Comments Add Comment

कपिलवस्तुका तीन नगरपालिकामा कसको पकड ?

बुद्धभूमि-शिवराज र बाणगंगामा तीन दलको रस्साकस्सी


१२ असार, कपिलवस्तु । पूर्व-पश्चिम राजमार्गसँग जोडिएका तीन नगरपालिकाहरु जिल्लाकै मुख्य चुनावी आर्कषणका केन्द्र बनेका छन् । मौन अवधि सुरु भए पनि यहाँको चुनावी माहौल यहाँको तापक्रम भन्दा बढी तातेको छ ।

बुधबार हुन गइरहेको दोश्रो चरणको स्थानीय तह निर्वाचनमा बुद्धभूमि, शिवराज र बाणगंगा नगरपालिकाको ताजा अवस्था, जनसमुदायसँग प्रत्यक्ष भेटघाट र निर्वाचन केन्द्रको निरीक्षण पश्चात यस्तो चित्र देखिएको छः

बुद्धभूमि नगरपालिका

भूगोलमा जिल्लाकै ठूलो स्थानीय तह बुद्धभूमि नगरपालिकामा चुनावी रस्साकस्सी निकै बढेको छ । पहाडी चुरे क्षेत्र, पूर्व-पश्चिम राजमार्ग, देशकै नमूना तिलौराकोट साझेदारी, मायनदेवी साझेदारी सहित ३ दर्जन सामुदायिक वन, नदीजन्य पदार्थ निकासीका मुख्य स्रोत तथा दक्षिणी खेतीयोग्य भूमिसम्म फैलिएको बुद्धभूमि नगरपालिका आफैंमा प्राकृतिक श्रोतले धनी स्थानीय तह हो ।

पुरातात्विक सम्पदा, ३ दर्जन बढी ठूला ताल तलैया तथा विविध सांस्कृतिक महत्व बोकेको थारु, मुस्लिम, मधेशी र पहाडे समुदायको मिश्रति जनसंख्या रहेको यहाँको चुनावलाई जिल्लाले भिन्न प्रकारले हेरेको छ । साबिकका १० गाविस तथा हालै भृकुटी नगरपालिका र बुद्धबाटिका नगरपालिका गाभेर बनाइएको बुद्धभूमी नगरपालिकामा मुख्य गरी कांग्रेस र एमालेको टक्कर पर्ने देखिन्छ भने माओवादीले पनि चुनावी मैदानमा उनीहरु भन्दा कम छैन ।

तीन ठूला दलसहित मधेसी समुदायको मत बढी रहेका साविकका ५ वटा गाविस छन् । थारुको बाहुल्यता रहेका ३ वटा गाविसमा पनि संघीय समाजवादी फोरम र फोरम लोकतान्त्रिकबाट उम्मेद्धवार उठेका छन् ।

एमाले कांग्रेसको मत फोरम र लोकतान्त्रिकले काटेपछि आप\mनो जित सुनिश्चित भएको माओवादीको दाबी छ । कांग्रेस र एमालेले विगतको अवस्था देखाउँदै आफू बलियो भएको ठहर गगरेका छन् ।

बुद्धभूमि नगरपालिकाको धनकौली, मानपुर, महुवा, राजपुर, हरिहरपुर तथा बरकुलपुरका ८० प्रतिशत मतदाता मधेसी समुदायका छन् । जसबाट फोरम, कांग्रेस र माओवादीलाई राम्रो मत आउने आशा गरिएको छ भने एमालेलाई कम मत आउने अपेक्षा गरिएको छ ।
तर, बुड्ढी, महेन्द्रकोट, जयनगर, दुबियामा पहाडे र थारु समुदायको बाहुल्यता भएका कारण एमाले र फोरम लोकतान्त्रिकले मत बढी ल्याउने र कांग्रेस र माओवादीले कम मत ल्याउने आँकलन पुराना नेताहरुको छ ।
पूर्वाधारको अभावमा जनसंख्यालाई मात्र आधार बनाएर गठन गरिएको बुद्धभूमि नगरपालिका प्रमुखलाई ठूलो चुनौती विकास, पूर्वाधारमा सबै वडालाई समान तथा तिब्र विकासमा लानुपर्ने देखिन्छ । नगरबासीहरुले पनि सबै वडामा समान विकास र पूर्वाधार निर्माणलाई नै जोड दिएका छन् ।

नगरपालिकाका कतिपय स्थानमा पर्याप्त श्रोत साधन छन् भने कतै अभाव नै अभाव छ । सिंचाइ, खानेपानी, विद्यालय, अस्पताल, सडक स्तरोन्नति लगायतका जनताको माग पूरा गर्न अहिलेका उम्मेद्वारलाई चुनौती छ ।

जिल्लाकै सम्वृद्ध र सबल स्थानीय तह बनाउने उदघोषसहित कांग्रेसका क्षेत्र नं. १ का क्षेत्रीय सभापति केशव श्रेष्ठ, एमालेका स्थानीय प्रभावशाली नेता रुपेश श्रेष्ठ तथा माओवादी जिल्ला सह-इञ्चार्ज रुद्रलाल बन्जाडे चुनावी मैदानमा छन् ।

कांग्रेस जिल्ला सभापति सुरेन्द्रराज आचार्य केशव श्रेष्ठलाई जिताउन दिनरात लागेका छन् । एमालेले नाकको इज्जत मानेर जसरी पनि जित्ने दाउमा छ भने माओवादी नेता चन्द्रप्रकाश खनाल बलदेवका आफन्त र जिल्लाकै सह-इन्चार्ज उठेका कारण माओवादीले पनि पुरै शक्ति लगाएको छ ।
चुनावी रस्साकस्सीका वीच जनताका घरमा गएर मुख्य तीन ठूला दलका उम्मेद्वारले विभिन्न प्रतिवद्धता गरेर चुनाव आफ्नो पक्षमा पार्न लागिपरेका छन् ।

शिवराज नगरपालिका
विकासको गतिमा निकै अघि बढिरहेको शिवराज नगरपालिका आर्थिक रुपमा बलियो क्षेत्र मानिन्छ । मधेसी, थारु र पहाडे समुदायको बाहुल्य रहेको यहाँ विशेष गरी ४ वटा दल चुनावी मैदानमा छन् । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र तथा संघीय समाजवादी फोरम यतिखेर चुनावमा होमिएका छन् ।

कपिलवस्तुको शिवराज नगरपालिकाका प्रमुखका उम्मेदवारहरूले देशकै नमूना नगरपालिकाका रूपमा विकास गर्ने प्रतिवद्धता सहित आफूले जित्ने दाबी गर्दै चुनावी प्रचार-प्रचार गरेका छन् ।

आकर्षक नारा लिएर घरदैलो कार्यक्रममा विभिन्न ठाउँमा घुम्न व्यस्त प्रमुख पदका दाबेदारहरूले यस्तो दाबी गरेका हुन् । शिवराज नगरपालिकाको मेयर पदमा नेपालीका कांग्रेसबाट प्रेम सिंह रायमाझी मैदानमा छन् । पार्टीले आफूलाई टिकट नदिएको झोंकमा अर्का प्रभावशाली कांग्रेस नेता एवं चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्षम जमशेद अलीले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन् । जसकारण कांग्रेस सो क्षेत्रमा तेस्रो अवस्थामा आउने आँकलन गरिएको छ ।
नेकपा एमालेको प्रभाव रहेको भनिएको यो क्षेत्रबाट संविधान सभा निर्वाचन लडेका नेता नेत्रराज अधिकारीलाई एमालेले मेयरमा अघि सारेको छन् । आफूलाई निकै बलियो मान्ने एमालेले कांग्रेसवीचको विवाद, राजपाले निर्वाचनमा भाग नलिएको स्थिति र फोरममा पनि विवाद भएका कारण आफ्नो जित सुनिश्चि भएको दाबी गरेको छ ।

आफ्ना उपमेयर थारु समुदायकी युवती भएका कारण पनि थारु भोट आफूलाई आउने एमालेको विश्वास छ ।

तर, नेकपा माओवादी केन्द्रका प्रकाश पौडेलले शिवराजमा कांग्रेस एमालेलाई कडा टक्कर दिइरहेका छन् । यस क्षेत्रमा चिकित्सकका हैसियतले निकै राम्रो प्रभाव जमाएका पौडेल आफ्नो सम्बन्ध र पार्टीको धरातलकै आधारमा चुनाव जित्नेमा आशावादी देखिन्छन् ।

शिवगढी, शिवपुर, हल्लानगर, बालापुर, जवाभारी लगायतका क्षेत्रमा माओवादीको राम्रो पकड रहेका कारण अरुको लडाइँमा आफूले जित्ने माओवादी केन्द्रको दाबी छ ।

युवा समुदाय माझ लोकपि्रय मानिने राप्रपाका अजय थापाले पनि अरु उम्मेद्वारलाई कडा टक्कर दिएका छन् । उनको घरदैलोमा स्वयं राप्रपा केन्द्रीय अध्यक्ष कमल थापा हिँडेपछि उनको चर्चा एकाएक चुलिएको छ । उनले युवाको साथ पाए जितेर देखाउने दाबी गर्छन् । राजनीतिक विश्लेषकहरुका अनुसार थापाले कांग्रेस र एमालेको मतका साथै राजपाको समेत मत काट्ने देखिन्छ ।
संघीय समाजवादी फोरमबाट सो क्षेत्रका पूर्वगाविस सचिव कृष्णकुमार चौधरी उम्मेद्वार बनेका छन् । फोरमको विवादका वीच उनले टिकट पाएका छन् । उनलाई पनि सो क्षेत्रमा बलियो उम्मेद्वार मानिन्छ । तर, पूर्व जिल्ला अध्यक्ष शतिश गुप्ताले मेयरमा टिकट नपाएपछि फोरम लोकतान्त्रिकबाट उम्मेद्वार बनेका कारण चौधरीको जीतमा बाधा पुग्ने विश्लेषकहरुको भनाइ छ । तर, संासद अभिषेक प्रताप शाहको प्रभाव क्षेत्र समेत रहेको र सो क्षेत्रका ७ गाविस मधेसीको बाहुल्यता रहेकाले फोरम बलियो प्रतिस्पर्धी हो । शिवराजमा अन्ततः एमाले, संघिय समाजवादी फोरम र माओवादी केन्द्रवीच नै प्रतिस्पर्धा हुने देखिएको छ ।

वाणगंगा नगरपालिका

जिल्लाको कपिलवस्तु नगरपालिकापछिको सबै भन्दा ठूलो जनसंख्या तथा आर्थिक सम्पन्नताका साथै शैक्षिक क्षेत्रको रुपमा मानिने वाणगंगा क्षेत्रमा जिल्लाका अन्य क्षेत्रभन्दा बढी चुनाव लागेको छ ।

एमाले ०७० सालको दोश्रो संविधानसभा निर्वाचनमा जितेको उक्त क्षेत्र अहिले पनि आफ्नो पकड क्षेत्र मान्दै यहाँ जिल्लाको सम्पूर्ण शक्ति लगाएको छ । एमालेले यस क्षेत्रबाट मेयरमा विमला घिमिरे तथा उपमेयरमा चक्र अर्याललाई उम्मेद्वार बनाएको छ । ०५४ सालको आम निर्वाचनमा आफ्नो पकड जमाएर लालकिल्ला बनाएको सो क्षेत्र भत्काएरै छाड्ने दाउमा कांग्रेस र माओवादी केन्द्र लागेका छन् । जसका लागि उनीहरुले वाणगंगा नगरपालिकामा कार्यगत एकता गरेर अघि बढेका छन् ।

चुनावी एकता गरेर कांगे्रसले मंगल थारुलाई मेयरमा उम्मेद्वार बनाएको छ भने उप-मेयरमा माओवादी केन्द्रका टोपनारायण बेलबासेलाई अघि सारिएको छ ।
नगरपालिकाका ८ वटा वडामा समेत सहकार्य गरी माओवादी-कांग्रेस गठबन्धनले जसरी पनि एमालेलाई हराउन लागेका छन् । यसै गरी सो क्षेत्रमा राप्रपा, नयाँ शक्ति, जनमोर्चा, नेकपा माले तथा वैद्य माओवादीले पनि उम्मेद्वार खडा गरी चुनावमा होमिएका छन् ।

तर, अन्तिम लडाइँ कांगे्रस- माओवादी गठबन्धन र एमाले बिच नै हुने स्थानीयबासीहरु बताउँछन् । माओवादी तथा कांग्रेस नेताहरु पनि यस क्षेत्रलाई जित्न हर सम्भव प्रयास गरिरहेका छन् ।

माओवादी नेता चन्द्रप्रकाश खनाल-बलदेव), सार्वजनिक लेखा समिति सभापति तथा माओवादी संासद डोरप्रसाद उपाध्याय र पोलिट व्यूरो सदस्य गिरधारीलाल न्यौपाने र कमल चुदाँली गठबन्धन जिताउन होमिएका छन् ।
कांग्रेसबाट पनि सभासद तथा जिल्ला सभापति सुरेन्द्रराज आचार्य आफैं घरदैलो अभियानमै हिँडेका छन् ।
बाणगंगाका अधिकांश वडाहरुमा एमाले र गठबन्धनबीच कडा प्रतिस्पर्धा छ । ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा कांग्रेसले विजयी गरेको सो क्षेत्र ०७० मा एमालेले जितेको थियो । यसपटक कांग्रेसले माओवादीको साथ लिएर ०६४ को नतिजा ल्याउन खोजेको छ भने एमालेले ०७० सालकै अधिपत्य कायम गर्न खटेको छ ।
सांसद बलराम अधिकारीले पहाडे समुदाय तथा संासद विश्राम थारुले थारु समुदायको मत रिझाउदै एमालेलाई जिताउने अभियान चलाएका छन् । तर, फोरम लोकतान्त्रिकले भने कांग्रेस, एमाले र माओवादीले आश गरेको थारुको मत राम्रै काट्ने अनुमान अधिकांशको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment