपेन्द्रले थपे, ‘अब वल्लो डाँडाको कुनामा एउटा घर छ, पल्लो डाँडाको कुनामा अर्को घर छ कसरी जाने, कसरी विकास गर्ने ?’

वडाध्यक्षमा निर्वाचित भैसकेपछि भूपेन्द्रले भाडामा कोठा लिएर वडा कार्यालय चलाउन थालेका छन् । ‘अब जनताका काम सहज ढंगले अघि बढछन्,’ उनले भने ।

क्रिश्चियन धर्मको प्रभाव, अबिरसँग ‘एलर्जी’ !


चेपाङ समुदाय भित्र क्रिश्चियन धर्मको प्रभाव कुन हदसम्म फैलिएको रहेछ भन्ने कुरा नेपाल चेपाङ संघले भरतपुरमा गरेको नवनिर्वाचित जनप्रतिनिधिहरुलाई राखेको वधाई तथा शुभकामना कार्यक्रममा प्रस्टै देखियो ।

चेपाङ संघका केन्द्रीय अध्यक्ष जितेन्द्र चेपाङ र पूर्व सांसद गोविन्दराम चेपाङले खादा र अविर लगाएर नवनिर्वाचित चेपाङ जनप्रतिनिधीलाई सम्मान गर्न खोज्दा धेरैजसो जनप्रतिनिधिले त्यसलाई अस्वीकार गरे । कतिपयले अविर लगाउन अस्वीकार गरे भने कतिले लगाए पनि एकैछिनमै पुछे ।

अविर नलगाउनु र पुछ्नुका बारेमा बुझ्दा एकजना चेपाङ जनप्रतिनिधिले आफूहरुले क्रिश्चियन धर्म मान्दै आएकाले टीका र अविर नलगाउने सुनाए । आफ्नै प्रकृतिको धर्म मान्दै आएको चेपाङ जातिका अगुवाहरुले नै क्रिश्चियन धर्म मान्दै आएको प्रति केन्द्रीय अध्यक्ष जितेन्द्र चेपाङले चिन्ता व्यक्त गरे । ‘अब जनप्रतिनिधिकै हालत यस्तो छ,’ उनले भने, ‘आर्थिक प्रलोभनमा चेपाङको प्रकृति धर्म मासिदै गयो ।’

आफ्नै लिपि समेत नभएको चेपाङ जाति भित्र क्रिश्चियनहरुले प्रभाव बढाउँदै लगेका छन् । अधिकांश चेपाङ वस्तीहरुमा क्रिश्चियनका चर्चहरु भेटिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment