Comments Add Comment

दिव्य खालिङको सम्झनामा ‘तिमीलाई भुल्दा’

काठमाडौं । सङ्गीतकार दिव्य खालिङको ११औं स्मृति दिवसको अवसरमा अलग आर्ट हबले साङ्गीतिक कार्यक्रम आयोजना गर्‍यो ।

कार्यक्रममा खालिङका सिर्जना सुनाउने क्रममा गायिकाहरु आभा मुकारुङ र एञ्जिला सिं श्रेष्ठले यी हरफ गाए:

परेलीले पन्छाउला काँडा
निर्मोही कुल्चने बाटोमा
पाउको माटो सिउँदोमा राखी
सिँगारुँला सिन्दूरको साटोमा

गीतले रोमाञ्चक माहौल बनायो । यो माहौललाई मण्डल साम्पाङ, गीता पाण्डे, सुनिता थेगिम, विनोद बान्तावा, कर्ण लामा, सुनिता राई, विक्रम योञ्जन लगायत आर्ट हबका विद्यार्थीले खालिङका अरु सिर्जना प्रस्तुत गर्दै जीवन्त पारे ।

गायक–गायिकाले ‘म त लालीगुराँस भएछु’, ‘तिमीलाई भुल्दा’, ‘बिर्सिएर मैले फेरि’, ‘उड्दै आयो चिठी चरी’, ‘तिमी मान या नमान’, ‘मेरा गीत सबै तिमीलाई’, ‘जता हेर्‍यो उतै तान्ने’ बोलका गीत प्रस्तुत गरे । उनीहरुलाई वाद्यवादनमा मण्डल साम्पाङ, यमकुमार समाल, नाकिमा नाकिम र विक्रम योञ्जनले साथ दिएका थिए ।

स्रष्टा खालिङसँग सङ्गत गरेकी गायिका एञ्जिलाले खालिङका धेरै सिर्जना गुमनाम अवस्थामा रहेकाले अलग आर्ट हब जस्ता संस्थाहरुले खोजी गरी श्रोतामाझ ल्याउनुपर्ने बताइन् । यस्तै, नाकिमाले अग्रज स्रष्टाले खनेको साङ्गीतिक गोरेटोलाई फराकिलो बनाउँदै अघि बढ्ने जिम्मेवारी नयाँ पुस्तामा रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment