Comments Add Comment

केन्द्रमा पहुँच खोज्दै धरान–इटहरी

१३ असार, काठमाडौं । विराटनगर, इटहरी र धरानका स्वाभाविक रूपमा आआफ्ना ऐतिहासिक विशेषता छन् र आ–आफ्नै कमजोरी तथा सम्भावना । प्रधानमन्त्रीहरूको गाउँ भनेर चिनिने विराटनगरका दाँजोमा इटहरी र धरान राजनीतिक रूपमा धेरै पछि रहे पनि लाहुरेबस्ती र भौगोलिक विशेषताका कारण धरान तथा मिहिनेती र आर्थिक केन्द्रका रूपमा इटहरी आ–आफ्नै विशेषतासाथ अघि बढिरहेका छन् ।

धरान र इटहरीका जानकारहरूले यी दुई उपमहानगरको सबल र कमजोर पक्ष औंल्याएका छन् । राजनीतिक विद्रोहीको इतिहास बोकेको धरानलाई विकास र राजनीतिको मूलधारमा ल्याउनुपर्ने तथा झुपडीबस्तीबाट माथि उठेको इटहरीलाई कोसी अञ्चलकै आर्थिक केन्द्रका रूपमा स्थापित गर्नुपर्ने चुनौती असार १४ गते चुनिने जनप्रतिनिधिसँग छ ।

धरान उपमहानगर सुन्दर, सफा तथा प्राकृतिक रूपले भरिपूर्ण छ । कुनै समय पूर्वीपहाडी जिल्लाको प्रमुख व्यापारिक केन्द्र धरान शिक्षा र स्वास्थ्यमा अग्रणी मानिन्छ । धरानका विज्ञहरूले लाहुरे र आदिवासी, जनजातिको बाहुल्य रहेको यो सहरमा अव्यवस्थित सुकुम्बासी बस्ती, लागुऔषधको सेवन र कारोबार तथा खानेपानीको अभावलाई प्रमुख समस्याका रूपमा औंल्याए ।

धरानमा चुनिने नयाँ जनप्रतिनिधिहरूले यहाँको अभाव र कमीकमजोरी हटाएर समृद्ध धरान निर्माण गर्नुपर्ने पूर्वअञ्चलाधीश तथा राष्ट्रिय पञ्चायत सदस्य सूर्यप्रसाद उपाध्यायको सुझाव छ । धरानलाई समृद्ध बनाउन यहाँको खानेपानी समस्या समाधान गरी यसलाई पर्यटकीय हबका रूपमा विकास गर्न सकिने उनी बताउँछन् । यद्यपि, उनी अब चुनिने जनप्रतिनिधिहरूसँग धरानलाई समृद्ध बनाउने योग्यता र क्षमता रहेकामा शंका व्यक्त गर्छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

तस्वीर अन्नपूर्ण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment