Comments Add Comment

ट्रम्प र मोदीबीच भेटवार्ता, एक-अर्काको प्रशंसा गर्दै के भने ?

१३ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । अमेरिका भ्रमणमा रहेका मोदीलाई राष्ट्रपति ट्रम्प र फस्ट लेडी मेलानियाले ह्वाइट हाउसमा स्वागत गरेका थिए ।

राष्ट्रपति ट्रम्पले आफूलाई गरेको स्वागत सवा सय करोड भारतीयका लागि सम्मान भएको मोदीले बताए । ट्रम्पले पनि मोदी राम्रो प्रधानमन्त्री भएइको भन्दै उनी ह्वाइट हाउस आउनु आफ्ना लागि सम्मान भएको बताए ।

भेटपछि संयुक्त रुपमा पत्रकारहरुमाझ उपस्थित ट्रम्प र मोदीले भनेका मुख्य ५ कुराः

राष्ट्रपति ट्रम्पले के भने ?

· विश्वको सबै भन्दा ठूलो लोकतन्त्रका नेतालाई ह्वाइट हाउसमा स्वागत गर्नु सम्मानको कुरा हो । मैले सँधै भन्दै आएको छु कि तपाईको देश, देशबासी, उनीहरुको संस्कृति, धरोहर र विरासतका लगि मेरो मनमा अगाध श्रद्धा छ ।

· यो वर्ष भारतले आफ्नो ७८ औं स्वतन्त्रता दिवस मनाउँदैछ । यस अवसरमा अमेरिकाको तर्फबाट भारतबासीलाई बधाई दिन चाहन्छु । अमेरिका र भारतको मित्रता साझा मूल्यमा आधारित छ, जसमा लोकतान्त्रका लागि हाम्रो प्रतिवद्धता पनि छ ।

· धेरै मानिसलाई यो थाहा छैन कि भारत र अमेरिकाको संविधान तीन सन्दुर शब्दबाट सुरु हुन्छ र त्यो शब्द हो, वी द पिपुल । प्रधानमन्त्री मोदी र म यो शब्दको महत्व राम्रोसँग जान्दछौं ।

· आजको भेटपछि म यो भन्न चाहन्छु कि भारत र अमेरिकाको सम्वन्ध यति मजबुत र यति राम्रो यसअघि कहिल्यै भएको थिएन । भारत तिव्र रुपमा अगाडि बढिरहेको अर्थव्यवस्था हो र इतिहासमा अहिलेसम्म सबैभन्दा ठूलो कर सुधार गरिरहेको छ । भारत भ्रष्टाचारसँग लडिरहेको छु, जो लोकतन्त्रका लागि सँधै एक गम्भीर खतरा हो ।

· भारत र अमेरिका चरमपन्थ र चरमपन्थी विचारधारासँग लडिरहेको छौं । हामी उग्र इस्लामी चरमपन्थलाई नष्ट गर्छौं । हाम्रो सेनाले यसमा काम गरिरहेको छ र आगामी महिना दुबै देशको सेनाको संयुक्त अध्यास हुनेछ ।

प्रधानमन्त्री मोदीले के भने ?


· राष्ट्रपति ट्रम्प र मेरो आजको कुराकानी हरेक दृष्टिमा अत्यन्त महत्वपूर्ण रह्यो किनकी यो परस्पर विश्वासमा आधारित थियो । यसमा हरेक मूल्य, प्राथािकता, चिन्ता र रुचीको समाधान पनि थियो । यो भारत र अमेरिकाबीच परस्पर सहयोग र सहभागिताको चरम सीमाको उपलब्धीमा केन्द्रीत छ ।

· हाम्रो यस्तो मजबुत सामरिक साझेदारी छ, जसले मानव प्रयासको लगभग सबै क्षेत्रलाई स्पर्श गरेको छ । हामीले भारत र अमेरिकाको सम्वन्धको हरेक आयामको चर्चा गर्‍यौं। दुबै देश एउटा यस्तो द्धिपक्षीय ढाचाँमा प्रतिवद्ध छन्, जसले हाम्रो रणनीतिक साझेदारीलाई नयाँ उचाईमा लैजान्छ ।

· भारतको सामाजिक आर्थिक परिर्वतनका लागि हाम्रो मुख्य कार्यक्रममा हामी अमेरिकालाई मुख्य पार्टनर मान्छौं । मलाई विश्वास छ कि मेरो न्यू इण्डियाको भिजन र राष्ट्रपति ट्रम्पको मेक अमेरिका ग्रेट अमेरिकाको भिजनले सहयोगको नयाँ आयाम सृजना गर्नेछ ।

· मेरो प्रष्ट मत छ कि एक मजबुत र सफल अमेरिकामा नै भारतको हित छ । यस्तै भारतको विकास र अन्तराष्ट्रिय स्तरमा बढ्दो भारतको भूमिकामा नै अमेरिकाको हित छ । व्यापार, वाणिज्य र लगानी सम्वन्धको भरपुर विकास हाम्रो प्रयासको साझा प्राथमिकता हुनेछ ।

· हामी सम्भावनाको सहयोगी मात्र होइनौं, अगाडि रहेको र आगामी दिनमा आउन सक्ने चुनौतीको सामना गर्नका लागि पनि सहयोगी हौं । आज हामीले चरमपन्थ, अतिवाद र उग्रवादबाट विश्वमा उत्पन्न गम्भीर चुनौतीमा चर्चा गर्‍यौं र आपसमा सहयोग बढाउन सहमत भयौं । आतंकवादसँग लड्न र आतंकवादीहरुको सुरक्षित आश्रयस्थललाई समाप्त पार्न हाम्रो सहभागिता एक महत्वपूर्ण हिस्सा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment