Comments Add Comment

नेपालगञ्जमा मनाइँदै सामुहिक ईद (फोटो फिचरसहित)

१२ असार, नेपालगन्ज । बिहानैबाट खुलेको नीलो आकाश । भरखरै उदाएको कलिलो घाम । सिरसिर चलेको चिसो बिहानी बतास । नेपागञ्जको वीपीचोक नजिक मुस्लिमहरु सामूहिक प्रार्थनाका लागि भेला भए ।

ठाँउ ठाँउमा राजनीतिक दलहरुले प्रार्थनार्थीहरूलाई सर्वत खुवाउन भन्दै टेन्ट टाँगेर राखेको सडकमा खचाखच मुस्लिम भक्तजनहरु कोही सडकमा, कोही मस्जिद भित्र त कोही घरका छत छतमा बसेर नवाज पढ्दै थिए ।

पवित्र महिना रमदानको एक महिनाको लामो कठोर ब्रत (रोजा) पछि नेपालगन्जको ईदगाहमा विहान साढे ८ बजे ‘ईद-उल-फित्र’ ईदको सामुहिक नमाज सुरु भएको थियो ।

बेला बेलामा बिग्रिराख्ने माइकबाट मुस्लिमका धर्म गुरु मौलाना जब्बार मञ्जरीले सामूहिक प्रार्थना गराए । मस्जिद भित्र स्थान साँघुरो भएका कारणले आधा भन्दा बढी प्रार्थनार्थीहरू सडकमा नै कपडा ओछ्याएर प्रार्थना गर्दै थिए ।

प्रार्थनासकेपछि एक आपसमा अंकमाल गर्दै इदको शुभकामना आदानप्रदानमा जुटे मुस्लिम धर्मालम्बीहरू ।

नेपाली मुस्लिम धर्मावलम्बीहरूको सबैभन्दा ठूलो पर्व ‘ईद-उल-फित्र’ ईद मनाउन नेपालगन्जको ईदगाहस्थित मस्जिदमा झण्डै ४ हजार मुस्लिमहरु भेला भएका थिए ।

इस्लामीक धार्मिक पात्रो हजिरीका अनुसार आइतबार २९ रोजाको दिन साँझ चन्द्रमा हेरेर अर्को दिन ईद मनाइने परम्परा भएको मुस्लिम धर्मगुरु तथा सामाजिक सद्भाव तथा अन्तर धार्मिक क्षेत्रीय समितिका सह-संयोजक मौलाना अब्दुल जब्बार मञ्जरीले जानकारी दिए ।

उनले दिएको जानकारी अनुसार आत्मसंयम र शुद्धीका लागि नवौं महिनामा एक महिना भरी रोजा बसेर दशौं महिनाको पहिलो दिन ईद मनाउने चलन छ ।

उनले रमजान सकिएको खुशियालीमा ईदगाहमा जम्मा भएर सामुहिक रुपमा प्रार्थना गरी एकआपसमा शुभकामना साटासाट गर्ने चलन रहेको सुनाए ।

‘ईद-उल-फित्र’ ईदको अवसरमा प्रत्येक मुस्लिम समुदायको घरघरमा सेवाई, जर्दा पुलाउ जस्ता विशेष पक्वानहरु पकाई आफु खाने र आफन्तको घरमा पठाउने चलन समेत रहेको कारणले यसलाई मिठी ईद पनि भन्ने गरिन्छ।

रोजा सुर्योदय हुनुभन्दा अघिदेखि सुर्यास्तसम्म चल्ने र यस महिनामा धनीवर्गले गरीबहरुलाई आर्थिक सहयोग लगायत अन्य दान दिने चलन रहेको छ । रमजानको महिनामा गरिने उपासनाबाट अन्य महिना भन्दा ७० गुणा बढी लाभ मिल्ने धार्मिक विश्वास छ ।

यसैगरी ईदुल फित्रमा खाने बिशेष प्रकारको परिकार सेवई खरिद गर्नेहरुको पसलहरुमा निकै भीड लागेको छ । साउदी अरबमा ईद मनाईएको भोलीपल्ट नेपालमा ईद मनाईने प्रचलन रहेको मौजाना जियाउल मुस्तफा नूरानीले जानकारी दिए । मुस्लिम समुदायको बाक्लो बसोवास नेपालगन्जमा छ ।

रमजानको समाप्तिसँगै ईद मनाउन मुस्लिम समुदाय नयाँ लुगा, मिठाई तथा अरु उपहार लगायतका सामग्री खरिदमा गरेका छन् ।

नेपालगन्जको सुर्खेतरोडस्थित रहेको ईदगाहमा नमाज पढ्न आएका इस्लाम धर्मावलम्बीहरूलाई ईदको अवशरमा शुभकामना दिनको लागि विभिन्न राजनीतिक दलका नेता, नागरिक समाजका अगुवा, सञ्चारकर्मी सो ठाँउमा पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment