Comments Add Comment

चुनावलाई लक्षित गरी भारतसँग जोडिएका सीमा ‘शील’

१२ असार, काठमाडौं । असार १४ गते चुनाव हुन लागेका जिल्लाहरुका अन्तरदेशीय सीमा नाकाहरु आजबाट बन्द गरिएको छ । चुनावमा हुनसक्ने सम्भावित घटना रोक्ने उद्देश्यले भारत र चीनसँग जोडिएका सीमा नाकाहरु बन्द गरिएको हो ।

गृहमन्त्रालयका प्रवक्ता दीपक काफ्लेले अनलाइनखबरसँग भने, ‘सीमा जोडिएका दुबै देशको सुरक्षा चुनौति के कस्तो छ त्यसको विश्लेषण गरेर आजबाट नाकाहरु सिल भएको छ ।’

काफ्लेका अनुसार कुनै जिल्लामा दुई दिन र कुनै जिल्लामा तीन दिन नाका बन्द गरिएको छ ।

‘स्थानीय प्रहरी प्रशासनले आफ्नो समकक्षीहरुसँग बैठक बसेर कसैले दुई दिन कसैले तीन दिन बन्द गर्नुभाछ । सामान्तया हामीले तीन दिन भनेका छौं ।’

आजबाट बन्द गरिएका सीमानाकाहरु चुनावपछि मात्रै खुल्नेछन् । चुनाव नहुने जिल्लाहरुका सीमा नाकाहरु भने बन्द नगरिएको गृह मन्त्रालयका प्रवक्ता काफ्लेले बताए ।

आपराधिक घटना हुन नदिने उद्देश्यले सीमावर्ती क्षेत्रमा विशेष सुरक्षा व्यवस्थासमेत मिलाउने नेपाल र भारतका अधिकारीहरुबीच सहमति भएको छ ।

कैलालीमा बिरामी र मतदातालाई छुट

कैलालीबाट अनलाइनखबकर्मी दीपक उपाध्यायले दिएको जानकारी अनुसार कैलालीका त्रिनगर नाका, टीकापुरको खक्रौला नाका र भजनीको लालबोझी नाका आजबाट ४८ घण्टाका लागि बन्द गरिएको छ । भोट हाल्न भारतबाट फर्कनेहरु र औषधि उपचारका लागि भारत जानेहरुका लागि भने नाका बन्द नरहेको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए ।

 

गौरिफन्टा कस्टमका सिपाही यु.एस. बर्माले भारतबाट नेपाल र्फकनेहरुलाई जाँच गरेपछि जान दिइएको बताए ।

त्यस्तै भारतीय सिमा सुरक्षा बल एसएसबीका जवान विनय शर्माले माथिल्लो निर्देशन पालना गर्ने भन्दै नेपाल फर्कन चाहनेहरुको परिचय पत्र हेरि नेपाल जान दिइएको बताए । उनले आज विहान मात्रै करिब ६० जना भन्दा बढी नेपाली भारतबाट नेपाल तर्फ गएको जानकारी दिए ।

गत शुक्रबार नेपाल-भारत सीमा बैठकले चुनावका लागि भन्दै ४८ घण्टा सिमानाका बन्द गर्ने निर्णय गरेको थियो ।

रुपन्देहीको सीमानाका बुधबार बेलुकी ७ बजेसम्म बन्द

रुपन्देही, कपिलवस्तु र नवलपरासीका सिमानाका पनि ४८ घण्टाका लागि बन्द गरिएको छ । स्थानीय तह निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै यी तीनै जिल्लाको सिमानाका ४८ घण्टाको लागि बन्द हुने भएको हो ।

भैरहवाबाट अनलाइनखबरकर्मी सलमान खानका अनुसार सुरक्षालाई मध्येनजर गदर्ैै नेपाल र भारतका तीन जिल्लाको सीमानाका बन्द गर्ने करिब एक महिना अघि नै सहमति भएको थियो ।

असार १२ गते राति १० बजेदेखि असार १४ गते साँझ ७ बजेसम्मको लागि नेपाल-भारतको सीमानाका बन्द हुने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले जानकारी दिए ।

नेपालबाट भारत र भारतबाट नेपाल तर्फ जाने आउने सवारीसाधनका साथै पैदल यात्रा समेत रोक लगाइएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।

मोरङका सीमानाका बिहीबार बिहान ६ बजेसम्म बन्द

मोरङ जिल्लामा पर्ने नेपाल-भारत सीमा नाका पनि सोमबार बिहान ६ बजेदेखि असार १५ गते बिहान ६ बजेसम्म बन्द गरिएको छ । चुनावको समयमा अवाञ्छनीय घटना नहोस् भनी सीमा क्षेत्रबाट आवातजावतमा रोक लगाइएको अनलाइनखबरकर्मी ध्रुव भट्टराईले जानकारी दिए ।

मोरङ जिल्लाको कुल ६३ किलोमिटर सीमाक्षेत्र भारतसँग जोडिएको छ ।

नेपाल र भारतका सुरक्षा अधिकारीहरुको बैठकमा चुनाव सुरक्षालाई मध्यनजर गर्दै ७२ घण्टा सीमानाका बन्द गर्ने सहमति भएको थियो । भारतको सुपौलमा नेपाल-भारत दुवै देशका सुरक्षा अधिकारीवीच भएको बैठकमा दुबै देशले निर्वाचनको अवधिभर सीमानाका बन्द गर्ने सहमति भएको मोरङका प्रमुुख जिल्ला अधिकारी यज्ञराज कोइरालाले जानकारी दिए ।

बाँकेका सीमानाका बुधवार बेलुका ७ बजेसम्म बन्द

असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि शान्ति सुरक्षा कायम गर्न भन्दै बाँके जिल्लाका सबै सीमा नाका पनि बन्द गरिएको नेपालगञ्जबाट अनलाइनखबरकर्मीद्वय आरपी सुवेदी र सुवास पण्डितले जानकारी दिएका छन् ।

बुधवार बाँकेका ८ वटा स्थानीय तहको निर्वाचन लक्षित गरी सोमबार बिहान ७ बजेदेखि बुधवार राति ७ बजेसम्मका लागि नेपाल-भारत सीमा क्षेत्रमा आवतजावत पूर्णरुपले बन्द गरिएको छ ।

जिल्ला निर्वाचन व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले १२ गते सोमबार बिहान ७ बजेदेखि १४ गते बुधबार मतदान नसकिदासम्मका लागि नेपाल-भारत सीमा क्षेत्रमा आवत जावत पूर्णरुपमा बन्द गरी सीमा क्षेत्र ‘शील’ गरिएको जानकारी दिए ।

बाँके जिल्लाको करीव ७० किलोमिटर सीमा भारतसँग जोडिएको छ । कुनै पनि अवाञ्च्िछत क्रियाकलाप हुन नदिन सबै क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको पन्थीले बताए ।

‘अत्यन्तै इमरजेन्सी तथा मानवीय सम्बेदनशीलता जस्तै औषधि उपचार आदिको लागि अवस्था हेरेर मात्र आवत-जावत गर्न दिन सकिन्छ,’ प्रमुख जिल्ला अधिकारी पन्थीले भने ‘तर, त्यो कुरा अत्यन्तै न्यून मात्र हुने हुँदा बोर्डर पूर्णतया शिल हुनेछ ।’

भारतीय पक्षले पनि नेपालमा हुन लागेको स्थानीय तहको निर्वाचनको सुरक्षाको लागि आफ्नो सीमा क्षेत्रबाट सहयोग गर्ने बचन दिएको प्रजिअ पन्थीले जानकारी दिए ।

निर्वाचनको सुरक्षाको दृष्टिले अत्यन्तै संवेदनशील रहेको खुला सिमानामा निर्वाचनलाई प्रभाव पार्ने कुनै पनि अवान्छनीय गतिविधि हुन नदिनको लागि सीमा क्षेत्रमा संयुक्त गस्तीको समेत बन्दोबस्त गरिएको बाँकेका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक टेकप्रसाद राईले जानकारी दिए । उनले भने, ‘निर्वाचनको लागि सुरक्षाको कारणले पूर्णरुपले बाँके प्रहरीले आवश्यक मात्रामा प्रहरी तथा सुरक्षाकर्मीको व्यवस्था गरेको छ ।’ उनले आवश्यकता हेरी जिल्लामा सुरक्षा सर्तकता बढाइएको बताए ।

बाँके जिल्लालाई सुरक्षाको दृष्टिकोणले अत्यन्तै जोखिम र संवेदनशील रुपमा लिइएकाले भारतीय काउन्टर पार्टसँगको समन्वयमा सीमा क्षेत्रमा संयुक्त गस्ती, नियमित गस्ती, डग स्क्वाडको प्रयोग गरी जाँच गर्न सुरु गरिएको एसपी राईले बताए ।

सुरक्षा प्रमुख राईले भने, ‘अहिलेसम्म बाँकेको सुरक्षा अवस्था प्रहरीको अण्डर कन्ट्रोल मै रहेको छ, आवश्यक परेमा १० मिनेट भित्रै प्रहरी घटनास्थल पुगेर समस्याको सम्बोधन गरिसक्ने गरी व्यवस्था मिलाइएको छ ।’

बाँके जिल्लामा ८ वटा स्थानीय तहका १ सय ३६ मतदान स्थलमा २ सय ९५ मतदान केन्द्र तोकिएको छ । प्रत्येक मतदान केन्द्रको लागि आवश्यक पर्ने मतदान अधिकृत १, सहायक मतदान अधिकृत १, सहायक कर्मचारी २, कार्यालय सहयोगी २ गरी छ जना कर्मचारी खटाइएको छ । १ हजार ७ सय ७० कर्मचारी, ८ सय ८५ सहयोगी र प्रति केन्द्रमा बढीमा २१ जनासम्मको प्रहरी र त्यसै अनुपातमा सशस्त्र प्रहरी र सेना परिचालन हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment